जर्मनीको रेलमा भएको आक्रमणमा आतङ्ककारी समूहको सम्लग्नता नदेखिएको भनाइ

जर्मनीको रेलमा भएको आक्रमणमा आतङ्ककारी समूहको सम्लग्नता नदेखिएको भनाइ


जर्मनीमा बुधबार रेलमा भएको चक्कु आक्रमणमा आतङ्कवादी उद्देश्यको कुनै सङ्केत नदेखिएको जर्मनीका अभियोजनकर्ताहरूले बिहीबार बताएका छन् ।

उक्त घटनामा दुई किशोरको मृत्यु हुनुका साथै अन्य कैयौँ यात्रु घाइते भएका थिए ।

उत्तरी शहर ह्याम्बर्ग र किएलबीचको रेलमार्गमा गुडिरहेकोे रेलमा बुधबार भएको छुरा प्रहारको आरोपमा ३३ वर्षीय प्यालेस्टिानी मूलका एक व्यक्तिलाई पक्राउ गरिएको थियो ।

स्थानीय अभियोजक कार्यालयका प्रवक्ता पिटर मुलर–राकोले एएफपीसँग भनेका छन्, “घटनामा आतङ्कवादी पृष्ठभूमिको कुनै सङ्केत प्राप्त भएको छैन । आक्रमण र संदिग्ध व्यक्तिको विगतबारे अनुसन्धान जारी रहेको छ ।”

आक्रमणमा परी एक १६ वर्षीया किशोरी र १९ वर्षीय युवकको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।

यात्रुहरूले संदिग्धलाई नियन्त्रणमा लिन मद्दत गरेका थिए । आक्रमणकारीलाई ब्रोक्सस्टेड शहरको रेलवे स्टेशनमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार कुनै निश्चित बासस्थान नभएका ती संदिग्ध हालै मात्र अर्को एक आक्रमणको मुद्दामा जेल परी रिहा भएका थिए ।