लोक सङ्गीतमा अर्जुनको छलाङ

लोक सङ्गीतमा अर्जुनको छलाङ


लोकगायक अर्जुन सापकोटाले लोक सङ्गीतको क्षेत्रमा छुट्टै पहिचान बनाएका छन् । उनका ‘वनकी चरी’, ‘पछ्यौरी लिसियो’, ‘फुल्यो गुराँस’, ‘दुई दुना चार’ जस्ता गीत ‘करोड क्लबमा’ पर्न सफल भएको छ । देवी घर्तीसँगको स्वरमा अर्जुनको ‘वनकी चरी’ गीत तीन वर्षअघि आफ्नो नयाँ युट्युब च्यानलमार्फत सार्वजनिक भयो । युट्युब र टिकटकमा निकै चल्यो । अर्जुन भन्छन्- ‘त्यस गीतले मलाई चिनायो ।’

‘दशैँ आयो’, ‘जन्मेकै गाउँ रोयो’, ‘सिमलैमा मैना’, ‘नगर पीर माया’, ‘पिरती नलाम माया’ गीत पनि चल्यो । यी गीतमा अर्जुनको स्वरसँगै सङ्गीत छ । समीक्षा अधिकारीसँग गाएको गीत ‘पछ्यौरी लिसियो’ चर्चित बन्यो । सङ्गीत अर्जुनकै रहेको सो गीतको भिडियोले युट्युबमा झण्डै तीन करोड बढी भ्युज पायो । राजु परियार, कमला घिमिरे लगायतसँग गाएको ‘फुल्यो गुराँस’ ले चर्चा पाएकै बेला पछि ‘दुई दुना चार’ बोलको गीत पनि ‘करोड क्लब’मा पुग्यो ।

वि.सं. २०५५ को माघ १२ मा स्याङ्जाको पेलाकोट मान्थुम्कामा जन्मिएका अर्जुन पाँच वर्षमै बुबाआमासँग नवलपुर गए । उनले विदेशमा पनि गीत गाए । स्वदेशमा पूर्वदेखि पश्चिमसम्मका थुप्रै जिल्लामा पुगेर हजारौँ स्रोता/दर्शकमाझ साङ्गीतिक प्रस्तुति दिए । अर्जुनले स्वर दिएका गीतको सङ्ख्या तीन दर्जन नाघेको छ । मोडलिङ गरेका गीतको सङ्ख्या पनि डेढ दर्जन बढी छन् ।

‘मेरो युट्युब च्यानलबाट आउने गरी पाँच गीत तयार हुँदैछन् । अरु कम्पनीको गीत पनि आउँदैछन्’, उहाँले भन्नुभयो । प्रतिभा छ र समयलाई बुझेर मेहनत गर्न सके गीत सङ्गीतमा राम्रो आम्दानी हुने उनको भनाइ छ । ‘प्रविधि बुझेर अघि बढ्न सके आम्दानी राम्रै छ ।’ ‘मेरो पारिवारिक माहोल नै सङ्गीतमय छ,’ अर्जुनको भनाइ छ । दुई महिनाअघि सार्वजनिक ‘ए ठूली’ गीतले ३३ लाखभन्दा बढी भ्युज पाइसकेको छ यूट्युबमा । .

अर्जुन गायनसँगै गीत लेख्ने, भाका बनाउने र मोडलिङमा रुचि राख्छन् । अर्जुनका बुवा मणि सापकोटा पहिल्यैदेखि गीत सिर्जना गर्ने, गाउने गर्थे । बुवाले सिर्जना गरेका गीतमा चर्चित गायक÷गायिकाले स्वर दिइसकेका छन् । अर्जुनले पनि ‘परदेशीको पीडा’ बोलको तीज गीतमार्फत बुवासँग पहिलोपटक साङ्गीतिक सहकार्य गरे । बुवाको शब्दमा छोराको स्वर, गीतले युट्युबमा राम्रो भ्युज पायो । त्यसयता बुवाले लेखेका अन्य गीतमा पनि स्वर दिएका छन् अर्जुनले ।