मंगलबजारमा मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न
प्रकाशित मिति
३ चैत्र २०७९, शुक्रबार ०७:०१
नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा ललितपुर मंगलबजारमा ‘तेस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता-२०७९’ सम्पन्न भएको छ । फागुन २६ र २७ गते सम्पन्न प्रतियोगिताको उद्घाटन एवम् समापन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबाट तथा खेल समारोहको अध्यक्षता नेपाल बालकुमारी क्योकुशिन कराते संघका अध्यक्ष श्याम महर्जनले गरेका थिए ।
ललितपुर महानगरपालिका उपप्रमुख मन्जरी बज्राचार्य शाक्य, गोदावरी नगरपालिका प्रमुख गजिन्द्र महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण महर्जन, ललितपुर जिल्ला प्रहरी प्रभाग प्रमुख एसएसपी सिद्धिविक्रम शाह, नेपाल फुल कन्ट्याक्ट कराते महासंघका राष्ट्रिय अध्यक्ष शालिग्राम कुँवरसहितका अतिथिहरूको विशेष उपस्थितिमा आयोजित प्रतियोगितामा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले आगामी मेयर कप फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको खेल अवधिमा घाइते भएको अवस्थामा फुल (इन्स्योरेन्स) बीमा ललितपुर महानगरपालिकाले गरिदिने प्रतिबद्धता जनाए ।

विभिन्न संस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको प्रतियोगितामा दोस्रो रामजी गुरु स्मृति नगद पुरस्कारको लागि छ विधा तौल समूहका प्रथम भएका खेलाडीहरू मध्येबाट गोलाप्रथामार्फत ४५-५० के.जी. तौल महिला समुहको प्रथम विजयी रिना माझीले नगद राशि रू ५०,०००/- प्राप्त गरिन् ।
यस्तै, ३५-४० के.जी. तौल महिला समुहमा प्रथम- साहारा वाईबा (बालकुमारी डोजो), दोस्रो- दीक्षा महरा (केडब्लुडब्लु रानीपोखरी डोजो), तेस्रो- अस्मिता श्रेष्ठ (बालकुमारी डोजो) रहिन् भने ४५-५० के.जी. तौल महिला समुहमा रिना माझी (बालकुमारी डोजो) प्रथम, रेश्मा थापा (हर्नामाडी डोजो) दोस्रो र आयुषा बल (हर्नामाडी डोजो) तेस्रा भइन् ।
५०-५५ के.जी. तौल महिला समुहमा अनिसा तामाङ (केडब्लुडब्लु डोजो) प्रथम, जानकी कपाली (टोखा डोजो) दोस्रो र रमा श्रेष्ठ (क्योकुशिन बुडो वनस्थली डोजो) तेस्रा भइन् ।
यस्तै, ३५-४० के.जी. तौल पुरुष समुहमा मिलन सहकारी (केडब्लुएफ कीर्तिपुर डोजो) प्रथम, आशिष घिमिरे (बालकुमारी डोजो) दोस्रो र अंकित कुमार ठाकुर (वनस्थली डोजो) तेस्रा भए । ५०-५५ के.जी. तौल पुरुष समुहमा विजय राई (एलकेए कीर्तिपुर डोजो) प्रथम, मनिष गोपाली (हर्नामाडी डोजो) दोस्रो र रोहित थापा (हर्नामाडी डोजो) तेस्रा भए भने ५५-६० के.जी. तौल पुरुष समुहमा महेन्द्र गजमेर (तामसिपाखा डोजो) प्रथम, सुशान तामाङ (केडब्लुडब्लु डोजो) दोस्रो र सन्जेश तामाङ (एलकेए कीर्तिपुर डोजो) तेस्रा भए ।
सबै तौल समूहका प्रथम, दोस्रो र तेस्रो विजयी खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको थियो ।
Shares