एकीकृत समाजवादीको केक बैठक बस्दै

एकीकृत समाजवादीको केक बैठक बस्दै



नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बस्न लागेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउँसो उद्घाटन गर्नेछन् ।

अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र महासचिव डा. बेदुराम भुसालले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनमा बैठकमा छलफल गरिने बताइएको छ ।

उक्त प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको भनाइ छ ।

सरकारको कार्यशैली मूल्याङ्कन, संसदमा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले सङ्गठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ । बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्नसक्ने जनाइएको छ । सङ्गठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल गरिने छ ।

आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको पार्टीले सङ्गठन निर्माणलाई जोड दिएको छ ।