आफ्नै ‘सिग्नेचर स्टाइल’ बनाउने अनिताको धोको

आफ्नै ‘सिग्नेचर स्टाइल’ बनाउने अनिताको धोको


नेपालकै पहिलो क्रियटिभ ह्याट डिजाइनर हुन् अनिता खाती क्षेत्री । पाल्पाको तानसेन स्थायी घर भएकी अनिताले खेर जाने सामग्री एवम् चराका प्वाँखबाट बनाएका डिजाइनहरूबारे पारखीहरूमाझ निकै चर्चा चल्ने गर्छ । कैयन् फेसन शोमा उनका डिजाइनहरू प्रस्तुत भइसकेका छन् भने फेसनमा नयाँपन दिनुमा बेग्लै आनन्द रहेको उनको भनाइ छ । फेसन भनेको फगत लुगाको डिजाइन मात्र होइन, यसका लागि विशेष चेतको आवश्यकता पर्छ भन्ने उनको तर्क छ । काठमाडौंको नमुना कलेज अफ फेसन टेक्नोलोजीमा स्नातक अध्ययन पूरा गरेकी अनिताले ललितपुरको कुपण्डोलमा अनिता’ज क्रियशन सञ्चालन गर्दै आएकी छन् ।

आफू फेसन डिजाइनको क्षेत्रमा प्रवेश गर्नुको कारणबारे कुरा गर्दै अनिता भन्छिन्- ‘फेसन डिजाइनर बनेर बुटिक खोल्छु भन्ने सानैदेखिको सपना हो । अनुभवका लागि मैले अरुको गार्मेन्ट उद्योग र बुटिकमा पनि काम गरेँ, तर आफ्नै बुटिक सञ्चालन गर्ने धोको पूरा गरिछाडेँ ।’

फेसनको औपचारिक पढाइले आफूलाई धेरै कुराको ज्ञान दिलाएको उल्लेख गर्दै उनले आफैं व्यवसाय गर्नका लागि पढाइले बेग्लै हिम्मत दिलाएको खुलासा गरिन् । तर, कलेजको डिग्री मात्र पर्याप्त नहुने, बरु त्यसको साथमा काम, अनुभव, सीप, मिहिनेतको पनि जरूरत पर्ने उनको ठहर छ ।

विदेश भासिनु भन्दा स्वदेशमै केही उद्यम गर्नु उपयुक्त लागेर कोरोना समाप्तिपछिको चुनौतीपूर्ण अवस्थामा बुटिक व्यवसायमा हात हालेकी अनिता फेसन डिजाइनरले मन लगाएर काम गर्ने हो भने स्कोप निकै ठूलो रहेको बताउँछिन् ।

आफ्नो पेशागत लगावबारे जोड दिँदै उनी भन्छिन्- ‘मलाई फेसन उद्योगमा आफ्नै सिग्नेचर स्टाइल बनाउने र यस क्षेत्रमा आफैं केही नयाँ गर्ने मन छ । यसका लागि निरन्तर त्यही कर्ममा लाग्नु पनि जरुरी छ भन्ने मैले महसूस गरेकी छु ।’

प्रचलनबाट हराउँदै गरेका या हराइसकेका कुरा, नेपाली परम्परा, संस्कृति, पर्यटनलाई पनि देखाउँदै गएका, लोप हुँदै कुराहरूलाई पनि ‘फेसन शो’मार्फत देखाउन सकिन्छ भन्ने स्पष्ट सोच राख्ने अनिता जस्ता युवा व्यवसायीलाई कदम–कदममा सफलता मिलोस् भन्ने कामना गरौँ ।

  • नवीन उप्रेती