आचार्य परिवारलाई आर्थिक सहयोग संकलन कार्य तीव्र

आचार्य परिवारलाई आर्थिक सहयोग संकलन कार्य तीव्र


  • सनत आचार्य, काठमाडौं

संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई आर्थिक सहयोग गर्ने अभियानले देश-विदेशमा तीव्रता पाएको छ । यसका लागि प्रवासमा बसेका नेपालीहरूले सामाजिक संजाल र अन्य विभिन्न माध्यम प्रयोग गरी आर्थिक सहयोगका लागि याचना गरेका छन् ।

मृत आचार्यले लेखेको सुसाइट नोटमा उनले ६० लाख ऋण रहेको उल्लेख गरेका छन् ।

आचार्य परिवारलाई सहयोग गर्न अमेरिकामा सुरेशदर्पण पोखरेलले गो फण्ड मी अभियान चलाएका छन् । यस अभियानले अमेरिकाबाट १५ हजार अमेरिकी डलर आर्थिक सहयोग उठाउने लक्ष्य राखेको छ भने हालसम्म ३११ जनाबाट ९ हजार २३२ डलर संकलन भइसकेको छ ।

आचार्यकी पत्नी नानुका अधिकारी तथा उनको परिवारलाई उद्धृत गर्दै पोखरेलले आफ्नो फेसबुकमा उल्लेख गरेअनुसार २२ घण्टामै विश्वभरबाट ११ लाखको हाराहारीमा नानुकाको खातामा रहकम जम्मा भएको छ ।

त्यस्तै, अस्ट्रेलियाबाट दीपिका जम्कट्टेलले पनि यस्तै प्रकारको अभियानको शुरुवात गरेकी छिन । फेसबुकमार्फत आह्वान गरेको उनको यो अभियानले १० हजार अष्ट्रेलियन डलर उठाउने लक्ष्य राखिएकोमा हालसम्म २३३ जनाबाट ५ हजार ६३६ अष्ट्रेलियन डलर नगद सहयोग प्राप्त भएको छ ।

जमकटेलको फेसबुकमा उल्लेख भएअनुसार उनको यो अभियान आचार्यले आत्मदाह गर्नुअगाडि नै आपसी सल्लाहअनुसार भएको र, लक्ष्य पुग्नेबित्तिकै अभियान रोकेर संकलित रकम आचार्यकी पत्नीको बैङ्क खातामा जम्मा गरिने छ । उनले आफूहरूले संचालन गरेको अभियानमा आर्थिक अनियमितता नहुने र त्यसमा शंका नगर्न पनि अनुरोध गरेकी छन् ।

बेल्जियमबाट पनि आचार्य परिवारलाई सहयोग गर्ने उद्देश्यले समाजसेवी एवम् व्यवसायी लोकेन नेपाल (पुष्प नेपाल) ले फेसबुकबाट सहयोग गर्न अपिल गरेका छन् । उनको अपिलपछि १ एक हजार २८९ युरो संकलन भइसेको र स्वस्फूर्त तवरले रकम प्राप्त हुने क्रम जारी रहेको बताइएको छ ।

यसरी नेपाल र विदेशबाट समेत आचार्य परिवारलाई विभिन्न व्यक्तिले सहयोग गरेका छन् । बेलायतबाट समाजसेवी इसा माया गुरुङले आचार्य परिवारलाई एक लाख नगद सहयोग गरेकी छन् भने सुनिता गुरुङ र रमेशबाबु भट्टराईले पचास/पचास हजार उपलब्ध गराएका छन् ।

काठमाडौंमा पनि सहयोग गर्ने उद्देश्यले विभिन्न अभियान संचालन गरिएको छ ।

ज्ञातव्य छ, दिवंगत आचार्यका श्रीमती र दुई छोरी छन् ।