समीकरण बदल्ने निर्णायक प्रयास

समीकरण बदल्ने निर्णायक प्रयास


नेपालमा ज्यादा चासो राख्ने अन्तर्राष्ट्रिय शक्तिहरूमध्ये अमेरिका, भारत र चीनलाई मुख्य मानिन्छ । केपीले यतिबेला अमेरिकालाई विश्वासमा लिने, चीनलाई सन्तुलनमा राख्ने र भारतलाई बिर्सिने नीति अवलम्बन गरेको महसूस गरिएको छ । केपीको यस्तो सोचले भारतलाई सोच्न बाध्य तुल्याएको र, उ पनि नेपालको सत्ता समीकरण बदल्न ‘पशुपतिनाथसँग प्रार्थनारत रहेको’ बुझिन्छ ।

राष्ट्रपति नपाएको अवस्थामा एमालेले के गर्ला भन्ने जिज्ञासा सबै नेपालीमा उत्पन्न भएको छ । धेरैले ठानेका छन् पूर्व सहमतिअनुरुप राष्ट्रपति नपाएको अवस्थामा एमाले सरकारबाट बाहिरिने छ । तर एमालेको पृष्ठभूमि र भविष्य समेतको विश्लेषण गर्दा उसले राष्ट्रपति नपाएपनि सरकार छोड्ने सम्भावना देखिँदैन । बरू राजनीतिको भित्री तहमा भइरहेका गृहकार्यमाथि आँखा लगाउँदा सरकारको समीकरण पूरै बदलिने र एमालेलाई बलजफ्ती सरकारबाट खेद्ने सङ्केत देखिएको छ ।

काङ्ग्रेसले विश्वासको मत दिँदै प्रचण्डको मनोबल बढाइदिएपछि चिसिएको केपीको मन अदालती निर्णयबाट हटाइएका ब्यक्तिलाई पुनः गृहमन्त्री बनाउन गरिएको आग्रहलाई प्रचण्डले अटेर गरेपछि थप चिसिएको छ । राष्ट्रपतिसमेत नदिने निर्णयमा माओवादी पुगेपछि केपी क्रुद्ध हुन पुगेका छन् । प्रमुख सत्तारुढ दलहरूबीच अहिले उत्पन्न असमझदारी र तनाव सजिलै सहज हुने स्थिति छैन, बरू राष्ट्रपतिको चुनावसँगै उत्कर्षमा पुग्ने देखिन्छ । अब सरकारमा बसिरहनका लागि पनि एमालेले प्रचण्डलाई रिझाइरहनुपर्ने हुन्छ ।

सय दिन पुग्दानपुग्दै मन्त्रिमण्डल पुनर्गठन गरेर एमालेसहित राप्रपा र स्वतन्त्रलाई हटाइयो भने अब कुनै आश्चर्य हुनेछैन । तिनको सट्टा काङ्ग्रेस, समाजवादी, जसपा र लोसपालाई सरकारमा सामेल गराउने जुन योजना भित्रभित्रै बनिरहेको छ त्यसमा एमालेले कसरी अवरोध पैदा गर्न सक्ने या नसक्ने हो अहिले नै भन्न सकिन्न । पश्चिमा शक्तिले सम्पूर्ण बल लगाएर पनि सम्भावित समीकरण तोड्नसक्ने ठानिएको छैन । काङ्ग्रेसको ८८, माओवादीको ३२, समाजवादीको १०, जसपाको १२ र लोसपाको ४ गरि कुल सङ्ख्या १४६ हुनेछ । र, यसमा केही स्वतन्त्र सदस्य थप हुनसक्ने सम्भावना पनि छ । यी दलहरूबीच गठबन्धन बनेको अवस्थामा काम गर्न सहज हुने र, गठबन्धन पनि दीगो हुने विश्वास सम्बद्ध पक्षले गरेको छ । अहिले भइरहेका गुप्त गृहकार्यहरूलाई हेर्दा सरकारमा एमाले धेरै लामो समयसम्म रहनसक्ने देखिएको छैन । प्रचण्डलाई पाँच वर्षसम्म प्रधानमन्त्री स्वीकार गर्ने वचन काङ्ग्रेसले दिएका कारणले पनि समीकरण छिट्टै बदलिने सम्भावना बढाएको हो ।

नेपालमा ज्यादा चासो राख्ने अन्तर्राष्ट्रिय शक्तिहरूमध्ये अमेरिका, भारत र चीनलाई मुख्य मानिन्छ । केपीले यतिबेला अमेरिकालाई विश्वासमा लिने, चीनलाई सन्तुलनमा राख्ने र भारतलाई बिर्सिने नीति अवलम्बन गरेको महसूस गरिएको छ । केपीको यस्तो सोचले भारतलाई सोच्न बाध्य तुल्याएको र, उ पनि नेपालको सत्ता समीकरण बदल्न ‘पशुपतिनाथसँग प्रार्थनारत रहेको’ बुझिन्छ । प्रजातान्त्रिक शक्ति र क्रान्तिकारी धारको कम्युनिष्टसँगै मधेशकेन्द्रीत शक्तिहरू सम्मिलित सरकार प्राकृतिक चरित्रको हुने र, यसले समग्र नेपाल समेट्ने तर्कसहित एकथरी मानिस समीकरण बदल्न कस्सिएका हुन् । यसरी कस्सिनेमा माधव नेपाल र उपेन्द्र यादवलगायत छन् । यस्तो समीकरण बन्न ‘भारतको प्रार्थना’ले कति प्रभावकारी भूमिका निर्वाह गर्ने हो समयले नै बताउने ठानिएको छ ।