जर्मनीमा रेलयात्रुमाथि चक्कु प्रहार, दुई जनाको मृत्यु

जर्मनीमा रेलयात्रुमाथि चक्कु प्रहार, दुई जनाको मृत्यु


  • डिल्ली अम्माई

किएलबाट ह्याम्बर्ग जाँदै गरेको ट्रेनमा एक व्यक्तिले यात्रुहरूमाथि अकस्मात धारिलो हतियारबाट आक्रमण गरेका छन् । उत्तरी जर्मनीमा बुधबार दिउँसो रेलयात्राकै बीच चक्कु प्रहार हुँदा दुई जनाको मृत्यु भएको छ भने घटनामा पाँच जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ।

चक्कु प्रहारबाट मारिनेमा २० र ३५ वर्षका दुई जर्मन पुरुष रहेको प्रहरीले बताएको छ । गम्भीर घाइते भएका व्यक्ति २७ वर्षीय जर्मन हुन् । जर्मन गोपनीयता नीतिअनुसार पीडित र अपराधी कसैको पनि नाम दिइएको छैन ।

घटनापछि रेल रोकिएको ब्रोक्सस्टेड स्टेशनमा अन्दाजी २५ देखि ४० वर्ष बीचको जस्तो लाग्ने सिरियाली संदिग्ध अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अभियुक्तको पनि हातमा चोट लागेको छ । प्रहरीका अनुसार उनले आफूले आफैलाई घाइते बनाएको जस्तो देखिन्छ। उसले किन आक्रमण गरेको हो, मनसाय अझै स्पष्ट छैन। जर्मन मिडिया स्रोतका अनुसार उसलाई मानसिक समस्या भएको पनि हुनसक्छ ।

ब्रोक्सस्टेड ट्रेन स्टेशन अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ। प्रहरी र एम्बुलेन्सहरू सामूहिक रूपमा घटनास्थलमा उपस्थिति रहेको छ र सुरक्षा घेरा कडा पारिएको छ।