नेपालमा मूर्ति चोरी र विदेशबाट फर्काउने प्रक्रिया

नेपालमा मूर्ति चोरी र विदेशबाट फर्काउने प्रक्रिया


इतिहास
  • सुनिल उलक

केही वर्षदेखि विदेश पुगेका नेपाली ऐतिहासिक र पुरातात्विक मूर्तिहरू फर्कन थालेका छन् । विदेशका संग्रहालय घुम्न पुगेका नेपालका संस्कृतीप्रेमीहरूले ती मूर्तिहरू फिर्ता ल्याउने प्रयास थालेका थिए । वि.सं. २०४६ को शुरुवाततिर नेपाल प्रज्ञा प्रतिष्ठानले एउटा पुस्तक प्रकाशन ग¥यो । लैनसिंह बाङदेलको निकै लामो अन्वेषण तथा मेहनतले सो पुस्तक प्रकाशन सम्भव भएको थियो । बाङदेलले सो पुस्तकमा नेपालबाट चोरिएका मूर्तिहरूको सूची नै तैयार बनाएका थिए । Stolen Images of Nepal नामक पुस्तक प्रकाशनपछि विश्वका ठूला ठूला संग्रहालय आत्तिए । बाङदेलले उल्लेख गरेका कतिपय मूर्तिहरू ती संग्रहालयमा सुरक्षित थिए । तर त्यो पुस्तकको लागि अन्वेषण गर्न भने जापानमा रहेको टोयोटा फाउन्डेशनले आर्थिक सहयोग गरेको थियो । नेपालको मूर्ति चोरी भयो तर नेपालले चोरको खोजी त गर्न सकेन । साथै चोरिएका मूर्तिहरूको विवरण तैयार बनाउन पनि विदेशी सहयोग खोज्नुपऱ्यो ।

युनेस्कोले चोरिएका र अवैध रूपले तस्करी भइ विदेश पुगेका पुरातात्विक महत्वका कुनै पनि बस्तु फिर्ता गराउने नीति तैयार बनाएपछि नेपालले यही पुस्तकका आधारमा दाबी गर्न पाउने भयो । जसले गर्दा विदेशमा विभिन्न रूपमा ब्यक्तिगत संग्रह गरिएका तथा सरकारी रूपमा संग्रहालयमा रहेका मूर्तिहरू स्वदेश फर्काउने आवाजहरू उठ्न थाले । चोरिएका मूर्तिहरू नेपालकै हो भन्ने प्रमाणका लागि डा. प्रतापदित्य पालको The Arts of Nepal, मेरी स्लसरको Nepal Mandala तथा Early Sculptures of Nepal, कृष्ण देवको Images of Nepal tyf 2500 years of Nepalese Art आदि पुस्तकहरू पर्याप्त थियो ।

बाङदेलको पुस्तक छापिएकै सालमा जर्मन भाषामा अर्को एउटा पुस्तक छापियो । Die Götter verlassen das Land, Kunstraub in Nepal (देवताहरूले देश छोड्दैछन्, नेपालमा कलाको चोरी) यो पुस्तक Jürgen Schick ले लेखेका थिए । यसरी स्वदेश तथा बिदेशमा समेत नेपाली कलाको चोरीका प्रश्न उठे पछि युनेस्कोले पनि फिर्ता ल्याउन सहयोग गर्ने तैयारी थालेको थियो ।

बाङदेल वा स्किक दुवैले चोरिएका मूर्तिहरूको विवरण केवल काठमाडौं उपत्यका वरपरका मात्र दिएका थिए । मूर्ति लगायत पुरातात्विक वस्तुहरूको चोरीको बिगबिगी उपत्यका भन्दा बाहिर पनि त्यतिकै थियो । १०० वर्ष भन्दा पुरानो मूर्ति तथा अन्य वस्तुलाई पुरातात्विक बस्तु भनिने हुँदा अन्य शहर तथा दूरदराज गाउँमा पनि चोरी भएका थिए । तर त्यसको लेखाजोखा कतै गरिएन ।

पोखरामा विन्द्यवासिनी मन्दिर परिसरमा रहेको राधाकृष्ण मन्दिरबाट पनि राधाकृष्णको मूर्ति चोरी भएको थियो । भिमसेन टोलमा रहेको भिमसेन मन्दिरमा पनि भिमसेनको मूर्ति चोरी भएको थियो । यस्तै अन्य कतिपय मूर्ति तथा पुरातात्विक महत्वका वस्तुहरू चोरिने क्रम बढिरहेको थियो । तर मोफसलमा चोरिएका पुरातात्विक वस्तु चोरीको रुपमा नै कतै उल्लेख भएन ।

राधाकृष्णको मूर्ति चोरी भएको तिथिमिति पङ्क्तिकारलाई याद भएन । मूर्ति काटेर चोरिएको थियो । जसले गर्दा केही समयसम्म मूर्तिका खुट्टाको भाग मात्र त्यहाँ देखिन्थ्यो । तर भीमसेनको मूर्ति भने २०३१ सालको पुस २१ गतेको राति चोरी भएको थियो । अन्दाजी २०० वर्ष पुरानो मूर्ति त्यस बखत चोरी भयो तर चोरको कुनै पत्तो लागेन । खैर चोर्नेले चोरे तर हाम्रो पोखराका मूर्तिहरूको पनि कतै उल्लेख हुन पाएको भए विदेशका कुनै संग्रहालय वा ब्यक्तिगत सङ्ग्रहमा भेटिए फिर्ता ल्याउन सकिन्थ्यो कि !

भीमसेनको मूर्ति चोरिएको केही समय पछि नै नयाँ मूर्ति बनाउन कुरा चल्यो । तर वास्तविक मूर्तिको फोटो कतै थिएन । पछि ढोकाको माथि काठमा कुँडिएको आकृतिको आधारमा पोखराका चित्रकार दुर्गा बराललाई मूर्तिको चित्र कोर्न लगाइयो । पोखराका मुर्तिकार एवम् ढलोटको काम गर्ने स्व. बेखराज शाक्यसँग मिलेर मैनको ढाँचा तैयार भएपछि स्व. बेखराज शाक्यको मेहनतले उस्तै मुर्ति तैयार भयो । अहिले देखिने मुर्ति अर्थात् तस्बिरमा भएको मूर्ति यही नै हो ।

यसरी कलाकारिता त फर्कियो तर कला फर्किएन । अब हामी पनि तातिने हो कि !!

साथै जानकारीको लागि पोखराको प्रादेशिक संग्रहालयमा एउटा अर्को भीमसेनको मूर्ति प्रदर्शनमा राखिएको छ । यो मूर्ति पनि यसै क्षेत्रमा कतै चोरी भएको मूर्ति हो । मूर्तिचोरलाई समाएपछि मूर्ति बरामद भयो । मूर्ति कानुनी प्रक्रियामा प्रहरी र सिडियो कार्यालय पुग्यो । त्यसपछि संग्रहालयलाई हस्तान्तरण गरियो । बायाँतर्फ रहेको तस्बिर संग्रहालयमा रहेको भीमसेनको मुर्ति हो ।
पङ्क्तिकारको जिज्ञासा यो मूर्ति जहाँबाट चोरी भएको हो त्यही स्थापना गरिनुपर्ने होइन र ?