दलका ‘हनुमान’हरू जो नेताका आदेश मान्न विवश छन् !

दलका ‘हनुमान’हरू जो नेताका आदेश मान्न विवश छन् !


दल तथा सरकारको तागत/हैसियत (रवि र अदालत)

कतिपय देशमा न्यायधीश नियुक्ति गर्दा दलको हैसियतको आधारमा पदको बाँडचुँड हुन्छ र दलका सबैभन्दा पहुँच भएका हनुमान वा गणेशहरूले न्युनतम योग्यता पुगेको आधारमा न्यायाधीश पद पाउने गर्छन् । ती हनुमानहरूले आफूलाई त्यो पदमा पुऱ्याउने दलका नेताको आदेश नमाने के गर्ने ? नपाउने पद पाएकोले त्यो पद दिनेले केही सोचेर नै दिएको होला नि, उसको इच्छा पूरा गर्न परेन ?

दामोदर पौडेल

चीनमा बहुदलीय ब्यवस्था छ । त्यहाँ किसान पार्टी, समाजवादी पार्टी जस्ता राज्यले मान्यता दिएका पार्टीहरू क्रियाशील छन् । चिनियाँ कम्युनिष्ट पार्टी र ती पार्टीहरूबाहेक अरु पार्टी पनि होलान् । त्यो बहुदलीय ब्यवस्था उत्तर कोरिया तथा क्युवामा छैन । यसरी चीनमा बहुदलीय ब्यवस्था फस्टाएको छ र फुलेको छ । बहुदलीय ब्यवस्था त्यहाँ कपाल फुलेजस्तै गरेर फुल्दै जानेछ र टाउकोको कपाल जस्तै बुढो हुँदै जानेछ । कुनै बेला कालो कपाल कत्ति पनि नरहन सक्छ । यो साम्यवादी दर्शनको कार्यनीति वा रणनीति नभइ आदर्श नै हो कि भन्ने पनि लाग्छ ।

हामीहरूको तिर श्राद्धमा बिरालो बाँध्ने चलन दियो अरे, घरमा नभए खोजेर ल्याएर पनि बिरालो बाँध्नैपर्ने । श्राद्धको दिनको लागि भनेर बिरालो पाल्नेलाई केही भाडा दिएर पनि बिरालो ल्याउनुपर्ने र बाँध्नैपर्ने भयो । यो कथा त विश्वब्यापी हुनुपर्ने थियो । मुसाको जगजगीले गर्दा पहिला बिरालोले मुसा मार्ने हुँदा पाल्नैपर्ने थियो । बिरालोले पवित्र बस्तु अपवित्र गर्ने हुँदा श्राद्धमा त्यसलाई बाँध्नैपर्ने हुन्छ । मुसा मार्ने ट्यापको सहज ब्यवस्था भएपछि धेरैले बिरालो पाल्न छोडे । बिरालो पाल्नेका छोरानातिले बाबुले श्राद्धमा बिरालो बाँधेको देखेका थिए । श्राद्ध गरिन्जेल बिरालो नबाँध्ने हो भने भगवान रिसाउँछन् भन्ने डर पनि छ र अरुलाई भन्दा परम्परालाई जीवित राखिदिएको जस्तो पनि भयो । परम्परा जोगाउन श्राद्धमा बिरालो बाँध्ने परम्परा पुर्खाको सम्मानमा परिणत भयो । हरेक ब्यक्ति अर्थात् ९९.९९ प्रतिशत मानिसहरू परम्परा र पहिला घोकाइएका विचार/धर्मले थिचिएका हुन्छन् र, त्यसैमा धेरै थोरै वा धेरै वा धेरै विषयमा अभ्यस्त हुन्छन् । यो क्रम अझै बढ्दो छ । अझै भौतिकवादीहरू त नजानेर नै भौतिकवाद ठिक हो भनेर पछि लागेका छन् र भौतिकवादी हुनु विद्वान् हो भन्ने भ्रममा छन् । त्यही कारणले मानिस कपडाभित्र नाङ्गै हुन्छ भनिन्छ ।

कम्युनिष्ट साहित्य (?)मा कम्युनिष्ट विचार सबैभन्दा राम्रो हो र अरु विचार तथा धर्मलाई निषेध गर्नुपर्छ भन्ने गरिएको जानकारी दिने गरिएको छ । केही धर्म पनि त्यस्तै छन् । निषेध होइन भन्दै केही विद्धान् भनिनेहरू कपडा लगाएको देखाउन चाँहदा समाज विकासको क्रममा अरु परम्परावादी विचारहरू स्वतः लोप हुँदै जान्छ भन्ने त्यसको तात्पर्य हो भन्ने गर्छन् । कतिपय लेख र साहित्य तथा माओका भाषणमा समेत चीनमा माओ आफैले बहुदलीय ब्यवस्था राम्रो हो भनेका उदाहरण दिन्छन् । माओका समर्थकहरूले उनको भनाइलाई समर्थन गर्नु र कुनै एउटा कम्युनिष्ट पन्थले मान्नु नराम्रो पनि होइन र, उनैको विचार मान्ने अर्को पन्थकाहरूले फरक विचारकालाई अस्विकार गरेका र मारेका धेरै घटना पनि छन् ।

चीनमा तिनै माओका भनाइ पूरा गर्न अहिले पनि बहुदलीय ब्यवस्था छ तर त्यहाँ लोकतन्त्र छैन भनिन्छ । लोकतन्त्र पद्धतिमा हुन्छ र मानसिकतामा पनि हुन्छ, त्यो न्यायाधीशमा पनि हुन्छ र राजनीतिज्ञमा पनि हुन्छ, हुन सक्छ र नहुन पनि सक्छ । पद्धति भन्दा मानसिकता कम महत्वपुर्ण छैन ।

लोकतन्त्रमा शान्तिपूर्ण राजनीति गर्ने सबै दल, विचार र ब्यक्तिको समान हैसियत र अधिकार निहीत हुन्छ भन्ने सुनेको पनि हो । लोकतन्त्र ‘मेरो कुरा मानेन, देखाइदिन्छु’ भन्नेमा आधारित हुँदैन । अदालती लोकतन्त्रको सम्बन्धमा कानुन पत्रिकामा पहिला लगातार लेखिन्थ्यो- निन्दा गरोस् वा प्रशंसा, लक्ष्मी आउन् वा जाउन् (यसलाई अचेल घुस पनि भने हुन्छ कि ?) आजै मर्न परोस् वा कालान्तरमा, यी कुनै कुराको कत्ति पनि चिन्ता नराखी न्याय दिने थीर पुरुषार्थी (विद्धान् विदुषी)हरू न्याय (पार्टीको विचारमा आधारित न्याय भन्न खोजेको होइन जस्तो लाग्छ)को बाटोबाट हिँडिरहन्छन्, कित्ति पनि विचलित हुँदैनन् ।

पढाइको सिलसिलामा धेरैले थाहा पाउनुभएको होला कि अमुक देशमा धेरै दलहरू खोल्न पाइन्छन् तर ती अरु दलहरूले देशको कम्युनिष्ट राजनैतिक विचारविरुद्ध काम गर्न पाउँदैनन् । यस सम्बन्धमा नेपाल जस्ता देशहरूमा अब क्रिष्टो कम्युनिष्ट र क्रिष्टो लोकतन्त्रवादी भन्ने नयाँ शब्दको खोजी हुन आवश्यक देखिन थालेको छ । क्रिष्टो क्रिस्चियन भन्ने शब्दको प्रयोग आफू क्रिस्चियन हुने तर समाजमा भ्रम दिन तथा समाजका अरु मानिसबाट फाइदा लिएर क्रिस्चियन धर्मको प्रचार गर्नको लागि परम्परागत धर्म नै मानेको छु भन्ने भ्रम दिनको लागि काम गर्ने क्रिस्चियनहरूको लागि प्रयोग हुँदोरहेछ । ती ब्यक्तिहरू आफू त्यहीँको परम्परागत धर्ममा रहेको तर यो धर्म हामीहरूको वास्तविक धर्म होइन, यसले न्याय पनि दिँदैन, अरुको धर्म हो, राम्रो त क्रिस्चियन धर्म नै हो तैपनि मलाई पनि मानिरहेकोले यो धर्म छोडौँ जस्तो लाग्दैन भनेर अरुलाई भड्काउने, आपसमा विवाद ल्याउने कार्य गर्छन् भन्ने आरोप लाग्ने गरेको छ ।

एक मित्रले आरोप लगाउँदै थिए कि लोकतन्त्र भनेको खसीको टाउको राखेर कुकुरको मासु बेच्ने स्थान हो भन्ने प्रमाणित गर्न कम्युनिष्टहरूले अरुले नराखेपछि आफूहरूले नै खसीको टाउको राखेर कुुकुरको मासु बेच्दैछन् । मलाई पनि लाग्दैछ पुराना कम्युनिष्टहरूले कुकुरको मासु खसीको मासुभन्दा पनि राम्रो मान्नेहरूको किन अपमान गरेका होलान् ? सञ्चारको राम्रो विकास नभएकोले उनीहरूलाई कुकुरको मासु राम्रो मान्नेहरू पनि छन् भन्ने थाहा थिएन होला । त्यसैले मैले आफूलाई संसारको साह्रै ठुलो मात्र नभइ सबैभन्दा ठुलो विद्धान् भन्ने महसूस गर्न थालेको छु । किनकि विद्धान् हुनु भनेको सत्यको ज्ञान पनि हो र मलाई यो सत्यको राम्रोसँग ज्ञान छ कि मेरो ज्ञान यो ब्रम्हाण्डबारेको ज्ञानको हिसाबमा नेग्लिजेवल भन्दा पनि धेरै-धेरै कम छ र, त्यो सत्यमा म प्रष्ट छु । मेरो ज्ञानको बारेमा मलाई प्रष्ट भएकोले यसमा म विद्धान् हुँ ।

मानिस बानीको कति विवश शिकार हुन्छ हँ ? नेपालका केही साथीहरू विश्वको कुनै कुनामा पुगेछन् । साह्रै मिठोसँग चाउमिन खाएछन् । यति मिठो थियो कि उनीहरूले त्यो चाउचाउ बनाउने प्रविधिको बारेमा जान्न चाहेछन् । त्यो खाएको करिव ३ घन्टापछि थाहा भएछ कि त्यो चाउचाउ त फर्ममा तयार पारेका गँड्यौलाको पो रहेछ । उनीहरूलाई वमिट भएर आन्द्रा नै मुखबाट निस्केला जस्तो भएछ । गलत कुरा खुवाएकोमा चित्त दुखाउँदा त्यो एकदम हाइजनिक भएको बताउँदा पनि उनीहरूको मन मानेनछ । त्यहीको एक जना मानिसले नेपालको बारेमा थाहा पाएको रहेछ । उसले भनेछ कि तपाईंहरू त मानिसको फोहोरमा नै बाँच्ने लोकल छाडा कुखुरा र सुंगुरलाई त साह्रै टेस्टी मानेर खानुहुन्छ त ? नेपालीहरूलाई उनीहरूको कुरा सुनेर रिस त उठ्यो तर बोल्न सकेनन् । नेपाल आएपछि मात्र केहीको बुद्धि खुलेछ तर गँड्यौला खान भने सकेनछन् । अझै विचारको बानी राष्ट्रपति, प्रधानसेनापति, न्यायाधीश आदि हुँदा पनि जान सक्दैन ।

परिवर्तनको नियममात्र अपरिवर्तित छ भन्नेहरू त्यही मन्त्र जपेर बिराले तथा कुकरटाउके परम्पराहरूलाई अलग्गै किसिमले पछ्याइरहेका त छैनन् ? भन्ने एउटा गर्ने अर्को त भएको छैन ? त्यो पनि राम्रोको लागि भएको भए त ठिकै हुन्थ्यो । महाभारत युद्धमा भीष्म पितामहको मन पाण्डवको पक्षमा थियो तर उनी कौरवको पक्षवाट लडेका थिए । अर्का महासेनानी कौरवको पक्षबाट लड्न बाध्य भए तर उनको मनमा पाण्डवको माया थियो ।

संसारको कुनै देशमा न्यायालयले संसद् पुनःस्थापना गरिदियो, कसैलाई प्रधानमन्त्री पनि बनाइदियो होला । कतिपयले आरोप लगाए कि न्यायालयले लोकतान्त्रिक पद्धति र मर्मविपरीत कार्यपालिका र ब्यवस्थापिकामा धावा बोल्यो । मैले भने त्यस्तो त मलाई लाग्दैन बरु ब्यवस्थापिका चलाउने दलका नेताहरूले न्यायालयमा धावा बोले । कतिपय देशमा न्यायधीश नियुक्ति गर्दा दलको हैसियतको आधारमा पदको बाँडचुँड हुन्छ र दलका सबैभन्दा पहुँच भएका हनुमान वा गणेशहरूले न्युनतम योग्यता पुगेको आधारमा न्यायाधीश पद पाउने गर्छन् । ती हनुमानहरूले आफूलाई त्यो पदमा पुऱ्याउने दलका नेताको आदेश नमाने के गर्ने ? नपाउने पद पाएकोले त्यो पद दिनेले केही सोचेर नै दिएको होला नि, उसको इच्छा पूरा गर्न परेन ? यो आदेश मान्दा कहिले न्यायालयले अन्यत्र हस्तक्षेप गरेको जस्तो देखिन्छ र कहिले अन्यबाट न्यायालयमा हस्तक्षेप गरेको जस्तो देखिन्छ । कतिपय देशमा दलिय गणित, तालमेल, प्रत्यक्ष निर्वाचन, समानुपातिक, राष्ट्रियसभामा हुनेभन्दा न्यायालयमा भिन्न तरिकाले सबैले नबुझ्ने गरेर छानिने गरेको मात्र हो ।

मेरो घाँटी काटिएको छ र म महाभारतको युद्ध हेरिरहेको छु । बर्बरीकको टाउकोले महाभारतको युद्ध हेरिरहेका थिए । महाभारतको युद्धपछि युधिष्ठिर, भीम, अर्जुन, सहदेव, नहकुलबीच युद्ध आफूले गर्दा नै जितेको भन्ने विषयमा विवाद भएछ । उनीहरू सत्य बताउनको लागि कृष्ण भएको स्थानमा पुगेछन् । कृष्णले बर्बरीकले सबै देखेको छ भनेर बर्बरीकको टाउको भएको ठाउँमा लगेछन् । उनले सोधेछन् कि युद्ध पाँच जनामध्ये कसले गर्दा यो युद्ध जितेको हो ? बर्बरीकले भनेछन्- यी कसैलाई पनि म चिन्दिनँ, युद्धमा त कृष्णको सुदर्शन चक्रले मानिसको टाउको काटिरहेको थियो र द्रौपदीले महाकालीको रूपमा रगत जमिनमा खस्न नै नदिइ पिइरहेकी थिइन् । पाँचै जना वाल्ल परेछन् ।

त्यस्तै त हो, नैतिकता र लोकतन्त्र मनमा नभएका नेताहरू भएको र, जनतामा लोकतन्त्रको भावना राम्रो विकसित नभएको देशमा दलका हनुमानहरू अमुक पदमा पुग्छन् तर जुन पदमा पुगे पनि दलका नेताहरूको आज्ञा पालन गर्छन्, भलै नेताहरूले पनि अरुको आदेश मानेका किन नहुन् ।

नेपालमा पनि कुनै पनि निकायमा ठुलो पदमा काम गरेकाहरू नै किन नहुन् उनीहरू रहेका निकाय वा आयोग वा संवैधानिक निकायहरूमा दलीय प्रभाव नभएको अवस्था अत्यन्त न्युन छ । अब रवि लामिछानेहरूले नागरिकता लिनेछन् । उपचुनावमा अत्यधिक बहुमतले जित्नेछन् । देशमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा एक अर्ब भन्दा बढी खर्च हुनेछ । परिणाम उही नै केवल पैसा, कागज र मसी खर्च भएको छ भन्नेहरू पनि देखिएका छन् ।

अन्त्यमा, नेपालको संविधानको धारा १३ मा नागरिकताको पुनः प्राप्ति सङ्घीय कानुनअनुसार हुनेछ भन्ने उल्लेख छ र नेपालको नागरिकतासम्बन्धी ऐन २०६३ को दफा ११ मा नेपालीले विदेशको नागरिकता लिएकोमा सो नागरिकता त्यागेको र नेपालमा बसेकोमा सो निस्सा दिएमा निजको नेपालको नागरिकता पुनः कायम हुनेछ भन्ने लेखेको छ । पुनः कायम हुने र प्राप्त हुने शब्द फरक हुन् । पुनः नयाँ नागरितकता लिने होइन पहिलाको नै कायम हुने हो भन्ने अर्थ लगाउनुपर्ने हुन्छ । रवि लामिछाने त्यहाँको नागरिकता त्यागेपछि स्वतः नेपालको नागरिक भएकोमा कुनै विवाद छैन । नयाँ नागरिकता लिनुपर्ने भन्ने उल्लेख छैन केवल जानकारी दिएपछि कायम हुने हो । रविले अपराध नै त गरेका छैनन् । उनले त्यहाँको नागरिकता त्यागेर उक्त जानकारी निर्वाचन आयोगलाई समेत भएपछि कानुनअनुसार म स्वतः नेपालको नागरिक भएको सम्झन नपाउने कुनै कानुन होला ?