जापानमा चिसो हावाहुरी र हिमपात

जापानमा चिसो हावाहुरी र हिमपात


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

मंगलबार साँझबाट जापानभर चिसो हावाहुरीसँगै धेरै भागमा हिमपात भइरहेको छ । टोकियो आसपासको चिबा, गुन्मा लगायत टोकियोकै पहाडी भागहरुमा हिमपात सुरुहुँदा होक्काइदो लगायत कयौं क्षेत्रमा दैनिक जीवन मुस्किल हुनेगरि भारी हिमपात भइरहेको छ ।

वर्षकै उच्च चिसो अनि दशक यताकै न्यून तापक्रमका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । अधिकारीहरुले हिमपातका कारण रेल, सडक र हवाई उडानहरु कयौँ रद्द र ढिलो भइरहेको बताउँदै यात्रामा निस्कनुअघि मौषम र आफ्नो यात्रा गर्न लागेको क्षेत्रको अवस्थाबारे जानकारी लिन सबैमा अनुरोध गरेको छ ।

जापानको उत्तरी र पश्चिमी भेगमा भारी हिमपातका कारण अधिकारीहरुले चेतावनी नै जारी गरेका छन् भने हवाई उडानहरु रद्द भएका छन् । भारी हिमपात भएका क्षेत्रमा सडकमा हिउँ थुप्रिएर सवारी आवागमन नै ठप्प भएको छ ।

होक्काइदो र दक्षिणी जापान नजिक बनेको न्यून चापीय प्रणालीका कारण प्रशान्त महासागर तर्फको स्थानमा समेत देशका व्यापक क्षेत्रमा मंगलबार बिहानदेखि हिउँ परिरहेको जापान मौसम विभागले बताएको छ । शक्तिशाली हिउँदे दबाबका बिहीबारसम्म रहने बताइएको छ ।

तापमान पनि १० वर्षयताकै न्यून बिन्दुमा ओर्लिने बताईरहँदा ओसाका, नागोया लगायत क्षेत्रमा हिमपात सुरु भइसकेको छ भने टोकियोको मध्य क्षेत्रमा पनि बुधबार हिउँपर्ने मौषमविदहरुले बताएका छन् ।

चिसोका कारण पाइपमै पानी जम्ने र सडकहरु पनि चिप्लो हुने बताइएको छ । हिमपातका कारण जापान एयरलाइन्स कम्पनी र अल निप्पोन एयरवेजले सी अफ जापान तर्फका विमानस्थतर्फ र त्यहाँबाट आउने १२० भन्दा उडान रद्द गरेका छन् ।