लहरो तान्दा अब पहरो नगर्जिएला ?

लहरो तान्दा अब पहरो नगर्जिएला ?


आफूलाई ‘अनागरिक’ भनाएर आममानसको सहानुभूति हासिल गर्ने प्रयास लामिछानेले गरे । जबकि, अदालतले लामिछानेलाई ‘अनागरिक’ मानेकै थिएन/छैन ।

सिङ्गै मुलुक यतिबेला रवि लामिछानेको नागरिकता विवाद तथा सर्वोच्च अदालतले सुनाएको फैसलाको विषयमा केन्द्रित भएको छ । फैसलाको पक्ष र विपक्षमा अनेक बहस, तर्क-वितर्क चलिरहेका छन् र, अब के होला भन्ने आँकलन-अनुमानमा अनेक प्रक्षेपण गरिएका छन् । एक प्रकारले मुलुकको अमूल्य समयको फजुल खति भइरहेको छ । यसै पनि धमिलिएको राजनीति थप फोहोर बन्ने उपक्रम चलेको छ !

यतिका हङ्गामा हुनुपर्ने विषय नै थिएन यो । नेपाली भएर रहनुको साटो अमेरिकी नागरिक हुने इच्छा जाग्यो र उनले अमेरिकी नागरिकता लिए । आफ्नो स्वभावअनुसार अमेरिकी अनुशासनमा बाँधिएर बाँच्न असहज महसूस गरेर पनि हुन सक्छ, पछि पुनः नेपालतिरै उनको मन तानियो । प्रोपोगण्डा मच्चाउने शैलीमा मिडिया क्षेत्रमा गरेको समय-लगानी उनका निम्ति फलिफापपूर्ण बन्न पुग्यो, पहिचान बनाए, व्यक्तित्व उकासे । तर, शुभेच्छुकहरू तथा राज्यका नियमनकारी निकायले ‘नेपाली नागरिकता लिएर मात्र काम गर्न’ समयमै दिएको सुझावलाई उनले अटेर गरे । दोहोरो नागरिकताको अवैधानिक प्रयोग गर्दै उनको सक्रियता जारी रह्यो । अमेरिका जाँदा अमेरिकी र नेपाल हुँदा नेपाली बनेर उनले राज्यलाई नै चुनौती दिइरहे, एक प्रकारले नेपाल र नेपालीलाई अल्मल्याइरहे । बेथितिविरुद्ध आवाज उठाउनु नराम्रो थिएन, तर अन्तरहृदयबाट सेवाका कर्म गर्नु र प्रचारका लागि सक्रियता देखाउनु फरक कुरा हो । उनका क्रियाकलापले पनि अत्यधिक मात्रामा ‘स्टन्ट’कै झल्को दिन थालेपछि सचेत नेपालीजनको ध्यान उनका गतिविधिप्रति तानिनु अस्वाभाविक थिएन । नेपालको राजनीतिमा रवि लामिछानेको उदय जति अस्वाभाविक ठानिँदैछ, उनमाथि उठेका प्रश्न र अदालतद्वारा गरिएको न्यायनिरुपणको कर्म उत्तिकै स्वभाविक तथा कानुनसम्मत रहेको छ ।

नागरिकता विवाद-प्रकरणमा फैसला सुनाउँदै जब सर्वोच्च अदालतले नेपालको नागरिकता पुनर्प्राप्तिको प्रक्रियामा जानुपर्ने बाटो देखाइदियो, सञ्चारकर्मीसमक्ष प्रतिक्रिया दिँदै लामिछानेले आफू अब अनागरिक भएकोले प्रश्नको जवाफ दिन सक्ने अवस्थामा नरहेको बताए । ‘अनागरिक’ शब्दलाई उनले विशेष जोड दिँदै पटक-पटक दोहोऱ्याए । आफूलाई ‘अनागरिक’ भनाएर आममानसको सहानुभूति हासिल गर्ने उनको उक्त प्रयास लुकाउन खोजेर पनि लुकिरहेको थिएन । जबकि, अदालतले लामिछानेलाई ‘अनागरिक’ मानेकै थिएन/छैन । फैसलामा फगत यत्ति औंल्याइएको थियो कि नेपाली भए पनि उनले नेपालको नागरिकता त्यागेर अमेरिकी नागरिकता हासिल गरेको हुँदा पुनः नेपाली नागरिकता प्राप्तिको कानुनी प्रक्रिया अवलम्बन नगरी नेपालकै नागरिकसरह व्यवहार गर्न मिल्दैन, नागरिकता पुनर्प्राप्तिको प्रक्रियामा जाउ ! यति सरल र स्पष्ट कुरालाई बुझेर पनि उनले बङ्ग्याउने प्रयत्न गरे र, आफ्ना प्रशंसकसामु ‘अनागरिक’ बन्न पुगेको अभिव्यक्ति दिएर राज्यलाई ‘इमोसनल ब्ल्याकमेलिङ’को प्रयास गरे । लामिछानेको बक्र-अभीष्ट झल्काउने एक पक्ष हो यो सन्दर्भ ।

लामिछानेका क्रियाकलापप्रति शङ्का जगाउने काम-कुरा अनेक होलान्, तर राजनीतिमा एकाएक मिलेको सफलतालाई भजाउँदै उनले जब नयाँ सरकारमा आफूलाई गृहमन्त्रालय नै चाहिने चाहना दर्शाए, त्यसले उनी स्वयम् आफ्ना अवैधानिक कर्मप्रति कसरी तर्सिरहेका रहेछन् भन्ने अनुमान गर्न सजिलो तुल्यायो । आफूमाथि जुन विषयमा मुद्दा चलिरहेको छ, त्यसलाई प्रभावित पारेर उम्कने उनको अभीष्ट रहेको बुझ्न धेरै माथापच्ची गर्नै परेन । आज मामला निकै अघि बढिसकेको छ, अर्थात् अदालतको फैसलाले उनलाई नेपालको नागरिकता पुनः प्राप्त गर्न बाध्य तुल्याएको छ र उनी मन्त्रीको ओहदाबाट वञ्चित हुन पुगेका छन् । अझ महत्वपूर्ण त उनले आफू अमेरिकी नागरिक रहेकै बेला नेपाल राज्यलाई छलेर नेपाली राहदानी लिएको मुद्दा बाँकी नै छ । सम्भवतः यसबाट सहज पार पाउने ध्येयकै कारण हुनुपर्छ, उनले फेरि पनि गृहमन्त्रालय आफैले पाउनुपर्ने जिकिर गरिरहेका छन् । आफूमाथिका आरोपबाट सफाइ नपाउन्जेल सबै जिम्मेवारीबाट अलग रही राज्यलाई सघाउनुपर्नेमा आफ्नो मुद्दा हेर्ने मन्त्रालय हत्याउन हात धोएर लागिपर्नुले लामिछानेको मनोदशा दर्शाउँछ ।

धेरैले ठानेका छन्, लामिछानेले नेपाली नागरिकता पुनप्र्राप्तिको प्रक्रया पूरा गरी नागरिकता हासिल गरेका छन्, अब सबै कुरा स्वभाविक तवरले अघि बढ्ला । तर, त्यसो होइन । उनको एक गल्तीका कारण धेरै समस्या उत्पन्न भएका छन् । उनी नेपाली नागरिक नरहेको बेला संविधान तथा नियम-कानुनविपरीत भए/गरिएका कर्ममाथि उठेका सवालको सम्बोधन कसरी गर्ने भन्ने पेचिलो सवाल पैदा भएको छ । राज्यका कतिपय संवैधानिक निकायको कमी-कमजोरीका कारण पनि यस्तो अवस्था निम्तिएको आँकलन गरिँदै छ । पहिले नै निर्वाचन आयोग एवम् प्रहरी प्रशासन तथा न्यायिक निकायहरूले गम्भीरताका साथ आफ्नो दायित्व निर्वाह नगरिदिनाले गन्जागोल परिस्थिति उत्पन्न भएको अस्वीकार गर्न पनि सकिन्न । लामिछानेको नागरिक हैसियतका बारे आजभन्दा चार-पाँच वर्षअघि नै प्रश्न उठेको थियो, तर उनले हठ प्रदर्शन गरे । कानुन वा राज्यभन्दा पनि माथि छु जस्तो व्यवहार प्रदर्शन गरिदिए ।

समष्टिमा भन्नुपर्दा लहरो तान्दा पहरो गर्जिने अवस्था सिर्जना भएको छ । एक व्यक्तिको अराजक प्रकृतिको हठले देशलाई कति असहज र प्रतिकुलतामा पुऱ्याउँदोरहेछ भन्ने शिक्षा पनि यस प्रकरणले दिएको छ ।