२१ माघ २०७९, शनिबार

काबेलीखोलाको काजीमान पुल

  प्रकाशित मिति
२३ पुष २०७९, शनिबार ०१:४४


इतिहास
  • सुनिल उलक

देशको विकासका लागि सरकार जति जिम्मेवार हुन्छ त्यति नै देशका जनता पनि जिम्मेवार हुनु पर्दछ । राणाकालमा केही राणाहरू ब्यक्तिगत सुखसुविधामा लिप्त भएका कारण देश विकास भएन भनेर राणाहरूलाई गाली गर्न थाल्यौँ । राणा गए देश बन्छ भन्दै क्रान्तिमा होमिएर ०७ सालमा जनताको सरकार आयो भन्दै हामी कुर्लियौँ । तर त्यसपछिका एक दशकको इतिहासलाई राम्ररी नियाल्यौँ भने झन् दुःखद दशकको रूपमा देख्दछौँ । स्वार्थले भरिएका नेता त्यही बेला जन्मिएका थिए भने कार्यकर्ता पनि आफ्नो दुनो सोझ्याउने खालका नै बने । चुनाव हुनुअगावै च्याउसरि राजनैतिक दलहरू जन्मिए । दाइ-भाइ पनि एकसाथ रहन सकेनन् । दाइले भाइलाई विश्वास गरेनन् । सात सालपछि बलियो पार्टीको रूपमा उभिएको काङ्ग्रेसप्रति पनि गाँउघरमा यति वितृष्णा जन्मियो कि छिमेकीको झगडामा पनि गाली गर्ने शब्दको रूपमा एउटा नयाँ शब्द जन्मियो- ‘तेरो घरमा काङ्ग्रेस पसोस् !’

पञ्चायतकालमा पनि राजा महेन्द्रको देश विकासको उद्देश्यमा केही पञ्चहरू ब्यक्तिगत स्वार्थमा लागे । ‘पञ्चे चोर देश छोड्’का नाराहरू गुञ्जिन थाले । राजा वीरेन्द्रले २०३६ सालमा जनतालाई बहुदल कि निर्दल भनेर सोधे । तर जनताले फेरि पनि पञ्चायती ब्यवस्था नै रोजे । राजाले दलहरूलाई केही सहजता बनाइदिए ।

०४६ सालमा त दलिय राजनीति शुरु भयो । त्यसपछि भाँडभैलो पनि शुरु भयो । देशका प्रमुख उद्योगहरू निजीकरणका नाममा बेचिए । रोजगारीका अवसरहरू गुम्दै गए । देशका युवाहरूको श्रम विदेशी भूमिका लागि बिक्री भयो । युवाका अमृत जस्तो पसिना विदेशी भूमिमा सिञ्चित भयो । देशमा डलर, पाउण्ड, येन, रियालहरू भित्रिए । विकसित मुलुकमा पुगेका नेपालीको पसिना मात्र होइन शरीर नै विदेशमा लिलाम भए । पिआर, ग्रिनकार्ड र आइडीको लोभमा नेपाली विदेशी भए । बाबु–आमा गर्वित भए तर नेपाल आमा रोइन् ।

अहिले देश रेमिट्यान्सले चलेको छ, तर देश चलाउन रेमिट्यान्स पठाउनेहरू भने गरिव बाबुआमाका गरिव छोराछोरी हुन् जो साउदीको मरुभूमिमा र मलेशियाका जंगलमा पसिना बगाउँछन् । अमेरिका र यूरोप पुग्ने ती धनी बाबुआमाका छोराछोरीले देशमा खासै पैसा पठाउँदैनन् । देशको उत्ति माया गर्दैनन् । कुन बेला पिआर अथवा ग्रिनकार्ड पाइन्छ भन्दै वकिलका पछि भागिरहेका हुन्छन् । देशको नाममा ठूला-ठूला गफ त दिन्छन् तर कुनै अर्थतन्त्रलाई टेवा दिँदैनन् । यो जमातले बाबुआमाको लागि पनि खासै केही गर्दैनन् । बरु बेबीकेयरका लागि भने बाबु-आमा खुब सम्झन्छन् र, घुमाउने बहानामा बच्चा हेरिदिन बोलाउँछन् ।

देशको लागि केही गर्नैपर्छ भन्दै स्वदेशको माया गर्ने पनि यहाँ कमी छैन । सामाजिक काम गर्दै स्वदेशमा रमाउनेको जमात पनि ठूलै छ । पश्चिमनेपालमा दलवीर सिंह कामीले आफ्नै पौरखले थुप्रै झोलुङ्गे पुल बनाए । लिम्बुनी बोजुले आफ्नै निजी पैसा खर्च गरेर लिम्बुनीपुल बनाइन् । दोलखाका प्रयागराज पण्डितले झोलुङ्गे पुल मात्र बनाएनन्, पुलको टिकाउको लागि फलामका साङ्लामा तेल दल्नको लागि नै जग्गा पनि दान गरेर गुठी बनाए । त्यस्तै, पूर्वमा सिटौला पुल भन्ने पनि छ । इतिहास नभेटिए पनि कुनै सिटौला थर भएकाले बनाइदिएको झोलुङ्गे पुल ! यस्तै खोज्दै जाने हो भने गाउँलेको लागि यस किसिमको पुल बनाइदिने धेरै भेटिन्छन् । तर यहाँ चर्चा गर्न गइरहेको छु- काजीमान पुलको ।

देशमा जङ्गबहादुरको बंशविनाशपछि धीरशम्शेरका सत्रभाइ छोराको राज चलेको थियो । वीरशम्शेर प्रधानमन्त्री तथा श्री ३ बनेका थिए । विकासको शुरुवातको रूपमा वीर अस्पताल, वीर टावर (घण्टाघर), काठमाडौं भक्तपुरमा खानेपानीको लागि कलधाराको शुरुवात गरेका थिए । वीरधारा नाम गरिएका यी धाराहरू विभिन्न स्थानमा बनाउन लगाएका थिए । यही समय पूर्वी नेपालको पाँचथर जिल्लाको च्याङथापुको फलैँचा भन्ने ठाउँमा वि.सं. १९४८ मंसिर १५ गतेको दिन काजीमान लिम्बुको जन्म भएको थियो । सम्पन्न बेघा परिवारमा जन्मिएका काजीमान गाउँका जिम्वाल सुब्बा थिए ।

च्याङथापुको इतिहास कोट्याउने हो भने कुनैबेला लिम्बु राजाको दरबार रहेको ठाउँ थियो । नाम्रेकमा याङवरकका राजा हिल्लिहाङको दरबार थियो । यिनै हिल्लिहाङका छोरी थुङवामुक्माको विवाह सिक्किमका राजा तेन्सु नामग्यालसँग भएको थियो । पछि नाम्रेकबाट याङवरकमा राजधानी सारेपछि पूर्वको शक्तिशाली राज्य बन्न पुगेको थियो । वि.सं. १८३० मा पृथ्वीनारायण शाहका कमाण्डर रामकृष्ण कुँवर तथा अभिमानसिंह बस्न्यात लिम्बुवान राज्य विजय अभियानमा आउँदा निकै लामो समय लडाइँ भएको थियो । कुनैबेला युद्धस्थल रहेको याङवरकमा अहिले पनि ऐतिहासिक स्थल तथा चिनोहरू भेटिन्छन् ।

यही ऐतिहासिक थलो याङवरक गोरखा राज्यमा विलय भएपछि काजीमान बेघा सुब्बा भएका थिए । वि.सं. १९७० मा काजीमानको छिमेकी गाउँ ताप्लेजुङ जिल्लाको थेचम्बुका फुङमा मेयाङ्बोसँग बिबाह भएको थियो । सामाजिक काममा तल्लिन रहने काजीमानको अधिकांश समय गाउँको हितको लागि नै रहने गर्द्थ्यो ।

उनले राणाकालमा नै वि.सं. १९९५ मा भारतीय शहर दार्जिलिङनजिकै रहेको विजनबारीबाट फलामे लट्ठाहरू ल्याएर च्याङथापुको मेवा भुरुङवा खोला दोभानमा झोलुङ्गे पुल बनाइदिएका थिए । निकै वर्षसम्म यो पुलले गाउँलेहरूलाई निकै राहत दिएको थियो । २०१६ सालमा मेवा खोलामा आएको बाढीले सो पुल भत्काइदियो ।

२०१७ सालमा मेवा भुरुङ्वा दोभानमा भत्काएको पुलको सामग्री लगेर ताप्लेजुङको पुछारमा चाक्सीबोटेको काबेली खोलामा झोलुङ्गे पुल निर्माण गरेको थियो, जुन पुल अध्यावधिक रहेको छ । समाजसेवामा लागिरहने काजीमानले त्यसपछि फलैँचामा नै रहेको गढीभन्ज्याङमा धर्मशाला बनाइदिएका थिए । २०२९ सालमा चिवाभन्ज्याङमा पनि धर्मशाला बनाइदिएका थिए । चिवाभन्ज्याङ नेपालको सिक्किमेसँग जोडिएको पूर्वीनाका हो ।

जीवनको उत्तरार्द्धतिर २०३३ सालमा ८५ वर्षको उमेरमा नेपालको एक धार्मिक स्थल तथा पूर्वको गोसाइँकुण्डको रूपमा प्रख्यात तिम्बपोखरीमा ठूलो घण्ट चढाएका थिए । यो घण्ट भने उनले बेतेनीका सुब्बा कृपानन्द माङ्मोसँग मिलेर चढाएका थिए ।

यस्तै, राणाकालमा बेघा लिम्बुहरू पलायन भएर भारतको सिक्किम, आसाम, मणीपुर, भुटान गइ बेघाहरूको सङ्ख्या ह्वात्तै घट्न जाँदा समस्या पर्न गएको हुँदा गैरबेघाहरूलाई आमन्त्रण गरि आफ्नो कुलमा भित्र्याइ बेघा थर उपलब्ध गराएर सामाजिक सहिष्णुता कायम गराएका थिए । यसरी बेघाहरू विलुप्त हुनबाट उनले जोगाएका थिए । अहिले सबै बेघाहरू एक भएर रहेका छन् ।

यसरी जीवनभर समाजको लागि केही न केही गर्दै ९२ वर्षको उमेरमा वि.सं. २०३९ साउन १५ गते समाजसेवी काजीमानको देहान्त भएको थियो ।


117
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

photo: rss खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौंवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन् । शनिबार

photo: rss नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार पुनःसञ्चालन हुने गरी स्थगित भएको छ । विकसित राजनीतिक

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई शनिबार सार्वजनिक गरेको छ

खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको