पोखरा स्पोर्टस् अवार्डलाई पुन परिवारको साथ

पोखरा स्पोर्टस् अवार्डलाई पुन परिवारको साथ


नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा संचालन हुने सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड-२०७९ लाई सफल पार्न पोखरा-१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारले सघाउने भएको छ ।

अवार्डअन्तर्गत ‘उत्कृष्ट खेल पत्रकारिता पुरस्कार’ शीर्षकमा प्रायोजना गर्ने गरि स्व. सेनानी पुन परिवार र मञ्चबीच समझदारीपत्रमा शुक्रबार हस्ताक्षर भएको छ । सो अवसरमा स्व. पुन परिवारको तर्फबाट नाति नवीन पुन र मञ्चका अध्यक्ष दीननाथ बरालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उत्कृष्ट खेल पत्रकारिताको पुरस्कार राशि नगद ३५ हजार रुपैयाँ रहेको छ ।

मञ्चले आयोजना गर्ने उक्त अवार्डमा आफ्नो परिवारजनबाट निरन्तर रुपमा सहयोग गर्न पाएकोमा नेपाल सेभेन ए साइड फुटवल महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका नवीन पुनले खुःशी व्यक्त गरे ।

मञ्चका कार्यसमिति सदस्यसमेत रहेका उमेश पुन स्व.सेनानी हेमबहादुरका नाति हुन् । पुन परिवारले स्पोर्टस् अवार्डमा हरेक वर्ष लगातार उक्त विधामा सहयोग गर्दै आएको छ । गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ ।

आगामी वैशाख २३ मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी मञ्चले ती विधामा अवार्ड प्रदान गर्नेछ । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ ।

मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ । अवार्डलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, सहारा क्लव पोखरा लगायतले सघाउने छन् । यसका साथै अवार्डलाई सफल बनाउन विभिन्न संघसंस्थाका साथै व्यापारिक प्रतिष्ठानहरुबाट पनि सघाउने प्रतिवद्धता आइरहेको मञ्चका सचिव पौडेलको जानकारी दिए ।