आत्मपरक निबन्धको उत्कृष्ट कृति : सन्दिग्ध शताब्दी

आत्मपरक निबन्धको उत्कृष्ट कृति : सन्दिग्ध शताब्दी


  • प्रदीप सापकोटा

जयपृथ्वीबहादुर सिंह, पद्मनाथ सापकोटा, सूर्यविक्रम ज्ञवाली आदिले थालनी गरेको नेपाली निबन्ध परम्परामा आत्मकथा शैलीमा शम्भुप्रसाद ढुँङ्ग्यालले अगाडि बढाए भने निजात्मक निवन्ध लेखनीको शुरुवात महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरे । यसलाई ह्रदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधान, भैरव अर्याल, तारानाथ शर्मा आदिले निरन्तरता दिए । र पछिल्लो समयमा कविको रुपमा चर्चित श्रीबाबु कार्कीले ‘सन्दिग्ध शताब्दी’ मार्फत यो परम्परालाई अगाडि बढाउने कार्य गरे ।

जीवनको महत्व दर्शाउँछन् उनी आफ्ना निबन्ध मार्फत । जीवन अजम्बरी नहुने हुँदा सार्थक जीवन बाँच्न उनी अनुरोध गर्छन् । जीवनलाई जतन गर्न आग्रह गर्छन् । ढुङ्गामा जीवनलाई तुलना गर्छन् । मृत्यु भन्दा पर जीवनको लक्ष्य नहुने हुँदा यहि मृत्युको भयले मानिसलाई जहिल्यै सावधान गराइरहेको हुन्छ भन्ने उनको जीवनप्रतिको दर्शन छ । जीवनलाई सही लय दिएर अनुशासित र सौम्य जिन्दगी जीउनुमा नै जीवनको सार्थकता छ । त्यसैले जीवनलाई सकारात्मक र असल कार्य गरेर जिउन उनको आग्रह छ । यिनै कुरा बोल्छन् ‘ढुङ्गा पो भएछु अचेल’, ‘जीवनको पार्श्वमा मृत्युभय’ ‘जीवन एक जुलुङ्गो अनेक’मा । किसानको असार बोलेको छ- ‘ह्रदयमा बयली खेल्दै असार’ले । पौरखीको गुनगान गाएको छ यसले । सम्बृद्धिको कुरा बोलेको छ यसले । असारे भाकाका कुरा गर्छन् । उनी भन्छन्- ’मुठी खाएर मुरी उब्जाउने महिना हो- असार । म हरेक दिन पसिनाका थोपाले धानका गाँजमा सिञ्चित गर्थें । मलाई खेतका गरागरामा समृद्धि उमार्ने रहर छ । मलाई मेरा उर्वर फाँटहरूमा सुनौला सौन्दर्य झुलाउने रहर छ ।’ यहाँ निबन्धकारले असारलाई सम्बृद्धि ल्याउने समयको रुपमा प्रस्तुत गरेका छन् ।

‘ल्याम्पपोस्ट’ जीवनको प्रारम्भको कुरा गरेका छन् । च्याँहा च्याँहाबाट थालनी हुने जीवन जब वृद्ध भएर समाप्तिको बेला आउँछ त्यसलाई अस्ताउँदो जुनको बिम्बसँग तुलना गरेका छन् । यो निबन्ध बडो कलात्मक र प्रतिकात्मक छ ।

प्रेमको बारेमा गजबले बोलेका छन् उनी । प्रेमको सार्थकतामा उनको जोड छ । प्रेम राजनीति, वाद, जात, सिद्धान्त, रंग, धन, सुन्दरता आदि भन्दा धेरैमाथि हुने कुरा उनको ’प्रेम’ शिर्षक निबन्धले बोलेको छ ।

श्रीबाबु गाउँलाई असाध्यै प्यार गर्छन् । प्राकृतिक सुन्दरताभित्र सिंगारिएको गाउँमा रतिभर कृतिमता हुँदैन । आफ्नोपनको मीठो आभास हुन्छ गाउँमा । थकाई लाग्दा बिसाउने चौतारी त्यहिं छ । पर डाँडाबाट हेर्दा अग्लिएका पहाडहररू देखिन्छन् । आकाश निकट लाग्छ । हरियाली मनोरम छ । के छै्न त्यहाँ असल मनहरू छन् । खोलानाला र कलकल बग्ने झरना, हिमाल, पर्वत शृङ्खला सबथोक छ । त्यहाँ सौन्दर्यमा लठ्ठिएर कविले थुप्रै विषयमा कविता कोर्न सक्छन् । यस्तै यस्तै गाउँको बखान छ ‘प्रिय गाउँ’मा ।

आफ्नो स्वाभिमान र इज्जत जोगाउने कुरा नाक हो भनेर विम्बात्मक रुपमा जोडेका छन् ‘नाक’ निबन्धमा । विभिन्न सौन्दर्यसँग नाक जोडिएको बताउँछन् । उनले अमुर्त कला भित्रको सौन्दर्य मानेका छन् । ‘नियतिको आकस्मिता’मा पीडमा बयली खेल्ने रहर नहुँदा नहुँदै बाध्य हुनु परेको तीतो यथार्थ छ । बुबाको अस्पताल भर्नाको सन्दर्भ छ यसमा । झण्डै एक महिनाको अस्पतालको बसाई र पिताजीको स्वास्थ्य सुधारको अपेक्षा गरिएको अनूभूतिले लछप्पै भिजेको आत्मकहानी छ यसमा ।

जन्मदेखि मृत्युसम्म मात्र जिन्दगीको यात्रा हो भन्ने कुरा बुझाउन खोजिएको छ ‘यात्रा : जीवनको सौन्दर्य’ निबन्धमा । जीवन यात्रा भन्दा पर छैन् । यात्राको हिसाब हामी कसैले राख्न सक्दैनौं । जीवनले उकालो, ओरालो, तेस्रो अप्ठ्यारो-सप्ठ्यारो सबैखाले यात्रा पार गर्छ भनेर दुई दिने जिन्दगीलाई यात्राको दर्शनसँग तुलना गरिएको छ ।

धर्तीमा जन्मेका हर कोही मध्येले मात्रै जिन्दगी सार्थकतापूर्वक बाँचेर आनन्द कमैले लिएका छन् । सुन्दर प्रकृतिको छटामा रमेर दृश्यापान गर्न सक्नेहरूप्रति लक्षित छ अनि जिन्दगीलाई सुन्तलाको केस्रा जस्तै केलाउने यत्न गरिएको छ- ‘क्यामेला, प्रेम र झरिला मुस्कानहरू’मा । यहाँ प्रकृतिप्रेमी कवि वर्डस्वर्थ, क्लरिज र इलियटहरूको प्रसंग राखिएको छ । गाउँलाई सहरको आँखाबाट चिहाउन खोजेका छन्- श्रीबाबुले यहाँ । ’रिस’ निबन्धमा रिसका प्रकारको वर्णन छ । तर यसले मान्छेलाई क्षयीकरण गर्छ भन्नेमा निर्धक्क छन् निबन्धकार । दुनियाँमा विज्ञानले धेरै खाले कडा रोगका औषधी आविष्कार गरेको भएपनि हालसम्म रिसको औषधी पत्ता लगाउन नसकेको अवस्थामा उनी भन्छन्- ‘आफैंभित्रको यो रिसलाई भित्रैबाट झिकेर पाहा पछार्न झैं पछारिदिउँ ।’ उनले रिसको रिसर्च पनि गरे रे कुनैेबेला । उनको निष्कर्ष छ रिसाउनु सबैको हित विपरित छ । रिसलाई हटाउन, नसके पनि घटाउन सकिन्छ भन्नेमा ढुक्क छन् । रिस कम गर्नु नै उत्तम हो ऊनी उपाय सुझाउँछन् ।

इतिहास पढ्ने कुरा आफैंमा महान हो ? या गल्ती कुरा हो ? भन्ने उनको प्रश्न ‘निर्वर्जित मन’भित्र छ । उनको तर्क छ मानिसको सार त विगतसँग होइन आगतसँग हुन्छ । निरर्थक विषयमा चासो र चिन्ता राख्नु उचित हुन्न । जीवन त नदिजस्तै गतिशील हुनुपर्छ । मानिसले भुलबाट सिकेर समीक्षा गर्दै अघि बढ्नु पर्छ ता कि फेरी भुल नहोस । यसमा जीवनका अनेक सन्दर्भ परेका छन् ।

उनको अन्तिम शीर्षकीय निबन्ध ‘सन्दिग्ध शताब्दी’मा मनको दुरविनबाट श्रीबाबु कार्कीले बर्तमान सन्दिग्ध शताब्दीलाई नियालेका छन् । मनको भित्री आँखाले नजिकबाट समसामयिक काल परिवेशलाई चिहाएका छन् । आफ्ना अनूभूतिलाई जीवनका विभिन्न बिम्बहरूसँग मिलाएर शब्दमा अभिव्यक्त भएका छन् । उनले सय वर्षको समय नै भरोसायोग्य नभएको हुँदा अरुबाट आश कसरी गर्न सकिन्छ ? भनेर प्रश्न गरेका छन् । समयको विदीर्ण क्यानभाषमा हेरेर टोलाउनु सिवाय यो विद्रुप शताब्दीमा अरु के नै गर्न सकिन्छ ? भनेर बर्तमान स्वार्थी, मतलवी र ढोँगी समयको बारेमा सन्देह गरेका छन् ।

मानव सृष्टिको सुन्दर सौन्दर्यतालाई शब्दमा खिपेर आफ्ना पाठकहरूलाई रस्वास्वादन गराउने कुरा फगत सामान्य कुरा हुन सक्दैन । श्रृष्टिका प्राणी जगतको जीवन र बाँच्नुको मोहलाई कलात्मक भावमा यहाँ निबन्धहरूमा प्रस्तुत गरिएको छ । निबन्धमा प्राञ्जल शब्द खेलाउन खप्पिस छन् निबन्धकार श्रीबाबु । आफ्ना निजात्मक अनूभूतिहरू बडो ओजनदार ढङ्गले प्रस्तुत गरेका छन् । उनका अनूभूतिहरूमा यथार्थपन बेसी नै झल्कन्छ । मान्छेका जीवनका समग्रता मज्जैले चित्रण गरेका छन् उनले । निबन्धहरू काव्यात्मक लाग्छन् । झरिला र रसिला छन् ।

अनुप्रासको उच्चतम प्रयोगले भाषा कलात्मक बनेको छ । निबन्धको मीठासपूर्ण उस्तै, उत्तिकै सरल भाव शैली । कुनैपनि विषयबस्तुलाई वस्तुगत भएर भावनात्मक रुपमा अभिव्यक्त गर्न सक्नु उनका निबन्धको विशेषता हो । निबन्धमा आफ्ना विचार र भावमा घोलेर सरल शैलीमा व्यक्त गर्न सक्नु निश्चय नै उनको निबन्धकारिताको अर्काे विशेषता हो । आत्मपरक रुपमा मनमा लागेका कुरा विना हिचकिचाहट प्रस्तुत गर्न सक्नु उनको खुवी हो । उनका निबन्ध कोरा कल्पनाभन्दा यथार्थको दौडमा लम्केका छन् । विचार र भावले सघन अनि ओजनदार छन् । एउटा सानो कुरालाई विविध उपमा सहित सुन्दर शब्दमा व्याख्या गर्न सक्ने सामर्थ्य भएका निबन्धकारका निबन्धहरू जीवनप्रधान छन् । चेतना प्रधान छन् र दर्शनले स्वादिला र वास्नादार लाग्छन् । मानवीय जीवन र जन्म-मृत्युको शाश्वत-सत्यलाई उनले गहिरोसँग अभिव्यक्त गरेका छन् । उनका निबन्धमा दार्शनिक पक्षका अनेकौं तर्क-वितर्क पनि पाइन्छ ।

आफ्ना ज्ञान,अनुभव, भोगाइमा अलिकति भावुकताको लेपन गरेर उनले निबन्धलाई रोचक र पठनीय बनाएका छन् । पाठकलाई स्वभाविक ढङ्गले आफ्नै निबन्धमा ध्यानाकृष्ट गर्न सक्ने खुवी देखाएका छन् । विभिन्न विषयमा चिन्तन छ । निबन्धहरू विचार भरिएका छन् । काव्यात्मक शैलीले मन तानिरहन्छ । सुन्दर मिलेका अनारदाना जस्ता रसिला शब्द चयनको दौडधुपमा अरुलाई पछि पार्न सक्ने खुवी श्रीबाबुमा देखिन्छ । निबन्धकारको चिन्तनको धरातल फराकिलो र उच्चकोटीको देखिन्छ । जीवन, जगत, समाज र मानवको समग्र चरित्रको धरातललाई उनले आफ्ना निबन्धका विषयवस्तु बनाएका छन् । सामाजिक स्वरुपको व्यापक सम्वन्धलाई जीवनसँग जोडेर आफ्ना विचारहरूको खेती गरेका छन् । जीवनका भोगाइ र अनुभूति, जीवनको दर्शन र सौन्दर्यको संप्रेषणले निबन्ध उत्कृष्ट लाग्छन् ।

‘सन्दिग्ध शताब्दी’ मा समावेश निबन्धहरू बौद्धिकताको कसीमा घोटिन लायक छन् । निबन्धकारको कवि सुलभ व्यक्तित्व निबन्धमा पनि प्रसस्त प्रकटिकरण भएको छ । नेपाली आत्मपरक शैलीमा विचार, अभिव्यक्ति र कलाको त्रिवेणी बनेको छ- सन्दिग्ध शताब्दी । वर्तमान समयका बलशाली निबन्धकारको रूपमा प्रस्तुत कृतिको माध्यमबाट श्रीबाबु कार्की चिनिने निश्चित छ भन्दा अतिशयोक्ति नहोला । यस्ता बलशाली निबन्धकारलाई हार्दिक बधाई तथा शुभकामना ।

[email protected]