राष्ट्रपतिमा शेरबहादुर कि मानबहादुर ?

राष्ट्रपतिमा शेरबहादुर कि मानबहादुर ?


सरकार गठनको समयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बनेको गुप्त सहमति जस्ताको त्यस्तै कार्यान्वयन नहुने भएको छ । प्राप्त जानकारीअनुसार केपी र प्रचण्डबीच आधी-आधी कार्यकाल बाँडेर दुवै जना आलोपालो प्रधानमन्त्री बन्ने, पहिलो कार्यकाल प्रचण्डले र त्यसपछि केपीले सम्हाल्ने, सभामुख र राष्ट्रपति एमालेले लिने तर अढाइ वर्षपछि केपी प्रधानमन्त्री बनेसँगै सभामुख एमालेले छोड्ने र माओवादीलाई दिने जस्ता सहमति बनेको थियो । सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका छन् र एमालेले सभामुख पाएको छ । तर अब राष्ट्रपति चयनमा भने पूर्व सहमतिअनुरुप कार्य हुने सम्भावना समाप्त भएको छ । कुनै चमत्कार भएको अवस्थामा मात्र एमालेले राष्ट्रपति पाउने देखिन्छ ।

माओवादीले सहमतिको राष्ट्रपति बनाउने औपचारिक निर्णय गरिसकेको छ । माओवादीको उक्त निर्णय नै एमालेका निम्ति प्रतिकुल बन्न पुगेको छ । काङ्ग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि परिस्थितिमा आएको परिवर्तनलाई काबुमा लिन केपी अहिलेसम्म सफल भएका छैनन् । आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुने बताइएको छ । समय लम्बिँदै जाँदा एमाले र माओवादीबीच थप अन्तरविरोध बढ्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । राष्ट्रपतिसमेत एमालेलाई दिँदा राजनीतिक सन्तुलन असामान्य अवस्थामा पुग्ने बुझाइ माओवादी नेतृत्वको छ । त्यसैले राष्ट्रपति काङ्ग्रेसलाई दिँदा मात्र सन्तुलनको स्थिति बन्ने माओवादीले ठानेको छ । त्यसो त माओवादी पार्टीका अधिकाङ्श नेताहरू काङ्ग्रेससँगको सहकार्यका पक्षमा छन् । ओलीले राखेको पार्टी एकीकरणको प्रस्तावप्रति समेत माओवादी नेतृत्व पङ्क्ति आकर्षित नरहेको बुझिन्छ ।

काङ्ग्रेसले राष्ट्रपति पाएमा उसले कसलाई चयन गर्ला भन्ने जिज्ञासा सर्वत्र उत्पन्न भएको छ । काङ्ग्रेसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, मानबहादुर विश्वकर्मा र गोपालमान श्रेष्ठको नाम विशेष चर्चामा छ । उल्लिखित चारमध्ये पनि रामचन्द्र पौडेल र मानबहादुर विश्वकर्माको नामलाई अलिक गम्भीरताका साथ लिइएको छ । पौडेल उच्च तहका नेता भएकोले उनको दाबीलाई सजिलै पन्छाउन सकिने स्थिति देखिँदैन भने विश्वकर्माको दाबीमा दम रहेको छ । यसअगाडि मधेशी, जनजाति र महिलाले राष्ट्रपति र उपराष्ट्रपतिको जिम्मेवारी प्राप्त गरिसकेको परिप्रेक्ष्यमा अब पिछडिएको समुदायका विश्वकर्माले राष्ट्रपति पाउनु स्वभाविक हुने धेरैको धारणा छ । अर्घाखाँचीमा जन्मिएर भारतबाट उच्च शिक्षा हाशील गरेका विश्वकर्मा अमृत साइन्स क्याम्पसमा गणित विषय पढाउँथे । चौध वर्षसम्म कलेजमा प्राध्यापन गरेका उनलाई २०४६ को परिवर्तनलगत्तै संसदीय निर्वाचनमा उम्मेदवार बनाउने भन्दै तत्कालीन काङ्ग्रेस सभापति कृष्णप्रसाद भट्टराईले सेवाबाट राजीनामा गर्न लगाएका थिए । लामो समयदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय ७४ वर्षीय विश्वकर्माले मन्त्री र सांसदको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् । २०६५ सालमा रामवरण यादवलाई राष्ट्रपतिको उम्मेदवार बनाइएको बेला काङ्ग्रेसले उपराष्ट्रपतिमा मानबहादुर विश्वकर्माको नाम निश्चित गरेको थियो । तर त्यसबेला मधेशी जनअधिकार फोरमसँग सम्झौता गर्नुपर्ने बाध्यात्मक अवस्थाले गर्दा विश्वकर्माको ठाउँमा परमानन्द झा उपराष्ट्रपति बन्न पुगेका थिए । अहिले सर्बस्वीकार्य हुनसक्ने उम्मेदवारको रूपमा विश्वकर्माको नाम अगाडि आएको छ । तर पार्टीभित्र सभापति शेरबहादुर देउवा नै राष्ट्रपति बन्नुपर्ने भन्दै एकथरीले दबाब पैदा गरिरहेका छन् । पार्टीको दोस्रो र तेस्रो पुस्ताका केही नेताले निरन्तर दबाब बढाएपछि देउवा पनि राष्ट्रपति बन्ने मानसिकतामा पुगेको बताइन्छ ।

काङ्ग्रेसका तर्फबाट प्रचण्डलाई आगामी पाँच वर्षसम्म प्रधानमन्त्रीमा समर्थन गर्न प्रस्ताव गएको र पाँच वर्ष पावरबाट बाहिर रहन गाह्रो हुने भएकोले पनि देउवा आफै राष्ट्रपति बन्न तत्पर हुने सम्भावना बढेको छ । अर्कातिर प्रचण्ड पनि देउवा राष्ट्रपति बनेको अवस्थामा मात्र आफू पाँच वर्षसम्म प्रधानमन्त्री रहिरहन पाउने ठान्दछन् । देउवा बाहिर रहेको अवस्थामा अहिले जस्तो सहमति बने पनि त्यो बीचमै तोडिनसक्ने प्रचण्डको ठम्याइ छ । त्यसैले राष्ट्रपति बन्ने प्रतिष्पर्धामा रहेका सबैलाई पछार्दै अन्ततः देउवा स्वयम् राष्ट्रपति बने भने कुनै आश्चर्य मान्नु नपर्ने स्थिति छ ।

उपराष्ट्रपतिमा जसपाले दाबी गरिरहेको छ । पार्टीबाट विजयी कसैलाई उपराष्ट्रपति बनाएर रिक्त संसदीय क्षेत्रबाट आफू विजयी भइ प्रतिनिधिसभामा छिर्ने दाउ उपेन्द्र यादवको रहेको छ ।

एमालेले राष्ट्रपति बनाउने अवसर पाएमा सुवास नेम्बाङ, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य र पृथ्वी सुब्बा गुरुङमध्ये एकलाई उम्मेदवार बनाउने सम्भावना देखिन्छ । तर पछिल्लो समयमा केपी शर्मा ओली स्वयम् राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चाले पनि बजार लिएको छ । एमालेले जित्ने अवस्थामा हुने उम्मेदवार र नजित्ने स्थितिमा प्रस्तुत गरिने उम्मेदवार भने फरक गर्ने देखिन्छ । जित्ने सुनिश्चितता रहेको अवस्थामा केपी स्वयं खडा भएनछन् भने ईश्वर पोखरेललाई अगाडि सार्ने सम्भावना प्रवल छ ।

विजयी बन्न कति मत ?

नेपाली काङ्ग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मात्र एकातिर हुँदा पनि राष्ट्रपतिको निर्वाचनमा विजय हाशील गर्ने गणितीय स्थिति रहेको छ । निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरू मतदाताका रूपमा रहने छन् । हाल राष्ट्रिय सभामा कुल ५८, प्रतिनिधिसभामा २७३ (२७५ हुनुपर्नेमा दुई सांसद निष्कासित भएका) र प्रदेशसभामा कुल ५५० जना रहेका छन् । जम्मा ८८१ मतदाताहरूको मतभार ५२५४९ हुनेछ र, विजयी बन्न कम्तिमा २६२७५ मतभार आवश्यक पर्नेछ । जबकि काङ्ग्रेसको कुल मतभार १५९४८ रहेको छ भने माओवादीको ७७२८, एकीकृत समाजवादीको २२८६ र जसपाको २२४१ गरि जम्मा कम्तिमा २८२०३ मतभार हुनेछ । बाँकी सबै दल अर्कातिर भएपनि उल्लिखित चार दलको मतभार अधिक देखिन्छ । त्यसमा लोसपाका ४ सांसदसमेत थपिँदा मतभार पनि बढ्नेछ ।

त्यसैले यसपटक राष्ट्रपति पदमा भिन्न समीकरणबाट विजयी बन्ने प्रवल सम्भावना छ । राष्ट्रपति सर्वस्वीकार्य बनाउने विचार पनि दलहरूभित्र नउठेको होइन, माओवादीले कल्याण श्रेष्ठ नामक एक विवादास्पद पूर्वप्रधानन्यायाधीशलाई राष्ट्रपति बनाउन चाहेको र केहीअगाडि नै शेरबहादुर देउवासँग त्यस विषयलाई लिएर छलफल गरेको बताइन्छ । पश्चिमा शक्तिका निम्ति न्यायिक क्षेत्रमा रहेर क्रियाशील कल्याणलाई देउवाले सिधै अस्वीकार गरिदिएका थिए ।

सर्वस्वीकार्य ब्यक्तिका रूपमा राष्ट्रपति बन्ने गुप्त खेलमा बाबुराम भट्टराई पनि लागेका छन्, तर उनको रहर यसपालि पूरा हुने सम्भावना अहिलेसम्म देखिएको छैन । सर्वस्वीकार्य हुनसक्ने उम्मेदवारका रूपमा डा. जगमान गुरुङको नाम चर्चामा आएको छ, तर प्रमुख दलहरू दलकै नेतामध्येबाट राष्ट्रपति चयन गर्ने मानसिकतामा छन् । हालसम्म दलका नेताहरूमध्ये माधवकुमार नेपाल, रामचन्द्र पौडेल, मानबहादुर विश्वकर्मा, कृष्ण सिटौला, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ र गोपालमान श्रेष्ठको नाम विशेष रूपमा लिइन्छ । शेरबहादुर देउवा र केपीको नामसमेत पछिल्लो समयमा चर्चामा आउन थालेको छ ।