नमस्कार !

नमस्कार !


– बलराम सिलवाल

बालखमा कत्तिलाई गोडामा ढोगियो ढोगियो, भनि के साध्य ? अहिले सम्झिँदा कहाली लाग्छ । आर्षकालीन जुगमा एक जना अल्पायु बटुकले ढोगेर आशिर्वाद पाउँदा दीर्घायु जीवन बिताएको थियो रे । मेरो बुबाआमा यही मान्यताले प्रभावित हुनुभएकोले होला, मेरो ढोग्ने कामलाई छेकबार लगाउनुभएन । फगत् ढोगिरहेँ । कुरा बुझ्ने भएसि हातमा जिउ गरेँ, नमस्कार/नमस्ते भनेँ । शुरुवाती दिनहरूमा सहज लाग्थे, अब त विविध कारकले गर्दा असहज-असहज लाग्छ ।

देब्रे हातले मल धुनाले यसलाई अपवित्र ठानिन्छ । हाम्रो गाउँ-समाजमा देब्रे हातले नमस्ते गर्ने महोदयहरू बग्रेल्ती भेटिन्छन् । देब्रे-दाहिने हात जोडेर गरिने नमस्कार नि त्यति गतिलो हो जस्तो लाग्दैन, त्यसैले गौतम बुद्धले दाहिने हातले नमस्कार गर्न सिकाएका होलान् । ‘बुद्ध नमस्कार’ वैज्ञानिक र अत्याधुनिक भएकोले अचेल म बुद्ध नमस्कार गर्ने गर्छु । इष्टजनलाई एक हातले नमस्कार गर्दा चैं अप्ठेरो लाग्ने । पहिले म औपचारिक थिएँ, अहिले अनौपचारिक बन्दो छु । बहिर्मुखी थिएँ, अन्तर्मुखी छु । परिस्थितिजन्य व्यावहारिक परिवर्तन । दुरीमा रहेको मनुवालाई नमस्ते गर्दा उसले नदेखेर नमस्कार नफर्काउँदा कहिलेकाहीँ अप्ठेरोमा परेकोले अचेल म दुरीको मनुष्यलाई नमस्ते गर्न छोडेको छु । ऊ रिसाउँदो पनि होला । खाँच्चैसिति । मलाई चैं नमस्ते/नमस्कार ठूलो कुरो लाग्दैन ।देखे गर्द्यो नदेखे छोड्द्यो ।खोजी खोजी बोलाई बोलाई किन नमस्कार गर्नुपर्या छ र ? नमस्ते/नमस्कार चाकडीको अवशेष जस्तो लाग्छ । प्रणाम त आत्मिक हो परन्तु हुनेखानेहरू आफूभन्दा निचोले नमस्कार नगरेसम्म नमस्ते फर्काउनन् । कतिपयले त नमस्कार गरे नि नमस्ते नफर्काउने । ठूल्मान्छे भई टोपलेको । नमस्ते/नमस्कार गर्नुभन्दा त मनास्लु हिमाल चढ्न सहज लाग्ने । भगवानलाई साष्टाङ्ग प्रणाम । नमस्कार/नमस्ते नपाउँदा फुत्तिने धेरै ।

संस्कारिलो चेला उत्पादन गर्न सकिएन । रिस उठेसि कि झुण्डिने कि फाल हाल्ने । धीरता शून्य । रिसमा आत्महत्या गरेर के हुन्छ र ? आफै प्रेत बनेर डुल्छ । अनुशासनहीनता, पितामाता-गुरूको अवज्ञा, लगनशीलता गायब । विद्यार्थीको सट्टा मनस्तापीको उत्पादन जस्तो ।

पाठ्यक्रममा नैतिक शिक्षा छैन।अनि त कठैबरा, नैतिकता बिलाई हाल्छ नि । सरकारविहीन मुलुक, अभिभावकविहीन रैती ।

अँ, विषयवस्तु बटारियो क्यार । नमस्ते/नमस्कारको कुरो गर्दै थिएँ । शिक्षणको उपक्रममा धेरै विद्यालयहरू चहारियो । एउटा विद्यालयमा त अजबका शिक्षकहरू भेटिए । शिक्षण गतिविधि शून्य, कुरा कटुवाको जमात । तिनीहरूलाई औंसी/पुर्णे लाग्थ्यो । खुशी हुँदा नमस्कार गर्ने बेखुशी हुँदा नमस्ते नगर्ने । सदाबहारी त हुँदै होइनन् । अनिच्छा भए नमस्कार नगरे भैगो नि, कसले कर गर्छ र ? नाटक नगरेकै राम्रो । ती त आफ्नो विचार शून्य अर्काको भेजाबाट सञ्चालित हुन्थे । त्यति मात्र हो र, आफू गल्ती गरेर अरूलाई दोष थोपर्थे । कहाँका महाधूर्तहरू !

चाकडीबाज भनेका खानका लागि बाँचेका नरपशुहरू हुन् । जति घुसभुस खाए नि मर्दा सँगै लादैन क्यारे । फगत् पाप बोक्दो । कतिपय न्यायिक ठेकेदार/जिल्लाधीसहरू उमेर छउन्जेल अनियमितता गर्ने, बुढेसकालमा परिवारद्वारा अपहेलित भएसि जनै फालेर जोगी हुने वा द्दौघाट कुर्दा छन् । प्रायश्चितार्थ। न्यायाधीश/कर्मचारीले गीता छोएर किरिया खाने हो भने नब्बे प्रतिशतले भ्रष्टाचार घट्ने छ । अगुवा नै भ्रष्टाचारी भएसि कसको के लाग्छ र ? ज्यास्ती ज्याद्रो । भैगो, बाउसे सकियो । आजलाई मैजारो । अस्तु ।