कपिलवस्तुमा विश्वकै अग्लो बुद्ध-प्रतिमा निर्माण गरिने

कपिलवस्तुमा विश्वकै अग्लो बुद्ध-प्रतिमा निर्माण गरिने


  • नारद कोहार, कपिलवस्तु

कपिलवस्तु नगरपालिका क्षेत्रभित्र विश्वकै सबैभन्दा अग्लो बुद्धको प्रतिमा निर्माणका लागि प्रकृया अघि बढाइएको छ । २ सय ४५ फिट अगले बुद्धको मुर्ति र अन्तर्राष्ट्रिय बौद्ध पार्क निर्माणको प्रकृया अघिबढाइएको हो । कपिलवस्तु नगरपालिका वडा नम्बर ६ र वडा नम्बर ९ को नदी उकास क्षेत्रमा पर्ने जमिनमा पार्कसहित बुद्ध मुर्ति बनाउने गरी प्रस्ताव बढाइएको हो । नगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने र अन्तर्राष्ट्रिय बौद्धिस्ट सेन्टरले निर्माणको काम गर्ने गरी काम अघि बढाइएको र, सो कामका लागि कपिलवस्तु नगरपालिका र अन्तरास्ट्रिय बौद्धिष्ट सेन्टरबीच प्रारम्भिक सम्झौता (एमओई) भएको छ ।

सहमति पत्रमा कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल र अन्तरास्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चेओङग क्वी सेङ स्टेवार्ड र सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतमले गरी काम अघि बढाउने लिखित सहमति गरे । सो अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री बिष्णु पन्थीले यो बुद्ध मुर्तिको निर्माण पछि प्राचिन कपिलवस्तुको परिचय समेत फेरिने विश्वास ब्यक्त गरे । लामो समयको पर्खाई पछि एउटा सपनाले साकाररुप लिन लागेको भन्दै खुशी ब्यक्त गरे । प्रस्तावित बुद्धमुर्तिको निर्माणले देश मै कोशेढुंगा साबित हुने बताए । फान्सको ईफिल टावरले जस्तै यसले पनि देशकै ईज्जत बढाउने उनले बताए । यो कार्यमा सबैले हातेमालो गर्नु पर्ने उनले बताए ।

सो अवसरमा सेन्टरका प्रमुख चेओङग क्वी सेङ स्टेवाडले सहमति पत्रमा हस्ताक्षर भएको दिनलाई महत्वपुर्ण दिन र काम भएको बताए । प्राचिन कपिलवस्तुमा बुद्धको मुर्ति निर्माणको काम गर्न पाउदा आफुलाई निकै खुशी लागेको उनले बताए । सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडलले नगरमा एउटा महत्वपुर्ण कामको सुरुवात हुन लागेको बताए । अब प्राचिन नगरी कपिलवस्तुको विकास र पहिचान फेरिने बताए ।

चाइनाका बुद्ध धर्म गुरु झोङ जीङ र मास्टर च्याङपिङले ऐतिहासिक र धार्मिक स्थल कपिलवस्तुमा बुद्धको मुर्ति निर्माणले यस क्षेत्रको धार्मिक र पर्यटकीय विकास हुने बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले ३ वटा बुद्धको जन्मथालेका रुपमा रहेको कपिलवस्तुका विकासमा यो मुर्ति निर्माणले नया आयाम थपिने बताए ।

सेन्टरका प्रमुख चेओङग क्वी सेङ स्टेवार्डलाई लुम्बिनी प्रदेश सरकारले सम्मानित समेत गरको थियो । उनलाई प्रदेश मन्त्री पन्थीले सम्मान पत्र हस्तान्तरण गरेका थिए । यस्तै चाईनाका बुद्ध धर्म गुरु झोङ जीङ र मास्टर च्याङपिङलाई समेत सम्मानित गरिएको थियो ।

कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापाले अब कपिलस्तुको विकासले गति लिने बताए । मुर्ति निर्माणका लागि जग्गाको यकिन गरी सो जग्गाको स्वामित्वका बिषयमा पहल नगरपालिकाले गर्नेछ । मुर्ति र पार्क निर्माणकालागि प्रारंभिक ३० अर्व भन्दा बढी बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।