अब चुनावमा भाग लिन पाउने छुट कानूनले देला ?

अब चुनावमा भाग लिन पाउने छुट कानूनले देला ?


राज्यका हरेक अङ्गले गर्नुपर्ने काम जब एक्लै एउटा ब्यक्तिले हिन्दी सिनेमा ‘नायक’का हिरोले झैँ स्टण्ट शैलीमा गर्न खोज्छ भने उसको गैरकानूनी नियत र व्यवहार त्यहीँ छचल्किन थाल्छ । निवर्तमान गृहमन्त्रीको प्रस्तुति आक्रामक, स्टन्टबाजमा आधारित, केही गर्ने भन्दा पनि केही गरेको देखाउने शैलीको रह्यो ।

देवप्रकाश त्रिपाठी

मैले बुझेसम्म नागरिकता सम्बन्धमा संबैधानिक अदालतले माघ १३ गते शुक्रवार निवर्तमान गृहमन्त्रीको विषयमा गरेको निर्णयले गैरआवाशीय नेपालीको माग र हितलाई असर गर्दैन । यस प्रकरणमा हामीले केही तथ्यगत आधारमा विषयलाई बुझ्नु उचित देखिएकोले यहाँ बुदागत रूपमा केही तथ्यहरू प्रस्तुत गरिएका छन् ।

१) साधारण नागरिक जो निजी जिन्दगी बिताउन चाहन्छन्, उनिहरू र राज्यको दायित्व लिएका या लिन खोज्ने सार्वजनिक ब्यक्तिलाई एउटै दृष्टिले हेरिन्न । देश सफा गर्न तयार हुने ब्यक्ति पहिले आफै सफा भएर, आफ्ना विगतका त्रुटीप्रति आत्मालोचना गर्दै कठोर प्रतिबद्धतासहित शालिनतापूर्वक प्रस्तुत हुन सक्नुपर्छ ।

२) नेपालमा रोजगारी नमिलेर या योग्यताको कदर नभएर या अन्य त्यस्तै कारणले देश छोड्न बाध्य लाखौँ नेपाली छन् । तर तीमध्ये केहीले मात्र अर्को देशको नागरिकता लिएका छन्, अधिकाङ्शले वर्क पर्मिट, ग्रीन कार्ड या पीआर लिएर काम चलाएका छन् । जसले विदेशको नागरिकता लिएका छन् त्यो तिनको ब्यक्तिगत अधिकारको कुरा हो । नागरिकता विदेशको लिएपनि तिनको राष्ट्रियता नेपाली नै हुन्छ । नागरिकता नरहेपनि राष्ट्रियता कहिल्यै खोसिन्न, खोसिन सक्दैन । एनआरएनले ‘एकपटकको नेपाली सधैको नेपाली’ भन्ने जुन नारा बनाएको छ त्यसको सान्दर्भिकता पनि यहीँनेर छ । एकपटकको नेपाली नागरिक सधैंको नागरिक भन्ने नारा एनआरएनले बनाएको छैन र, बनाउने प्रयास पनि सम्भवतः गर्नेछैन ।

३) विदेशको नागरिकता लिइसकेपछि सम्बन्धित देशकै संविधान, कानून र नीति–नियमको पालना इमान्दारीका साथ गर्नुपर्ने हुन्छ । त्यस्ता व्यक्तिले विदेशको नागरिकता त्यागेर नेपालको नागरिकता लिन चाहेमा एउटा कानूनी प्रक्रिया अनिवार्य रूपले पूरा गर्नुपर्ने हुन्छ । निजी जिन्दगी बिताउन मात्र पनि त्यसरी कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ भने सार्वजनिक जिम्मेवारी लिन चाहनेले कानूनलाई हेप्ने, छल्ने या अवज्ञा गर्ने भन्ने कुरा कल्पना पनि गरिँदैन । आफूले सम्बन्ध विच्छेद गरेकी महिलासँग पुनः जोडिनुपरेको अवस्थामा त एउटा कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ भने नागरिकता जस्तो सम्बेदनशील विषयलाई हल्का ढङ्गले लिन सकिँदैन ।

४) अमेरिकी या कुनै अन्य मुलुकको नागरिकता र पासपोर्टमा नेपाल आइसकेपछि नेपालमै बस्ने र स्वदेशमै केही गर्ने योजना र इच्छा भएमा तिनले सबैभन्दा पहिले कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । अर्कै देशको नागरिकता र पासपोर्ट गुप्त पकेटमा बोकेर नेपालको मन्त्री–सन्त्री आदि बन्न खोज्नुलाई अपराध नमानेर महान् कर्म मान्ने सुबिधा नेपालको कानूनले दिएको छैन । यदि सामान्य नैतिकता भएका इमान्दार ब्यक्ति हुन्थे भने पेटको लागि देश त्यागेपनि नागरिकता त्याग्दैनथे, खास अवस्थामा त्याग्नुपरेको भएपनि प्रक्रिया पु¥याएर पुनः नेपाली नागरिक बन्थे र, फर्किएपछि आफ्नै देशको कानूनको अवज्ञा गर्दैनथे ! अमेरिकामा बसोबास गरेका मानिस त कानूनप्रति झन् संवेदनशील हुन्छन् भन्ने बुझिन्छ ।

५) यिनले अमेरिकी नागरिकता त्यागेको निस्सा अदालतले प्राप्त गर्न सकेन, बरु अमेरिकाको नागरिकता जीवित रहेको र अमेरिकी पासपोर्ट समेत भएकै अवस्थामा परित्याग भइसकेको नेपाली नागरिकताको पुरानो प्रतिलिपीका आधारमा नेपालको समेत राहदानी लिएको प्रमाण अदालतले फेला पा¥यो । एउटा व्यक्ति दुई देशको नागरिकता र पासपोर्ट बोकेर हिँड्छ भने त्यसलाई नेपालको कानूनले गम्भीर अपराधका रूपमा लिएको छ । यसअघि चार्ल्स सोभराज नामक ब्यक्तिले पनि यसरी नै अनेक देशको नागरिकता र पासपोर्ट बोकेर हिँड्ने गरेको सुनिन्थ्यो । संवैधानिक अदालतका पाँच न्यायाधीशमध्ये दुईले निकै जोडतोडका साथ यस प्रकरणमा सम्बन्धित ब्यक्तिलाई उन्मूक्तिको प्रयास नगरेका होइनन् । तर अमेरिकी नागरिकता त्यागेको निस्सा ल्याउन नसकेको, त्यस अर्थमा उनको अमेरिकी नागरिकता अहिलेसम्म जीवित रहेको, नेपाली नागरिकता पुनः प्राप्तिको कानूनी प्रक्रिया सुरु नै नगरेको, अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्टसमेत लिएर एकसाथ आवश्यकता अनुसार प्रयोग उपयोग गर्ने गरेको र राष्ट्र सेवाको निम्ति झुठो विवरण पेस गरि राज्यलाई झुक्क्याएको प्रमाणित भएपछि अन्ततः ती दुई न्यायाधीश समेत कानून बमोजिम कारवाहीको प्रक्रियामा जान सहमत भएका थिए ।

अमेरिका र नेपाल त दुई देश भए, नेपालभित्रै कसैले दुई जिल्लाको नागरिकता र त्यस आधारमा बनेका दुई पासपोर्ट प्रयोग गरिरहेको छ भने त्यसलाई अपराध मानिन्छ र कानूनी कारवाहीको दायरामा ल्याइन्छ । अदालतको निर्णयबाट सम्बन्धित ब्यक्ति अनागरिक हुन पुगेको देखिन्न, बरु अमेरिकी नागरिक नै रहिरहेको पुष्टि भएको छ । अब उनिमाथि राज्यद्रोह, राज्यलाई झुक्क्याएर ठगी गरेको, दोहोरो राहदानी लिनेजस्तो गैरकानूनी कार्य गरेको जस्ता विषयमा मुद्दा चल्नसक्ने देखिन्छ । अमेरिकी नागरिकता त्यागेको निस्सा नआएसम्म नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया सुरु हुनेछैन र, नागरिकता नभै मतदाता नामावलीमा नाम समावेस हुन सम्भव छैन । त्यसैले आगामी उप निर्वाचनमा सम्बन्धित ब्यक्तिले पुनः उम्मेदवारी दिन सक्ने सम्भावना देखिन्न । उम्मेदवारी दिनका निम्ति मतदाता नामावलीमा नाम हुनुपर्ने अनिवार्य ब्यवस्था कानूनले गरेको छ ।

६) नागरिकतासम्बन्धी ऐन २०६३ ले पुनः कायम नभएको नागरिकता प्रयोगलाई दण्डमा समावेस गरेको छैन । तर अपराध संहिता २०७४ को दफा २४९(२) ले भने जनतालाई धोखा दिइ, झुक्क्याइ, पुनः कायम नभएको नागरिकताको आडमा बेइमानीपूर्वक आफ्नो दर्जा (नेपाली नागरिक) ढाँटी सार्वजनिक सेवा–सुविधा लिइ हानी पु¥याएको अवस्थामा (३) ख अनुसार सजाय हुने स्पष्ट गरेको छ ।

७) त्यस्तै, राष्ट्रसेवकको ओहोदा प्राप्त गर्ने उद्देश्यले पुनः कायम हुन नसकेको झुठो नागरिकता पेस गरेकोले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ अनुसारको कसुरमा ६ महिनादेखि एक वर्ष कैद र १०–२० हजारसम्म जरिवाना हुने ब्यवस्था गरेको छ ।

८) त्यसैगरी पुनः कायम नभएको झुट्टा नागरिकताको आधारमा राहदानी लिएको अवस्थालाई पनि नेपालको कानूनले दण्डनीय मानेको छ । राहदानी ऐन २०७६ को दफा २१ ( क ) मा ‘झुट्टा विवरण दिइ राहदानी या यात्रा अनुमति लिएमा दफा २२(१) बमोजिम दुई देखि पाँच लाख जरिवाना र एक देखि तीन वर्ष कैद या दुवै सजाय हुने’ ब्यवस्था गरिएको छ ।

निवर्तमान गृहमन्त्रीले यहाँ उल्लेख भएका सबै कानूनको उल्लङ्घन गरेको देखिने हुँदा उनिमाथि कानूनी कारवाहीको लागि संवैधानिक अदालतले ढोका खोलिदिएको छ । उपरोक्त कानूनबमोजिम सजाय पाएमा यस्ता ब्यक्तिले आजन्म चुनावमा भाग लिन पाउने छैनन् । एक समयको काङ्ग्रेसका होनहार नेता जयप्रकाश गुप्ता आनन्दले योग्यता क्षमता भएर पनि कानूनले डामेका कारण अहिले जसरी सप्तरीको आफ्नो घरखेतमा सीमित भएर बस्नुपरेको छ त्यस्तै नियति यिनले र अरूले पनि भोग्नुपर्ने सम्भावना जहिले पनि रहन्छ । जबकि जयप्रकाशजीको मुद्दामा अहिलेको झैँ ऐना जस्तै छर्लङ्ग अपराध देखिने कुनै घटना या कार्य भएको थिएन, बलजफ्ती आम्दानी कम र आर्जन बढी देखाएर कारवाहीको दायरामा ल्याइएको थियो । अहिले कसैले बचाउन या दबाउन या अरू केही गर्न चाहे पनि कानून छलेर जान सकिने स्थिति देखिन्न । त्यसैले भावाबेसमा उफ्रिपाफ्री गर्नु गराउनु भन्दा कानूनको मर्यादा राख्नु हामी सबै नेपालीको कर्तब्य बनेको छ ।

९) सञ्चारकर्ममा रहँदा पत्रकारिताको आधारभूत मूल्य मान्यता र मर्यादा तोड्ने ब्यक्तिले न्यायालय, प्रहरी, अख्तियार, विशेष प्रहरी र कार्यकारी निकायले गर्नुपर्ने काम समेत सन्चारकर्मको नाममा आफै गर्न खोज्थे । पत्रकारिताको सीमा र मर्यादा नबुझ्नेहरू उनको कामलाई हेरेर प्रशम्सा गर्थे र पत्रकारहरू चाहिँ लज्जाबोध । टेलिभिजनकै पर्दाबाट कसैको नाकको डाँडी भाँच्ने उद्घोष भएको क्षण यो पङ्क्तिकारलाई पत्रकार भनेर चिनिनु परेकोमा ग्लानिबोध भएको थियो । राज्यका हरेक अङ्गले गर्नुपर्ने काम जब एक्लै एउटा ब्यक्तिले हिन्दी सिनेमा ‘नायक’का हिरोले झैँ स्टण्ट शैलीमा गर्न खोज्छ भने उसको गैरकानूनी नियत र व्यवहार त्यहीँ छचल्किन थाल्छ । निवर्तमान गृहमन्त्रीको प्रस्तुति आक्रामक, स्टन्टबाजमा आधारित, केही गर्ने भन्दा पनि केही गरेको देखाउने शैलीको रह्यो । कानूनलाई समेत हेप्नु र अटेरी गर्नुको परिणाम सम्बद्ध ब्यक्तिले भोगेका छन । यस घटनाले हामी सबैलाई पाठ सिकाओस्, जय मातृभूमि !