इतिहासका एक विचित्र पात्र भोल्टेयर

इतिहासका एक विचित्र पात्र भोल्टेयर


✍ हेमन्त खतिवडा

‘म जे सोच्छु त्यही भन्नु मेरो पेशा हो’ भन्ने अभिव्यक्ति दिने भोल्टेयर विश्वसाहित्यका एक महान् साहित्यकार हुन् । चुच्चो नाक, पातलो शरीर अनि निरन्तरको साधनामा डुबेका भेल्टेयर असाध्यै दानी र दयालु थिए ।

भिक्टर ह्युगो भन्थे- भोल्टेयरको नामले समस्त अठारौँ शताब्दिलाई बुझाउँछ । उनी पनि आख्यानका सम्राट थिए अनि शताब्दिकै उज्जवल तारा ।

भोल्टेयरको जन्म सन् १६९४ मा पेरिसमा भएको थियो । उनी जन्मँदै एकदमै दुब्ला-पातला थिए । सबैले माया मारिसकेका ! मान्छेहरूले उनी धेरै दिन नबाँच्ने लख काटेका थिए, तर उनी चौरासी वर्षसम्म बाँचे । बच्चैदेखि हाँसो र ठट्टा मन पराउँथे, उनी गजबका मानिस थिए ।

भोल्टेयर सानौदेखि मेहेनती थिए । तीन वर्षको उमेरमा ला फोन्टेनका कविताहरू फररर भन्न सक्थे ।

दश वर्षको उमेरमा स्कूल गए, आफ्नो बुद्धिको चमकले गुरुहरूलाई छक्क र मख्ख पार्थे । एकजना पादरीबाट उनले साहित्य सिकेका थिए । उनैले भोल्टेयरलाई दरबार पु¥याए । दरबारमा राजकुमारहरू र सुन्दरीहरू उनको बुद्धिको चमक देखेर मख्ख परे ।

एउटा दुब्लो-पातलो सुकुटीजस्तो शरीरमा अदभूत प्रतिभा र विलक्षणता देखेर उनीहरू मोहित हुन्थे अनि भन्थे- यिनको मगज कति चम्किलो !

भोल्टेयरका बाबु वकिल थिए । छोरालाई देखेर निराश हुन्थे । भन्थे- ‘छोरा, साहित्य त्यो मान्छेको पेशा हो जो समाजमा बोझ र बेकामे हुन चाहन्छ ।’ बुबाको इच्चाअनुसार भोल्टेयरले कानुन पढे, तर उनकोे हृदयमा साहित्यको रङ्ग चढ्न थालिसकेको थियो ।

अब उनले ब्यङ्ग्यात्मक कविताहरू लेख्न थालिसकेका थिए । पेरिसका प्रसिद्ध कविहरूसँग सङ्गत गर्न थाले । खुब पढ्थे । साहित्य, दर्शन, कला सबै पढ्थे उनी ।

लुई चौधौँ मर्दा भोल्टेयर एक्काइस वर्षका तन्नेरी थिए । नयाँ राजा भर्खरका हुनाले देशको बागडोर रिजेन्टले समातेका थिए । पेरिसको जीवनमा नयाँ रङ्ग चढ्न थाल्यो । भोल्टेयरले छुरीजस्तो कलम र छुराजस्तो जिब्रोले त्यहाँको भ्रष्टाचारको पर्दा च्याते । देशको आर्थिक स्थितिमा सुधार ल्याउन रिजेन्टले शाही तबेलाका आधजसो घोडाहरू बेचे । भोल्टेयरले भने, ‘दरबारका आधाजसो गधाहरूलाई छाँटे कति बुद्धिमानी हुने थियो ।’ रिजेन्टले रिसले चुर भए, अनि भने- ‘तँलाई कहिल्यै नदेखेको चिज देखाइदिनेछु । नभन्दै उनले बेस्टिलको भित्रीपाखा पेरिसको प्रसिद्ध जेलमा उनी एघार महिना बसे अनि प्रथम ट्रेजेडी ओडेपी लेखे ।

त्यही जेलबाट सिधा रङ्गमञ्चमा उत्रे । उनको नाटक ओडेपी पैँतालिस रात लगातार चल्यो । चल्यो मात्रै होइन धुमधामले चल्यो । उनका बाबु खुशीले मुग्ध भए, उमङ्गले तरङ्गित भए ।

भोल्टेयरसित प्रतिभा थियो तर कुनै पद थिएन । यसैले उनी फेरि जेल पसे । अनि फेरि बेस्टिल पुगे । यो हो सन् १७२५ को कुरा ।

उनी निरन्तर पढ्थे, ठेलीका ठेली पढ्थे । अनि लेख्थे, अचम्मैसँग लेख्थे । त्यो जादुगरी कला उनले सानैदेखि विकास गरेका थिए ।

अङ्ग्रेजहरूमाथिका चिठीपत्रमा पनि उनको अदभूत कला देख्न पाइन्छ । ती चिठीपत्रमा उनले फ्रान्सको निरङ्कुशता र विचारको परतनत्रतासित इङ्गल्याण्डको राजनैतिक स्वतन्त्रता र बौद्धिक स्वच्छन्दताको तुलना गरे । फ्रान्सका भ्रष्ट शासक र धार्मिक अन्धाहरूको भण्डफोर गरे ।

इङ्ग्ल्याण्डमा बसेर उनी धेरे ज्ञानी भए । लर्ड मोर्ल भनथे, ‘भोल्टेयर कवि भएर यहाँ आए, पण्डित भएर फर्के ।’ सन् १७२९ मा भोल्टेयर फ्रान्स फर्के ।

पाँच वर्षसम्म उनी पेरिसको जीवनमा रङ्गिए । प्रकाशकले उनको पुस्तक अङ्ग्रेसहतमाथि चिठीपत्र फेला पारे र प्रकाशित गरे । यो पुस्तक पढेर समस्त फ्रेन्चवासी त्रस्त भए भोल्टेयरसित ।

पेरिसको संसदले पुस्तक जलाउने निर्देशन दिँदै भन्यो- ‘यो पुस्तक धर्म, नीति र सरकारका विरुद्धमा छ । भयानक छ र कलङ्कपूर्ण छ ।’

अब उनी फेरि जेलमा पुग्ने छाँट देखियो । भोल्टेयर त्यहाँबाट भागे, तर यसपटक अर्काकी स्वास्नी लिएर भागे ।

सटिलेट एक विद्वुषी, भोल्टेयरसित बसेर दर्शनशास्त्र र रसायन विज्ञान पढ्थिन् । सन् १७३४ मा उनहिरू सिरेमा सरे । त्यहाँ यी दुई प्रतिभा ढुक्कले बस्न थाले । अब उनले आफ्ना प्रसिद्ध पुस्तकहरू लेख्न थाले । क्याण्डिड, जादिग र अरु पुस्तक उनले यही बसेर लेखेका थिए ।

अनातोले फ्रान्स भन्थे, ‘भोल्टेयरको औंलामा कलम साँच्चै हाास्दै दगुर्छ ।’ भोल्टेयर शैलीका निम्ति विख्यात थिए । विद्वानहरू भन्छन्, उनलेजस्तो प्राञ्जल, चमकदार फ्रेन्च अरु कसैले लेख्न सकेनन् । उनको यो गद्य मात्र होइन कविता पनि उत्तिकै सुन्दर थिए ।

भोल्टेयरलाई प्रशियाका राजा फेडरिक महानले सन् १७५१ मा बोलाई पठाए । अब भोल्टेयर दरबारमा राजासँग तीन वर्ष बस्न भए । दरबारमा बसेर उनी लेख्थे, खुब लेख्थे, निरन्तर लेख्थे । राजा फेडरिक आफ्ना रचना दिन्थे, उनी सुधारिदिन्थे । अनि साथी–सङ्गीका बीच उनी भन्थे– ‘छिःछिः.. राजाले मलाई आफ्ना मैला लुगाहरू धुनका लागि पठाइदिए !’ अनि फेरि ती रचनाहरू चम्किलो पारेर उनी पठाइदिन्थे ।

भोल्टेयर इतिहासका एक विचित्र पात्र हुन् । साहित्य जगतका उज्ज्वल प्रतिभा । युरोपमा हल्लाखल्ला मच्चाउने महान प्रतिभा हुन् उनी ।

उनले युरोपमा राजनीतिक स्वतन्त्रता ल्याउन महत्वपूर्ण भूमिका निभाएका छन् । उनको ब्यङ्ग्यबाण या उपहासले समस्त युरोप जगतमा तहल्कै मच्चाएको थियो ।

सन् १७५३ मा उनी स्वीटजरल्याण्डको फर्नेमा गई बसे । बीस वर्षसम्म उनी त्यहीँ बसे । यो विश्वको बौद्धिक अखडाको रूपमा रह्यो । यहाँ विद्वानहरू आउँथे भोल्टेयरको मद र गफ चाख्न ।

अब उनलाई आर्थिक मर्का पर्न थाल्यो । जब पाहुनाहतको ओइरोले उनलाई आर्थिक मार पर्न थाल्यो तब उनले भने– ‘म समस्त युरोपका निम्ति होटलवाला भइसकेँ ।’ अतिथिहतकोे यो अनन्त घचारोका बीच उनले हजारौँ चिठीहरू दिनहुँ पाउँथे ।

‘भगवान छ कि छैन ?’ एकदिन एकजनाले उनलाई चिठीमार्फत सोधेपछि जवाफमा उनले लेखेछन्- ‘छन्.., तर धेरै टाढा…!’

भोल्टेयर जिन्दगीका अन्तिम दिनतिर आइपुगे । दुब्लो शरीर भए पनि उनमा शारीरिक शक्ति या तागत अझै घटेको थिएन, उनी मजबुत थिए । उनका डाक्टर भन्थे, ‘यात्रा नगर्नु ।’ तर उनी मान्दैनथे । दिनहुँ यात्रा गर्थे । उनी भन्थे, यदि म भूल गर्न चाहन्छु भने मलाई कसैले रोक्न सक्दैन ।

मर्नुभन्दा अगाडि तिनलाई त्यो जादुगरी पेरिस हेर्ने इच्छा भयो । अट्ठाइस वर्षपछि उनी पेरिस पुगे ।

सन् १७७८ मे ३० मा भोल्टेयर बिते । उनका अन्तिम शब्द थिए- ‘मलाई शान्तिसँग मर्न देउ ।’ उनको कोठामा तीन सय मानिस भेला भएका थिए । सारा फ्रोन्चवासी शोकसागरमा डुबे । साना-ठूला सबै रोए, धर्धर्ती रोए । उनको समाधिमा मानिसहरू फूल चढाइरहेका थिए । एक साहित्यकारले भने, ‘यहाँ भोल्टेयर छन्, भोल्टेयर हुने छन् र सारा संसारका माझमा उनीहरूका हृदयमा अमर भएर रहनेछन् ।’