मेराविरुद्ध षड्यन्त्र भयो सम्पादकज्यू

मेराविरुद्ध षड्यन्त्र भयो सम्पादकज्यू


घटना र विचार साप्ताहिकको ०६८ फागुन ३ गतेको अङ्कको अन्तिम पृष्ठमा प्रकाशित योजनाकार बाहिरै भन्ने शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यनाकर्षण भएको छ । उक्त समाचारमा मेरो नामसमेट जोडेर समाचार प्रकाशित गरिएकाले यो प्रतिक्रिया पठाउने काम गरेको छु । उक्त समाचारमा उल्लेखित विषय र प्रसङ्गहरूमा मेरो कुनै सरोकार नरहेको व्यहोरा प्रस्ट जानकारी गराउन चाहन्छु । तर, सो समाचार प्रकाशित भएको थाहा पाएपछि म र मेरो परिवार अत्यन्तै मर्माहत, भयभीत र असुरक्षित महसुस भएको कुरा अवगत गराउन चाहन्छु । उक्त घटनामा जोडिएका व्यक्तिहरूको र मेरो वा हाम्रो परिवारको कहीँकतै पनि कुनै आग्रह र पूर्वाग्रहसमेत नरहेको सबै पक्षलाई स्पष्ट पार्न चाहन्छु । एउटै जिल्लावासी भएको नाताले शिव पौडेलसँग मेरो सरल चिनजान मात्र रहेको थियो । त्यसैगरी कहीँकतै कारोबारमा सरोकार वा कुनै खोजीनिती पनि नभएको र समग्रमा व्यक्तिगत रूपले भन्नुपर्दा एउटा निर्दोष परिवारमाथि राज्यका केही प्रशासक र समाजमा आफ्नो स्वार्थका लागि सोझासीधा युवकलाई प्रलोभन देखाएर आफ्नो स्वार्थ पूरा गर्ने केही व्यक्तिहरूको मिलेमतोमा घटाइएको एउटा जघन्य अपराधको घटनामा मेरो नाम जोडेर समाचार प्रकाशित गराउनुको पछाडि यथार्थ छानबिन गरिदिनुहुन म राज्यका सम्पूर्ण सञ्चारमाध्यम, सम्बन्धित निकाय, विवेकशील समाजलाई विनम्रताका साथ अनुरोध गर्दछु । मेरो विषयमा प्रहरी र समाजको समेत प्रसङ्ग जोडिएको रहेछ । प्रहरी सङ्गठनमा केही इमानदार प्रहरीसँग नागरिक भएको नाताले सम्बन्ध राख्नु वा बढाउनु अपराध हो भने भूल गरेको भनी माफ गरिदिनुहोला । सच्चा र इमानदार समाजप्रति म समर्पित भएको कुरा सहन नसक्ने केही सीमित व्यक्तिको मिलेमतो जसरी शिव पौडेललगायत धेरै परिवारको क्षति हुने गरी घटाइएको घटनाको जस्तै रचना रची मैले विपक्षी बनाएका व्यक्तिहरूलगायतको मिलेमतोमा म र मेरो परिवारलाई पनि समाप्त पार्ने खेलको रचना गरी मेरो इज्जतमाथि लगाउन खोजिएको आरोपको वास्तविक कारणको सम्पूर्ण विवरण मैले यसै निवेदनका साथ पेस गरेको छु । मैले आफ्नो वास्तविक सत्यतथ्यबारे जिल्ला प्रशासन कार्यालय चितवनलगायत राज्यका सबै निकायमा प्रमाणसहित आवश्यक जानकारी गराई न्यायका लागि आग्रह गरिसकेको छु । उक्त समाचारको कारणले गर्दा म वा मेरो परिवारको कुनै पनि ठाउँमा कुनै पनि तरिकाले क्षति हुनसक्ने देखिएकोले पत्रिकाको तर्फबाट सम्पूर्ण कुराको छानबिन गरी उक्त समाचारको खण्डन गरिदिनुहुन अनुरोध छ ।-गुनबहादुर थापा (शम्भु)
चितवन, भण्डारा-२

शारदा समूहको कमाउने काइदा
इलेट्रिक सामानहरूको आयातलगायतका काम गर्ने शारदा गु्रपले व्यापक मात्रामा राजस्व छल्ने गरेको छ । नेपालको स्थापित व्यापारिक घराना भनी चिनिएको शारदा ग्रुपले बिजुलीका सामानहरू नेपाल अधिराज्यभरि सप्लाई गर्दछ, तर कसैसँग पनि भ्याट बिलको प्रयोग गर्दैन । दैनिक करोडौँको कारोबार गर्ने शारदा ग्रुपका सञ्चालक शिवरतन शारदा बैंक अफ काठमाडौंका सञ्चालकसमेत रहेका छन् । शारदा ग्रुपले इलेट्रिकसम्बन्धी सम्पूर्ण सामान चाइनाबाट भारतको बाटो हुँदै नेपाल भित्र्याउने गर्दछ । राजस्व छल्न र जनताका आँखामा छारो हाल्नकै लागि यसो गरिएको हो । यस ग्रुपले व्यापक रूपले नक्कली बिलको प्रयोग गरी भ्याट छलिरहेको छ । शारदा ग्रुपको लगानीमा नेपाल अधिराज्यभर इलेट्रिक सप्लाई गर्ने दर्जनौँ पसल रहेका छन् ।-शारदा ग्रुपका एक इमानदार पूर्वकर्मचारी