कुँवरका कारण करोडौँको क्षति !

कुँवरका कारण करोडौँको क्षति !


एउटा ब्यक्तिको शीघ्र धन कमाउने योजना र इच्छाका कारण राज्यले यो साता निकै ठूलो क्षति ब्यहोर्नुपरेको छ । पछिल्लो दशकमा राज्य संयन्त्रको निर्णायक तहमा रहेका ब्यक्तिलाई प्रभावित गरि रातारात अर्बपति बन्न सफल सीमित ब्यक्तिहरू मध्ये दीपक कुँवरको नाम अग्रपङ्क्तिमा आउँछ । इन्जिनियरिङ पढेर ठेकेदार बनेका कुँवरले केही वर्षअघिदेखि गङ्गबुस्थित बसपार्क भाडामा लिएर सञ्चालन गर्दै आएका छन् । बसपार्क हत्याएपछि निजले पचासौँ बस अटाउने ठाउँ ओगटेर ब्यापारिक भवन बनाएर ल्होत्से मलको नाममा पसलहरू सञ्चालन गर्दै आएका छन् ।

बसपार्कमा प्रवेश गर्ने सवारी साधनबाट प्रति प्रवेशशुल्क रू २७५ देखि रू १००० सम्म उठाउँदै आएका दीपकलाई छिट्टै थप धन सोहोर्ने इच्छा लागेपछि उनले यातायात ब्यवसायी महासङ्घ सम्बद्ध पदाधिकारी र उपत्यका ट्राफिक प्रहरी प्रमुखलाई हात लिएर उपत्यकाभित्र र यहाँबाट सञ्चालन हुने सबै बसहरू अनिवार्य रूपमा गोङ्बु बसपार्कभित्र प्रवेश गर्नैपर्ने नियम लगाए । कुँवरले आफ्नो सपिङ मलको कार्यकारी प्रमुख रहेका सुनिल कुवरलाई नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासङ्घमा र आफ्नै मान्छे पङ्कज मल्ललाई सर्वोच्च यातायात ब्यवसायी महासङ्घमा घुसाएर यातायात ब्यवसायी सङ्घ संस्थाहरूलाई आफूअनुकुल प्रयोग उपयोग गर्दै आएका छन् । महासङ्घका अगुवालाई प्रतिगाडी प्रति पवेश पचास रूपैयाँ बुझाउने गरि आफ्नो काबुमा लिएको र, रकम बुझाएको प्रमाणित नहुने गरी उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीलाई समेत विश्वासमा लिइ दीपक कुँवरले आफू अनुकुल प्रयोग गरेको बताइन्छ ।

उपत्यकामा एकथरी बस ब्यवसायी आफैंले बस पार्किङको ब्यवस्थापन गरेका छन् भने केहीले सडक छलेर सवारी साधन पार्किङ गर्दै आएका छन् । त्यसरी ब्यवसायीले बसपार्कभित्र बस नै प्रवेश नगराइकन सेवा सञ्चालन गर्दा दीपकको कमाई कम भएपछि उनले यातायात ब्यवसायी महासङ्घ र ट्राफिक प्रहरी प्रमुखलाई हातमा लिएर काम गर्ने योजना बनाएका थिए । उपत्यकामा रहेका या यहाँबाट सञ्चालन हुने बसहरू गोङ्गबु बसपार्कभित्र अटाउने स्थिति छैन, क्षमता नभएपनि बसपार्कमा प्रवेश अनिवार्य गरिएपछि यातायात मजदूर र ब्यवसायीहरू आन्दोलित भएका थिए । फागुन १ गते आन्दोलनरत यातायात मजदूरहरूमाथि दीपक कुँवरका ‘डन’हरूले हातपात गरेपछि आन्दोलनकारीहरू उत्तेजित भए र, उनिहरूले प्रहरीको बीट तथा प्रहरी गाडीमा समेत आगजनी गरि ठूलो क्षति पु¥याए । कुवरप्रति क्रुद्ध आन्दोलनकारीहरू निजको ल्होत्से मलमा प्रवेश गरि लुटपाटसमेत गरेका थिए ।

यसरी एउटा ब्यक्तिको छिट्टै धन थुपार्ने कार्यमा सहयोगी बनिदिँदा राज्यले लाखौँ रूपैयाँ क्षति ब्यहोर्नुपरेको छ । यी तिनै दीपक कुँवर हुन् जसले आफ्नो मामा पर्ने ब्यक्ति प्रधानसेनापति भएका बेला सेनाको मुख्यालय र सेनापतिको निवास शशीभवन निर्माण लगायत अर्बौंको ठेक्का हात लगाएर रातारात करोडौँ कमाएका थिए । अख्तियारका आयुक्तहरूलाई समेत प्रभावित गर्ने क्षमता भएका कुँवर नीति निर्माण तहमा रहेका ब्यक्तिलाई पट्याएर काम लिन माहिर मानिन्छन् ।