जब कानुन ब्युँझिन्छ, अनि गैह्रकानुनी बजारमा भुकम्प जान्छ : डिल्ली अम्माई

जब कानुन ब्युँझिन्छ, अनि गैह्रकानुनी बजारमा भुकम्प जान्छ : डिल्ली अम्माई


पूर्वसञ्चारकर्मी तथा निवर्तमान गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको फैसलापछि प्रवासको नेपाली समाजमा तरङ्ग पैदा भएको छ । यस प्रकरणबाट आगामी दिनमा कस्तो प्रभाव पर्ला भन्ने सम्बन्धमा चौतर्फी जिज्ञासा जागृत भएको छ । यसबारे बेल्जियममा रहेका पत्रकार डिल्ली अम्माईसँग गरिएको फोन सम्वाद प्रस्तुत गरिएको छ ।

० डिल्लीजी, रवि लामिछानेको नागरिकतासम्बन्धी सर्वोच्चको फैसलाले प्रवासमा कस्तो प्रभाव पारेको छ ?
– अवश्य पनि प्रवास यतिबेला भावुक भएको छ । मुख्य कुरा सम्पति सुरक्षाको चिन्ता विदेशको नागरिकता लिएका नेपालीहरूमा हुने नै भयो । अनि नागरिकतामा गैरआवाशीय नेपालीको नागरिकताको प्रश्नको अहिलेसम्म सम्बोधन भएको छैन । सबैको पुर्ख्यौली सम्पति नेपालमै छ । कमाएकाहरूले पनि नेपालमा नै लगानी गरेका छन् । अनभिज्ञता र आत्मविश्वासले पनि हुन सक्छ धेरैले पुरानो नागरिकता प्रयोग गरेका छन् ।

नेपाली डायस्पोरामा तीन किसिमका नेपालीहरू छन् र चिन्ता पनि तीन किसिमका नै हुने भए । संचारकर्ममा रहँदा रविले मानवीय उद्दारलाई पहिलो प्राथमिकता दिएर भुइँमान्छेको मुद्धालाई माथि उठाएकै हुन् । त्यही कारण धेरै प्रवासी नेपालीहरूले पूर्वसंचारकर्मी रवि लामिछानेको राजनैतिक आगमनलाई एक आशाको रुपमा हेरेका थिए । कतिपयले नेपालमा स्वतन्त्र पार्टीको आकस्मिक आगमनलाई देशको भाग्यसँग जोडेर हेरेका थिए । ऊनिहरूको आशा रविजीको विधि र कानुनको शासनको नाराले अत्यन्त प्रभावित थियो । त्यसैले उहाँको विजयलाई उनीहरूले आफ्नो मुक्तिसँग जोडेर हेरेका थिए । यो फैसलाले कानुनी भाषा नबुझ्ने प्रवासीहरूको आशामा प्रहार गरेको जस्तो देखियो नि ।

त्यस्तै, अर्को एक तप्का जसले उतैको नागरिकता लिएर प्रवासमा बसेको छ, त्यो तप्कालाई सर्वोच्चको फैसलापछि रविजीको माया वा उहाँप्रतिको सद्भावले भन्दा पनि आफ्नै ब्यक्तिगत कारणले तरंगित बनाएको छ । त्यसको पहिलो कारण हो- उताको नागरिकता वा ग्रिनकार्ड लिएपछि कानुनी रूपले निस्क्रिय भइसकेको नेपाली नागरिकताबाट नेपालमा गरिएको कारोबार । त्यो कारोबार जमिन खरिद बिक्री, नामसारी पनि हुन सक्छ र कम्पनीका सेयर वा बैंकको लोनसम्बन्धी कारोबारको हकमा पनि हुन सक्छ । कारोबार जुनसुकै प्रकृतिको भएपनि कानुनतः पहिलाको नेपाली नागरिकतामार्फत त गर्न पाइँदैन । त्यस अर्थमा त्यो कारोबार गह्रकानुनी हुन्छ । सम्पति सुरक्षा चिन्ताले त्यसरी कारोबार गर्नेहरू तरंगित मात्रै हैन भाबुक बनेका छन् । त्यो जमातमा एक प्रकारको रुवाबासी चलेको छ ।

० त्यसरी गैह्रकानुनी रूपले स्पायर भइसकेको नागरिकता प्रयोग गर्ने नेपाली मुलका प्रवासीहरू कति होलान् ?
– यकिन रूपले भन्न त सकिन्न, तर मेरो अनुमानमा त्यो संख्या गैह्रआवासीय कार्डमार्फत कारोबार गर्नेहरू भन्दा धेरै छ । त्यसरी कारोबार गर्नेमा नेपाली मूलका विदेशीमध्ये ६०/७० प्रतिशत भन्दा बढी नै होला । नेपाली राजदूतावास वा परराष्ट्र मन्त्रालयले प्रदान गर्ने गैह्रआवासीय कार्डमार्फत नेपाली मुलका विदेशीहरूले नेपालमा लगानी गर्ने, जमिन किनबेच गर्ने वा ब्यापार-ब्यावसाय गर्न पाइन्छ । खाली राजनैतिक र निजामति बाहेक एक हद तोकेर गैह्रआवासीय नेपालीलाई सरकारले बसोबाससहित कारोबारको सहुलियत दिएको छ । तर त्यसरी कानुनसम्मत तरिकाले लगानी गर्नेहरूको संख्या अत्यान्त न्युन नै छ जस्तो लाग्छ ।

० निष्क्रिय नागरिकाताको प्रयोग गरेर गरिएको कारोबारको अवस्था के होला त ?
– म कानुनको विद्यार्थी त हैन, तैपनि आफ्नो मुख्य प्रमाणपत्र नै गैह्रकानुनी भएको अवस्थामा त्यसको प्रयोगबाट गरिने कारोबार पनि कानुनसम्मत हुँदैन, त्यो अवस्थामा हाम्रो सम्पतिको सुरक्षा कानुनले गर्ला भन्ने लाग्दैन । त्यो कारोबार नै एक किसिमले गैह्रकानुनी भयो नि ! अब रविजीको विषयमा राहदानीको मुद्धा उठ्यो भने अर्को नजीर बन्ला । उहाँले निष्क्रिय भइसकेको नागरिकताबाट राहदानी बनाएको भन्ने कुरा सुन्नमा आएको छ । यदि त्यो कुरा साँचो हो भने त्यो मुद्दामा पनि उहाँलाई कानुनले साथ देला जस्तो लाग्दैन । तर त्यो पछिको कुरा भयो । सम्पतिमा लगानी गर्दा पनि गैह्रआवासीय कार्डबाट गऱ्यौँ भने हामी पूर्ण सुरक्षित हुन्छौँ, अन्यथा अवस्था गाह्रो हुन सक्छ । पुरानो नागरिकताको कारोबारबारे राज्यले समयसीमा तोकेर सच्चिने वा कारोबारलाई कानुनको दायरामा ल्याउने नीतिगत कदम चाल्नुपर्ने हुन्छ । अन्यथा त स्थिति नाजुक पो छ त !

० विधि र कानुनको सासनको वकालत गर्ने रविजीले किन अमेरिकी दूतावासबाट अमेरिकी नागरिकता त्यागेको निस्सा लिएर पनि सम्बन्धित निकायलाई नबुझाइ बस्नु भएको होला ? तपाईंलाई के लाग्छ ?

– खै, आफैंले कानुनको पूर्ण पालना र विधिको नारालाई मुख्य बताउनुहुन्थ्यो । भ्रष्टाचारमुक्त समाज निर्माणमा विधिको शासन आवश्यक रहेकोले हामीले स-साना कुरालाई पनि ध्यान दिनुपर्छ भनेर भाषण गर्नुहुन्थ्यो । उहाँले निस्सा जिल्ला नागरिक फाँट वा सिडियोलाई बुझाएर नेपाली नागरिकता सक्रिय बनाउनुपर्थ्यो । त्यो त्यति जटिल प्रक्रिया जस्तो पनि लागेन । मलाई लाग्छ, रविजीले त्यो कुराले ‘मलाई एकदिन ढोका दिन्छ र भुइमा सुताउँछ’ भनेर कल्पनै गर्नुभएन । त्यो कानुनी प्रक्रियाबारे उहाँलाई थाह थिएन भन्ने कुरा त भएन किनकि प्रेस काउन्सिल प्रकरण पछि उहाँ त्यो विषयमा पूर्ण जानकार नै हुनुहुन्थ्यो जस्तो लाग्छ ।

नेपालमा पल पलमा निहुँ खोजिरहने, खुट्टा तानिरहने जमात त ठुलो छ नि । त्यसैले बाघको सिकारमा निस्केको सिकारीले गुलेली लिएर निस्कनुहुन्थ्यो त ? उहाँले वैचारिक, कानुनी र नैतिक बलको साथ अझ भनौँ उत्तर दायित्वपूर्ण आत्मविश्वासको साथ निस्कनु पर्थ्यो सिकार खेल्न । तर दुई गम्भीर गल्तीको कमजोर हतियार लिएर निस्कनुभयो राजनीति शिकार गर्न । नागरिकता सवाल र पासपोर्ट ठुलो अभियानमा हिँडेका यात्रीको लागि ठुला हतियार हुन् । त्यसमा त्यति ठुलो सपना देख्ने मान्छेबाट ख्यालठट्टा जस्तो भयो । जानाजान भयो वा पर्गेलेर भयो गम्भीर गल्ती त्यहीँनेर भयो ।

० गैह्रआवासीय नेपालीहरूको लागि रवि लामिछानेको नागरिकताको मुद्धाले कस्तो पाठ सिकायो ?

– ‘नपरी चेत्दैन’भन्ने उखान चरितार्थ भएन र यो केशबाट ! रविजीको सन्दर्भमा भन्नुपर्दा, शिक्षा र ज्ञान, भाषणको लागि भन्दापनि आफ्नै जीवनमा प्रयोगका लागि हुनुपर्ने हो । अन्यको सन्दर्भमा पनि दूतावास र एनआरएनएले जमानादेखि दूतावास गएर एनआरएनको कार्ड बनाउन र त्यसैबाट कारोबार गर्न भनेको भनेकै छ । स्पायर भएको नागरिकता प्रयोग गर्दा पछि समस्या आउन सक्छ है भन्दा कसैले सुनेनन् । अन्तिम अवस्थामा रुवाबासी गरेर के हुन्छ ! दोहोरो नागरिकता त संविधानले कल्पना गरेकै छैन, बरु गैह्रआवासीय नागरिकताको कुरा हो । त्यो पनि कानुन बनेपछि नागरिकता लिनुपर्ने होला, अनि लिएको मिति पछि गरेका कारोबार मात्र वैध हुने होलान् । त्यसको लागि राज्यले पनि एउटा कानुनी मापदण्ड त पक्कै बनाउला ।

त्यसैले कानुनलाई सुतेको सम्झने भुल कसैले पनि गर्नु हुँदैन, जब कानुन ब्युँझिन्छ अनि गैह्रकानुनी बजारमा भुकम्प जान्छ,सुनामी आउँछ । हेरौं त अहिले, सानो पर्गेल्याईले रविजीको त्यत्रो पद, सुशासनको नारा, पार्टीको उचाई र आफ्नो अहिलेसम्मको राजनैतिक मेहनत सब धुलिसात भयो । प्रक्रिया पुऱ्याउन सके उहाँले फेरि जित्नुहोला र पद पनि पुनः प्राप्त होला तर समयको ग्याप त कदापि भरिँदैन नि ! उहाँले सानो गल्तीको कारण ठूलो अवसर गुमाउनुभयो ।

० एक एनआरएन पत्रकारको रूपमा गैह्रआवासीय नेपालीहरूलाई के सल्लाह दिनुहुन्छ ?
– पहिलो कुरा, विदेशी नागरिक भइसकेकाहरूले नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको गैह्रआवासीय परिचय पत्रको कार्ड लिएर मात्र नेपालको कुनै पनि क्षेत्रमा लगानी गर्नुहोस् । यात्रा गर्दा पनि मिति गुज्रेको नेपाली नागरिकताको दुरुपयोग नगर्नु होस् भन्छु म । फन्दामा पर्न ठुलो मुद्धा चाहिँदैन ।

दोश्रो, रवि सरले जुन विधि, पद्धति र कानुनको पालनालाई आफ्नो नागरिक कर्तव्यको पहिलो शर्त बताउनुभएको थियो । त्यसको पालनामा इमान्दारिता देखिएन । स्वतन्त्र पार्टीको त्यस्तो महत्वपूर्ण नारालाई उहाँले आफैंबाट कमजोर बनाउनु हुन्थेन । त्यसको लागि जनताको विश्वास, उहाँका मतदाताहरूको पुनर्विश्वासको लागि जनतासँग ठुलो छाती बनाएर उहाँले माफी माग्नुपर्छ ।

केही हदसम्म उहाँको विश्वास हामी गैह्रआवासीय नेपालीसँग पनि जोडिएको छ । गैह्रआबासीयहरूको पीडा उहाँले भोगेको आफ्नै पीडा हो । त्यसैले धेरै गैह्रआवासीय नेपालीहरूको उहाँसँग आत्मिक सम्बन्ध पनि छ जस्तो लाग्छ । तर त्यो माया कानुनले त चिन्दै न नि । त्यो त भावना मात्र हो ।

तेश्रो, जुन कुराको सहारामा राजनीतिमा उभिनुभयो त्यसलाई नभुल्नुस् र पुनः त्यही जगबाट उभिएर राजनीतिमा आउनुहोस् । अरु के भन्नु र खै ! मेरो कामना छ, तपाईंले निष्क्रिय नागरिकताको प्रयोग गरेर बनाएको राहदानीको अर्को झमेला न बल्झियोस्, किनकि तपाइलाईं चाहने मान्छे धेरै छन् तर तपाईंलाई नचाहने मान्छे थोरै भएपनि खतरनाक छन् । रवि सर, यो कुराको सदैव हेक्का राख्नुहोला ! ती भयानक मान्छेले सानो गल्तीमा पनि मानिसको बली माग्छन् । तपाईंको राजनैतिक यात्राको शुरुवाती चरणमा नै गल्ती पर्खेर बस्ने ति मानिसहरूलाई मौका दिनुभयो । अब जे गर्छ कानुनले गर्छ । कानुनको सम्मानमा बोलेर वा त्यसको पालना गरेरमात्र आफ्नो आगामी यात्रालाई अघि बढाउनुहोला ।

० अन्तमा थप केही… ?

– छैन, भन्नुपर्ने भनिसकेँ । स्टन्टले कुनै पनि बेला धोका दिन्छ । अति महत्वकांक्षा, कानुनलाई पर्गेल्ने हठ र अति आत्मविश्वास विधिको शासन मान्छु भन्नेको लागि ‘अति’ हुन्छ । त्यसले फाइदा भन्दा पनि खति नै बढी गर्छ । घटना र विचारमार्फत मेरा कुरा सार्वजनिक गर्न पाएकोमा आभारी छु र, घटना र विचारलाई धन्यवाद दिन चाहन्छु ।