बलात्कारआरोपी अभिनेता शाहलाई तनहुँ अदालतबाट सफाइ

बलात्कारआरोपी अभिनेता शाहलाई तनहुँ अदालतबाट सफाइ


नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै अभिनेता शाहलाई सफाइ दिएको हो । शाहविरुद्धको सुनुवाइमा अदालतले अभियोग दाबी नपुग्ने फैसला सुनाएको हो ।

तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरका अनुसार तनहुँ जिल्ला अदालतमा दर्ता भएको शाहविरुद्धको मुद्दामा अदालतले सफाइ दिने फैसला सुनाएको छ, फैसलाउपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट छ ।

अभिनेता शाहविरुद्धको मुद्दाको पेशी तनहुँ जिल्ला अदालतमा पटकपटक तोकिएर स्थगित हुँदै आएको थियो । उक्त मुद्दाको अन्तिम सुनुवाइमा मंगलबार वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गरेका थिए ।

तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई सफाइ दिए पनि उनी कारागारमै रहने छन् । सोही प्रकृतिको मुद्दा नवलपुर जिल्ला अदालतमा दर्ता भएकोमा नवलपुर जिल्ला अदालतले शाहविरुद्ध गत भदौ २१ गते दुई वर्ष ६ महिना कैद र रु २५ हजार जरिवानाको फैसला सुनाएको थियो । साथै पीडितलाई रु दश लाख क्षतिपूर्ति दिनुपर्ने फैसला भएको थियो ।

शाहले उक्त फैसलाउपर गत कात्तिक २५ गते उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत वर्ष फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।