नागरिकता विवादको टुङ्गो कसरी ?

नागरिकता विवादको टुङ्गो कसरी ?


स्वतन्त्र पार्टीका अध्यक्षको नागरिकता सम्बन्धी विवादको टुङ्गो कसरी लाग्ला भन्ने जिज्ञासा सर्वत्र उत्पन्न भएको छ ।

पेटका निम्ति देश छोडेर नेपाली नागरिकतासमेत त्यागेका रवि लामिछानेले अमेरिकी नागरिककै हैसियतमा नेपाल आएर सञ्चारकर्मीको रूपमा काम गरेका थिए । अमेरिकी नागरिकता भएकै बेला नेपाली पासपोर्टसमेत लिएका उनले नेपालको पुरानो नागरिकताको प्रमाणपत्र पेस गरि सरकारी निकायहरूलाई झुक्याउँदै आएका थिए । हालै सम्पन्न संसदीय निर्वाचनमा उम्मेदवारी दिने क्रममा पनि लामिछानेले सोही निष्क्रृय भएको नागरिकताको प्रतिलिपी पेस गरेका थिए ।

निर्वाचनका क्रममा उनको नागरिकताबारे विवाद आएपछि महान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ताहरू, प्रमुख दलका प्रतिनिधिहरू र सुरक्षा निकायका प्रतिनिधिसमेत बसेर व्यापक अध्ययन छलफल गर्दा रविले देशलाई ढाँटेको निष्कर्ष निकालिएको र, उनको उम्मेदवारी तत्काल खारेज गरिनुपर्ने निर्णय भएको थियो । तर चुनावको समय भएकोले खारेजीको गलत अर्थ लाग्ने भन्दै त्यसबेला चुनावपछि कानूनी कारवाही गर्नेगरि प्रक्रिया स्थगित गरिएको थियो ।

निर्वाचन आयोगले चुनावपछि रविको मुद्दा अदालतमा पठाइदियो । सर्वोच्च अदालतले आज अर्थात् माघ ११ गतेलाई रविको नागरिकता मुद्दामा पेसी तोकेको छ । अदालतले कानूनअनुसार निर्णय दिने हो भने नागरिकता प्रकरणमा रविमाथि कानूनी कारबाही हुने निश्चित मानिन्छ । तर नेपालको न्यायिक निर्णयहरूमा पश्चिमा शक्ति हाबी हुने गरेकोले कानूनबमोजिम निर्णय हुनेमा जनस्तरले आशङ्का गरेको छ ।

विदेशको नागरिकता त्यागेकै भएपनि नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया सुरु नभएकोले यतिबेला रविलाई नेपाली भन्न कानूनतः मिल्ने देखिन्न । राज्यलाई छलेर लाभ लिएबापत कानूनी कारवाही भएमा रविको सम्पूर्ण पदमात्र जानेछैन, उनले पाँच वर्ष काराबासको सजाय पनि भोग्नुपर्ने हुन्छ । तर अदालतले न्यायिक निर्णय देला या झुलाएर राख्ला या अन्यथा होला भन्ने स्पष्ट हुन अब लामो प्रतीक्षा गर्नुपर्ने छैन ।