चैत १० गतेभित्र प्रचण्ड-सरकारले पुर्णता पाउने !
प्रकाशित मिति
४ चैत्र २०७९, शनिबार ०३:१२
प्रचण्ड नेतृत्वको सरकारले चैत १० गतेभित्र पुर्णता पाउने जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले सो बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग शुक्रबार संसद भवनमा भएको छलफलपछि चैत १० गतेभित्र सरकारलाई पुर्णता दिने जनाएका हुन् ।
आफूले चैत्र ६ गते विश्वासको मत लिने र चैत १० गतेभित्रमा सरकारले पूर्णता पाउने गरी छलफल सुरू गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने गरी छलफल अघि बढेको छ,’ शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘ विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिनभित्रमा सरकारलाई पूर्णता पाउनेछ ।’ उनका अनुसार सत्ता साझेदार दलसँग छलफल गरेर मन्त्रिमण्डल बिस्तारका लागि भागबन्डा गर्ने कार्य विश्वासको मत लिएपछि अघि बढ्नेछ ।
नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि एक दर्जन भन्दा बढी मन्त्रालय रिक्त रहेका छन् । तीन पार्टीले छाडेका मन्त्रालय रिक्त भएपछि सरकारी काम कारबाही सहज ढंगले अघि बढ्न सकेको छैन ।
तीनवटा पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले वन तथा वातावरण, युवा तथा खेलकुद, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाईं, शहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालिरहेका छन् ।
यसैगरी, अर्थ, कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्ख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा मन्त्रालयको नेतृत्व हाल रिक्त रहेका छन् ।
Shares