वित्तीय अराजकताले प्रताडित नागरिक जीवन

वित्तीय अराजकताले प्रताडित नागरिक जीवन


स्वदहनको कारणमा प्रेमले ‘आफ्नो भोगाइ र पीडा सरकारले सुन्नेगरी ज्यानको आहुति दिएको’ भनेका छन् । यसको अर्थ एक जना नागरिकले मृत्यु नअँगालेसम्म उसको गाह्रोसाह्रो नसुन्ने-नबुझ्ने हाम्रो सामाजिक सोच एवम् राजनीतिक प्रणालीमाथि बडेमान प्रश्न तेर्स्याइदिएको छ । ‘यो देश भ्रष्ट रहेछ, यहाँ पाइला-पाइलामा विभेद र अन्याय छ’ भन्ने उनको निष्कर्षले त्यही प्रश्नको जवाफ खोजिरहेको छ ।
  • राजबाबु शंकर

संसद् भवनकै बाहिर माघ ९ गते आत्मदाह गरेका इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यको देहान्त, त्यसको भोलिपल्ट सप्तरीको छिन्नमस्ता गाउँपालिकाका ४५ वर्षीय रामदेव मरिकको झुण्डिएर स्वहत्या, विराटनगर महानगरपालिका-३, पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेको पनि स्वहत्या, कास्कीको पोखरा महानगरपालिका-९, शिव टोलका ३८ वर्षीय लेखुराम खातीको पनि झुण्डिएरै स्वहत्या, पोखरा-१३, काहुँखोलामा पनि एक पुरुषले माघ १५ गते शरीरमा लागो लगाएर आत्मदाहको प्रयास र उनलाई बचाउन गएकी एक महिला पनि घाइते (१६ माघमा मृत्यु) पहिलो र दोस्रो साताभित्र मात्रका यस्ता सिलसिलेवार स्वहत्या र त्यसको प्रयासका घटनाले यतिबेला नागरिक-जीवन स्तब्ध छ ।

यी सबैजसो घटना आर्थिक दुरावस्थासँग सम्बन्धित पाइएका छन् । विभिन्न उद्यममा कर्मशील रहेर जीवन धान्न संघर्ष गरिरहेका तप्काका ती व्यक्तिहरूले ऋणको बोझका कारण आफ्नै जीवन अन्त्य गरेको यस्ता संवेदनशील दुर्घटनाका कारण यतिबेला नेपालका हरेक पेशा, व्यवसाय, समाज र गरिखाने वर्गलाई संत्रस्त तुल्याएको छ । यद्यपि ६ हजार ५ सय ५३ शब्द लामो आत्मालापनामा सार्वजनिक गरेसँगै स्वदहन गरेका प्रेमले भने केही चोटिला र सोच्न बाध्य हुनुपर्ने प्रश्नहरू छाडेर गएका छन् । जसको जवाफ नदिइ सत्तासीनहरूलाई शासन चलाइरहन शायद सहज छैन । त्यही भएरै होला, उनको मृत्युकै दिन भएको मन्त्रिपरिषद्ले उनले उठान गरेका ती प्रश्नहरू माथि छानबिन गर्ने औपचारिक निर्णय गऱ्यो ।

विधिको शासन कमजोर भएपछि पहुँचविहीन सबैतिरबाट सहायताशून्य व्यक्तिले अवश्य नै निरीह महसूस गर्छ । तब उसले जीवनको समेत कुनै औचित्य नदेख्दो हो । वस्तुतः अरूको या आफ्नो ज्यान लिने काम अपराध हो । तर, समयचक्रमा असहाय एवम् निरुपाय बन्न पुगेकाहरूले त्यही अपराधका माध्यमबाट विद्रोह पनि बोलिरहेका हुन्छन् । सम्भवतः प्रेम उर्फ सन्तोषले त्यही विद्रोह ओकले, तर आफूले आफैंलाई जलाएर ! जबकि जल्नु पर्ने वा जलाइनु पर्ने भनेको विधिको बर्खिलाप गर्नेहरूलाई हो । परन्तु, यो घटनालाई सत्ताका ठेकेदारहरूले समाजको गर्भभित्रबाट विद्रोहको ज्वालामुखी सतहमा आउँदै गरेको सङ्केतका रूपमा बुझ्नु पर्दछ । र, जसले सत्ता एवम् देशको अर्थ-राजनीतिलाई गम्भीर चुनौती दिएको ठान्नु पर्दछ ।

त्यसो त दलपतिहरूको भाषणबाजीमा समाजवाद उन्मुख राज्यव्यवस्थाको स्थापनाको रटान ३२ वर्षदेखि जारी छ । चुनावैपिच्छे समृद्धिको स्वैरकल्पनामा जनतालाई रनभुल्लाए पनि अवस्था भने हिजोको भन्दा आज झन्-झन् विकराल बन्दो छ । यस्तो विरोधाभासले जनमनमा चरम निराशा बढाइरहेको छ । अबउसो खतरनाक जोखिम के पनि हुन सक्छ भने, प्रेम लगायतको आत्मदाह मार्गमा अरूले घ्यू थपिदिन सक्छन् ! र, यो चैते डढेलो नबनोस् भनेर ती सत्तासीनहरू तथा नीति निर्माताहरू गम्भीर रूपमा सचेष्ट हुन अत्यावश्यक छ ।

जीवन-संघर्षमा मानिस सधैं र सबै सफल हुँदैनन् । सम्भवतः त्यही मेसोमा प्रेम लगायतले गरिरहेको उद्यम र व्यवसाय पनि सफल हुन सकेन । र, जीवनबाट हार मानेका उनीहरूले भोगेको दीना-हीन अवस्था ‘यो देश गरिखानेलाई होइन, लुटिखानेका लागि मात्र सहज’ रहेको भन्ने यथार्थ हो । सफलताका लागि दिनरात गरेको संघर्षका बाबजुद वित्तीय संस्थाहरूदेखि बीमा कम्पनीहरूसम्म, सरकारी अड्डादेखि फौबन्जार व्यापारी र साहूहरूबाट आफूहरू श्रृंखलाबद्ध लुटिएको दुरावस्था साँच्चै नै अत्यासलाग्दो छ ।

आफ्नो स्वदहनको कारणमा प्रेमले ‘आफ्नो भोगाइ र पीडा सरकारले सुन्नेगरी ज्यानको आहुति दिएको’ भनेका छन् । यसको अर्थ एक जना नागरिकले मृत्यु नअँगालेसम्म उसको गाह्रोसाह्रो नसुन्ने-नबुझ्ने हाम्रो सामाजिक सोच एवम् राजनीतिक प्रणालीमाथि बडेमान प्रश्न तेर्स्याइदिएको छ । ‘यो देश भ्रष्ट रहेछ, यहाँ पाइला-पाइलामा विभेद र अन्याय छ’ भन्ने उनको निष्कर्षले त्यही प्रश्नको जवाफ खोजिरहेको छ । अर्थात्, प्रेमको आत्मदाह प्रकरण विभिन्न उद्यम गरिरहेका यस देशका हजारौं युवा पुस्ताको प्रतिनिधि-घटना हो ।

यसै पनि रोजगारीका खातिर बाध्यतावश विदेशिएका लगभग ८० लाख युवाहरूमध्ये कतिपय लगभग महिनैपिच्छेजसो काठको बाकसमा फर्किरहेका छन् । तिनलाई म्यानपावर कम्पनीहरूले जहिल्यैसुकै उत्तिकै मनमौजी ठगिरहेकै छन्, विदेशमा लगेर अलपत्र पार्ने र विदेश पठाउँछु भनेर देशकै कुनै घरेलु एयरपोर्टमा बिल्लिबाठ पारेका छन्; सवारीसाधन जान बाटो नभएर झोलुंगोमा झ्याल्टुङ पारेर लग्दैगर्दा र सवारीसाधन नपाएर बसमा अस्पताल जाँदाजाँदै बिरामीहरू मरेका छन्; कष्टसाध्य तुइन तर्दा आमाले आफ्नो काखे बालक गुमाएका छन्; स्कूले बालबालिकाहरू त्यही तुइनबाट र नदी तर्दाखेरि ज्यान गुमाउने नियति भोगिरहेका छन्, अत्यधिक चिसोले नागरिकको मृत्यु भइरहेको छ । वित्तीय संस्थाहरूले मनपरी ब्याज असुलेर ऋणीलाई सुकुम्बासी बनाउने डकैतगिरी गरिरहेका छन् । तर, तथाकथित समाजवादी सरकार भने यतिञ्जेल नागरिक जीवनको यस्तो सरेआम बिचल्लीप्रति रमिते बन्नु बाहेकको भूमिकामा छँदैछैन ! यही कहालिलाग्दो हलालीका कारण नागरिकहरूले जुलुस निकालेरै प्लेकार्ड मार्फत सरकारलाई सोधेका छन्- ‘यो देश हो कि बधशाला ?’

छर्लङ्गै छ- जनताका अपेक्षाहरू पूरा गर्न सरकार निरन्तर अक्षम हुनु अथवा सगोल जनप्रतिनिधिहरू नै निकम्मा हुनुको मूल्य यो ३२ वर्षमा फगत यस देशका गरिखाने जनवर्गले चुकाउँदै आएका छन् । सत्ताका लालची र भोगीहरू त केवल देशदोहन एवम् जनदोहन गर्न मात्रै अस्तित्वमा छन् । सोही कारणको अवसादबाट गुज्रिएका यी सिलसिलेवार स्वहत्या प्रकरणहरू त्यसै विरुद्धको उत्ताल विद्रोह हो । अब यही देशमा गरिखाने वातावरण खोजिरहेका आम मानिस र त्यसमा पनि युवापंक्ति क्रान्तिकारी संघर्षमा उत्प्रेरित हुनु आजको प्राथमिक आवश्यकता बनेको ठहऱ्याउने दिन नजिकिएको छ । अतएवः भ्रष्टाचार, कुशासन, नेतातन्त्र र कर्मचारीतन्त्रको अराजकताबाट प्रताडित नागरिकका विकल्पहरू साँघुरो बनिरहेको आजले निकट भोलिका दिनहरू प्रत्युत्पादक बनाउने पक्का छ । ती सब सत्ताभोगी, ब्याजका नाममा दोब्बर/तेब्बर डकैती गरिरहेका वित्तीय साहूकारहरू सुध्रिउन् भन्ने चेतावनी समयले दिइसकेको छ । बेलैमा जनतामारा ती धुन्धुकारीहरूलाई चेतना भया ।