६ महिने भिसाका लागि अमेरिकासमक्ष ब्राजिलका पूर्वराष्ट्रपतिको अनुरोध

६ महिने भिसाका लागि अमेरिकासमक्ष ब्राजिलका पूर्वराष्ट्रपतिको अनुरोध


ब्राजिलका पूर्वराष्ट्रपति जेर बोल्सोनारोले ६ महिनाका निम्ति आफूलाई प्रवेशाज्ञा प्रदान गर्न अमेरिका सरकारसमक्ष अनुरोध गरेका छन् ।

पूर्वराष्ट्रपतिको अमेरिका बस्ने यो चाहनाले उनी तत्काल स्वदेश फर्कने सम्भावना प्रायः समाप्त भएको अनुमान गरिएको छ । स्वदेशमा उनमाथि विविध कानुनी अड्चन आउने सम्भावना छन् ।

पूर्वराष्ट्रपतिले अमेरिकी भिसाका लागि आवेदन गरेको समाचार उनका आप्रवासनसम्बन्धी वकिललाई उद्धृत गर्दै सर्वप्रथम ‘द फिनान्सियल टाइम्ज’ले सार्वजनिक गरेको थियो ।

गत डिसेम्बर ३० मा पूर्वराष्ट्रपति बोल्सोनारो अमेरिकाको फ्लरिडा प्रस्थान गरेका थिए । त्यसको दुई दिनपछि ब्रजिलमा नयाँ राष्ट्रपतिले कार्यभार सम्हाल्ने दिन थियो । उक्त दिन देशको स्थिति सामान्य रहे पनि एक सातापछि उनका समर्थकले देशव्यापी आन्दोलन गरेर राष्ट्रपति लुइज इनाकियो लुला डिसिल्भाको निर्वाचन बदर हुनुपर्ने माग गर्दै आन्दोलन चर्काएका थिए ।

पूर्वराष्ट्रपति बोल्सोनारोले आन्दोलन भड्काएको लगायत विभिन्न आरोप लागेको छ । तीन दशक लामो राजनीतिक यात्रा पार गर्नुभएका बोल्सोनारोलाई ब्राजिल सरकारले पूर्वराष्ट्रपतिका रुपमा कुनै पनि सुविधा उपलब्ध गराएको छैन । उनमाथि सर्वोच्च अदालतले सुनुवाइ गर्न बाँकी छ ।