२१ माघ २०७९, शनिबार

नेपालको पहिलो राजमार्ग : सत्तरी वर्षमा ‘त्रिभुवन राजपथ’

  प्रकाशित मिति
१६ पुष २०७९, शनिबार ००:४९


इतिहास

– सुनिल उलक

वि.सं. २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र आएपछि पहिलो विदेशी कुटनीतिक ब्यक्तिको भ्रमणको रूपमा २००८ सालको असार २ गते तत्कालिक भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू नेपाल भ्रमणमा आएका थिए । यही भ्रमणको समय राजा त्रिभुवनले देशमा सडक यातायातको असुविधा रहेको जानकारी गराएपछि पण्डित नेहरूले छिट्टै नै राजमार्ग निर्माणमा सहयोग गर्ने आश्वासन दिएर फर्केका थिए ।

नेहरू स्वदेश फर्केको केवल ९ महिनापछि चैत्र २००८ मा नै भारतीय सेनाका इञ्जिनियरहरूको टोली सर्भेको लागि आइपुगेका थिए । भारतीय सेनाका रिटायर्ड कर्णेल ग्रान्टको निगरानीमा आएका सैनिक इञ्जिनियरहरूले निकै कठिन रहे तापनि राजमार्ग निर्माण गर्न सकिने जानकारी गराएका थिए । सबैभन्दा कठिन कार्य ठूला–ठूला रोड–रोलरलाई थानकोट पुर्‍याउनुको समस्या थियो ।

रोड–रोलरलाई खोलेर विभिन्न सामानहरू कुनै भरियाहरूबाट त कुनै रोपवेबाट थानकोट पुर्‍याइएपछि फेरि जोड्ने कार्य गरियो । अन्तत: वि.सं. २००९ मंसिर ७ गते शनिबार विवाह पञ्चमीको साइत पारेर चन्द्रागिरी तर्फबाट डोजरले खनेर राजमार्ग निर्माणको शुभारम्भ गरिएको थियो ।

चन्द्रागिरीदेखि भैंसे दोभानसम्मको केवल ७९ माइल (१२७ किमी)को राजमार्ग निर्माणको लागि तीन भागमा विभाजन गरिएको थियो । पहिलो भाग भैंसे दोभानदेखि सिमभन्ज्याङसम्मको २९ माइल (४७ किमी), दोश्रो भागमा थानकोटदेखि पालुङखोलाको ३८ माइल (६१ किमी) र तेश्रो पालुङखोलादेखि सिमभन्ज्याङको १२ माइल (१९ किमी)मा विभाजन गरिएको थियो । सिमभन्ज्याङ ८१५० फिट सबैभन्दा उचाइमा रहेकोले पनि निर्माणमा कठिनाइ थियो ।

सडकको मापदण्डअनुसार यस सडकलाई सेनाका इञ्जिनियरहरूले क्लास ९ अन्तर्गत राखेका थिए । ३ टन भन्दा बढी ढुवानी गर्न नसकिने, साथै सडकको चौडाइ समथर स्थानमा २१ फिट र उकालोमा १८ फिट रहने योजना गरिएको थियो । पूरै राजमार्गमा ८०० वटा ठूला कलभर्ट, ५० वटा साधारण कलभर्ट, ७ वटा पुल तथा १६ स्थानमा सडकमा पानी बग्न मिल्ने गरि ढलान गरेर पक्की सडक (Causeways) बनाउनुपर्ने थियो ।

भारतीय सेनाका इञ्जिनियरहरूको साथ ३४५० नेपाली मजदुरहरू थिए । १५५० मजदुर भैंसेदोभानतर्फ थिए, ८०० मजदुर पालुङखोलातिर थिए भने ११०० मजदुर थानकोटतर्फ थिए । यसको साथै ७१ वटा ठूला मशिनरी इक्विपमेन्टहरू (बुलडोजर, रोडरोलर, कम्प्रेसर, क्रसर) निर्माणमा लगाइएको थियो । उद्घाटनको समयसम्ममा यी मशिनहरूले झण्डै १७५००० लिटर पेट्रोल तथा १४४००० लिटर डिजल सिध्याएको थियो । साथै ५०० नेपाली सैनिक जवानहरू पनि निर्माणको क्रममा खटाइएको थियो । चट्टान फुटाउनको लागि २ लाख पाउण्ड विष्फोटक भारतबाट ल्याइएको थियो भने नेपालमै १९६००० पाउण्ड ब्लाक पाउडर उपयोग गरिएको थियो । निर्माणको क्रममा आठ मजदुरले जीवन गुमाउनुपरेको थियो ।

एक वर्षपछि मंसिर २६ २०१० मा विवाह पञ्चमीकै दिन पारेर जीप मात्र चलाउन सकिने गरि बडामहारानी कान्ती राज्यलक्ष्मीले राजमार्गको उद्घान गर्नुभएको थियो । उद्घाटन समारोहमा युवराज महेन्द्र, प्रधानमन्त्री मातृकाप्रसाद कोइराला तथा भारतीय राजदूत बीके गोखलेले सम्बोधन गरेका थिए ।

यसरी जीपको लागि २०१० को मंसिरमा नै उद्घाटन भए पनि ट्रकहरू गुड्न भने अर्को दुई वर्ष पर्खनु पर्‍यो । नियमित ट्रकबाट ढुवानीको सेवा भने नेपाल ट्रान्सपोर्ट सर्भिसको स्थापनापछि २०१५ को चैतदेखि बल्ल भयो । असार २०१६ सालबाट नेपाल ट्रान्सपोर्ट सर्भिस नियमित बस सेवा काठमाडौंबाट अमलेखगञ्जसम्म शुरु भएको थियो ।

पहिले नेपाल गभर्मेन्ट रेलवेले नियमित सेवा दिएको हुँदा काठमाडौंलाई अमलेखगञ्जसम्म मात्र जोडिएको थियो । पछि रेलसेवा बन्द हुन थालेपछि वीरगञ्जबाट अमलेखगञ्जको सडक यातायातले प्राथमिकता पाउन थाल्यो ।


27
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

photo: rss खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौंवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन् । शनिबार

photo: rss नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार पुनःसञ्चालन हुने गरी स्थगित भएको छ । विकसित राजनीतिक

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई शनिबार सार्वजनिक गरेको छ

खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको