राप्रपामा विभाजनको पृष्ठभूमि बन्दै !

राप्रपामा विभाजनको पृष्ठभूमि बन्दै !


विभाजनको वर्षदिन बितेपछि पूर्वपञ्चहरूको पार्टी राप्रपामा पुनः मतभिन्नता बढेको छ । एकाध वर्षको अन्तरालमा विभाजन र एकीकरण भइरहने उक्त पार्टी गत वर्ष फुटेको थियो । कमल थापाले राप्रपा नेपाल नाममा छुट्टै दल खोलेर केपी ओलीसँगको सहकार्यमा गएपछि राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा चामत्कारिक चर्चाका साथ बढेको थियो । गत संसदीय निर्वाचनमा लिङ्देन पनि कमलकै बाटो पछ्याउँदै केपीसँगको गठबन्धनमा गए । चुनाव जितेपछि भएको सत्ता पक्षका नेताहरूको उच्च स्तरीय बैठकमा लिङ्देनले केपी ओलीतिर फर्किएर हात जोड्दै भनेका थिए- ‘अध्यक्षज्यू, मैले चौधवटा ल्याएर हजूरको पकेटमा हालिदिएको छु, कसरी प्रयोग/उपयोग गर्नुपर्ने हो हजुरले गर्नुहोला ।’ लिङ्देनको कुराले केपीलाई प्रशन्न बनाए पनि बैठकमा सहभागी अन्य नेताहरूले भने लज्जाबोध गरेका थिए ।

सार्वजनिक छवि राम्रो भएको र आफैमा भद्र भएकोले राजेन्द्र लिङ्देनलाई बाहिर मानिसहरू सम्मानका साथ हेर्ने गर्दछन् । तर केपीसँगको उनको विशेष सम्बन्धलाई पार्टीभित्र समेत अस्वाभाविक रूपमा लिन थालिएको छ । सरकारमा सहभागी भएपछि लिङ्देनको कार्यशैली र सोचलाई लिएर पार्टीभित्र व्यापक आलोचना हुन थालेको छ । वरिष्ठ नेताहरू पशुपतिशमशेर, बुद्धिमान तामाङ, डा. प्रकाशचन्द्र लोहनी र दीपक बोहोरालगायतले लिङ्देनप्रति असन्तुष्टि प्रकट गर्न थालेका छन् । धवल शमशेर राणाले त संसदीय दलको नेतामा लिङ्देनलाई टक्कर दिन खोजेका थिए । त्यस्तै नवपञ्च नेता एवम् पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अहिले सरकारमा सहभागी हुनु उचित नहुने भन्दै असहमति जनाएका थिए । मिश्रको असहमतिलाई पनि लिङ्देनले खासै सरोकार राखेनन् ।

भनिन्छ, पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहसँगको दर्शन भेटका क्रममा राजेन्द्रले सरकारमा सहभागी हुने/नहुनेबारे राय मागेका थिए । राजाले जनभावना जे छ सोहीबमोजिम बुझेर गर्नु भन्ने सुझाव दिएका थिए । राजाको आशय सरकारमा सहभागी नबनुन् भन्ने थियो, तर लिङ्देनले ‘जनभावना बुझेर’ सरकारमा सहभागी हुने निर्णय गरे । त्यसरी सरकारमा सहभागी भएपछि ‘दरबार’ असन्तुष्ट बनेको बताइन्छ । अर्को कुनै विकल्प नभएकोले चुपचाप बस्न राजा बाध्य भएको बुझिएको छ । तर राप्रपामा बिस्तारै असन्तुष्ट पक्ष बढ्दै गएको छ र कुनैपनि बेला विभाजन हुनसक्ने पृष्ठभूमि तयार भएको छ ।