पोर्चुगलमा पाँच हजार पाँच सय नेपाली राहदानीको पर्खाइमा, उपेक्षा गर्दै राजदूतावास

पोर्चुगलमा पाँच हजार पाँच सय नेपाली राहदानीको पर्खाइमा, उपेक्षा गर्दै राजदूतावास


  • सिएल शर्मा, लिस्वन

पोर्चुगलमा यतिबेला पाँच हजार पाँच सय जना नेपाली नयाँ राहदानी तथा नवीकरणको पर्खाइमा छन् । सरकारले यन्त्रवाचक राहदानी (एमआरपी) लाई स्थगन गरी विद्युतीय राहदानी (इ-पासपोर्ट) जारी गर्न सुरु गरेपछि पोर्चुगलमा उपरोक्त सङ्ख्यामा नेपाली समस्यामा परेका हुन् । हाल पोर्चुगलमा ३० हजार बढी नेपाली बसोबास गर्ने गरेका अनुमान छ ।

सरकारले विद्युतीय राहदानी जारी गर्न सुरु गरेपछि यन्त्रबाचक राहदानी पूर्ण रुपमा बन्द भएको छ । जसले गर्दा विदेशमा बस्ने नेपाली मारमा परेका छन् । युरोपियन मुलुक पोर्चुगलमा मात्रै तत्काल पाँच हजार पाँच सय राहदानी जारी गर्नुपर्नेछ । जहाँ एक हजारभन्दा बढी हराएको, एक हजार पाँच सयभन्दा ज्यादा म्याद नाघेको र तीन हजारभन्दा बढी केही महिनामात्रै म्याद बाँकी भएका राहदानी नवीकरण तथा नयाँ जारी गर्नुपर्नेछ ।

अहिले सबैभन्दा धेरै मार राहदानी हराएका नेपालीलाई परेको छ । एकातिर कागजी कामकाजमा अडचन पैदा भएको छ भने अर्कोतिर आवतजावतमा समस्या भएको छ । पछिल्ला केही महिनायता विभिन्न मुलुकबाट पोर्चुगल आउने अधिकांश नेपालीसँग राहदानी छैन । उनिहरूले यात्राका क्रममा बिचौलियालाई राहदानी बुझाउने, फ्याँकेर आउने कारणले गर्दा पोर्चुगलमा थप समस्या निम्तिएको हो ।

अहिले राहदानी बनाउनका लागि दैनिकजसो पोर्चुगलस्थित अवैतनिक नेपाली महावाणिज्यदूतको कार्यालयमा सयौँको संख्यामा नेपालीको भीड लाग्ने गरेको छ । उनिहरूले तत्काल राहदानी पाउनुपर्ने भन्दै कार्यालयलाई आग्रह समेत गर्दै आएका छन् । तर यसप्रति फ्रान्सस्थित नेपाली राजदूतावास भने बेखबर छ । अवैतनिक नेपाली महवाणिज्यदूत मकर हमाल र कार्यरत कर्मचारीहरूले रादूतावासलाई राहदानीको समस्याबारे जानकारी गराइरहेपनि राजदूतावासले भने बेवास्ता गर्दै आएको छ ।

‘व्यक्तिगत रूपमा र कन्सुलेटको कार्यालयको तर्फबाट महामहिम राजदूतज्यूलाई बारम्बार कुरा गरेको छु । समस्यामा परेका नेपालीलाई सहयोग गर्न दूतावास र कन्सुलेटले सहयोग गर्नुपर्ने विषयमा पनि घनिभूत रुपमा छलफल भएको छ । यसमा उहाँ सहमत पनि हुनुहुन्छ’, उनले भने- ‘अहिले पहिलो चरणमा हराएका तथा म्याद नाघेका रहादानी र दोस्रो चरणमा म्याद सकिन लागेका राहदानी नवीकरण गर्न आवश्यक छ । सहयोग र सहजिकरणका लागि कन्सुलेटको कार्यालय सदैव तयार छ ।’

त्यसो त पोर्चुगल हेर्ने जिम्मा पनि फ्रान्सस्थित नेपाली राजदूतावासलाई नै छ । तर राजदूत दीपक अधिकारी विगत एक वर्षयता एक पटक पनि पोर्चुगल आएका छैनन् । उनी उल्टै राजदूतावासमा थोरै कर्मचारी भएको भन्दै पन्छिँदै आएका छन्, जसले गर्दा पोर्चुगलमा थप समस्या पैदा भएको छ ।

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका अध्यक्ष रविन अधिकारीले रादूतावसले खासै चासो नदिएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गरेका छन् । उनले पोर्चुगलका धेरै नेपालीहरू राहदानी नभएकै कारण समस्यामा पर्दा राजदूतावासले कानमा तेल हालेर बस्नु राम्रो नभएको गुनासो गरे ।

संघकै युरोप क्षेत्रका उपसंयोजक समेत रहेका राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका निवर्तमान अध्यक्ष तिलक गैरेले राहदानी नवीकरण तथा हराएका राहदानी बनाउनुपर्ने दायित्वबाट राजदूतावास पछि हट्न नहुने बताए । उनले समस्यामा परेका नेपालीलाई राजदूत र दूतावासले तत्काल सहयोग गर्नुपर्नेमा जोड दिए । यस्तै, राजदूतावासले राहदानीजस्तो संवेदनशील विषयमा ढिलासुस्ती र गैरजिम्मेवारीपन देखाएको भन्दै नेपाली समाजका अगुवाहरूले पनि विरोध गरेका छन् ।

एकपटक ‘एमाआरपी’ जारी गर्दा समस्याको समाधान हुन्छ

तथ्याङ्ककलाई आधार मान्दा पोर्चुगलमा हराएका र तत्काल नवीकरण गर्नुपर्ने राहदानीको संख्या दुई हजार ५ सयको हाराहारीमा छ । यही अवस्थामा विद्युतीय राहदानी जारी गर्न फ्रान्सस्थित राजदूतावासलाई कम्तिमा १५ दिन लाग्छ । जबकि राजदूतावासमा भएको ‘मोबाइल किट’बाट दैनिक ५० देखि ६० वटामात्रै राहदानी जारी गर्न सकिन्छ । यही अनुपातमा काम गर्ने हो भने ५५०० थान राहदानी जारी गर्न एक महिनाभन्दा बढी समय खर्चनुपर्नेछ । यसैले पनि एकपटकको लागि सरकारले पोर्चुगलमा ‘एमआरपी’ जारी गर्दा छिटो-छरितो हुने देखिन्छ । यसो गर्दा समस्यामा परेका नेपालीलाई ठूलो राहत मिल्नेछ भने अर्कोतिर दूतावासलाई पनि सहज हुनेछ ।

सम्बन्धविच्छेद र अधिकृत वारेसनामाको समस्या पनि उस्तै

पोर्चुगलमा विगत एक बर्षयता राजदूतावासबाट कर्मचारी फर्केर पनि आएका छैनन् । यसबीचमा न राजदूत आए न अन्य कर्मचारी नै । जसले गर्दा पोर्चुगलमा सम्बन्धविच्छेद र अधिकृत वारेशनामा जस्ता समस्याको चाङ लागेको छ । अहिले पोर्चुगलमा सम्बन्धविच्छेद र अधिकृत वारेसनामाको तथ्यांक पचासभन्द माथि छ । दूतावासले यस्ता साना कामलाई प्रत्येक ३/३ महिनामा फस्र्योट गर्न सक्ने भएपनि त्यसो भने हुन नसकेको केही अगुवाहरू बताउँछन् । समस्याका बारेमा कन्सुलेटको कार्यालयले दूतावासलाई जानकारी गराउँदै आएपनि आजसम्म समाधान भने हुन सकेको छैन ।

त्यसो त कन्सुलेटको कार्यालयलाई सम्बन्धविच्छेद र अधिकृत वारेसनामाको समस्या समाधान गर्ने अधिकार छैन, जसका कारण दैनिकजसो समस्या थपिएका छन् तर सम्बोधन गर्न दूतावासले चासो देखाएको छैन ।

कन्सुलेटको कार्यालयलाई अधिकार थोरै, समस्या बढ्दै

पोर्चुगलस्थित कन्सुलेटको कार्यालयले हाल कागजात प्रमाणिकरण, विदेशी राहादानीमा भिसा, सामान्य मन्जुरीनामा लगायतका काम मात्रै गर्दै आएको छ । तर पोर्चुगलमा पछिल्ला दिनहरूमा बढ्दै गएको जनसंख्याले थप सोच्न बाध्य बनाएको छ । राहदानी नवीकरणदेखि सम्बन्धविच्छेद, अधिकृत वारेशनामा, यात्रा अनुमतिपत्र लगायतका थुप्रै सेवाहरू नागरिकलाई आवश्यक भएपनि सरकारले कन्सुलेटको कार्यालयलाई संकुचनमा राखेको छ । जसका कारण कन्सुलेटको कार्यालयले चाहेर पनि थप सेवाहरू प्रदान गर्न सकेको छैन । राजदूतावास नभएको पोर्चुगलमा सरकारले कन्सुलेटको कार्यालयलाई थप जिम्मेवारी दिएर नेपालीको कामकाजमा सहजता ल्यानुपर्नेमा एकाथरीको जोड छ ।