तन्नेरीमा बढ्दो हृदयघातको समस्या

तन्नेरीमा बढ्दो हृदयघातको समस्या


  • शरद् शर्मा, काठमाडौं

तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ । मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारी हृदयघात हुने १२ प्रतिशत ४५ वर्षमुनिका युवा रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘युवाहरुमा बढ्दै गएको चुरोट तथा सुर्ती सेवनको कारणले हृदयघातको समस्या बढ्दै गएको छ । खासगरी ४५ वर्ष मुनिका २० प्रतिशत युवामा हृदयघात चुरोट र सुर्ती सेवन मुख्य कारक देखिएको छ ।’’

उहाँका अनुसार अहिले अस्पतालमा हृदयघात भएर आउने धेरै युवा चुरोट र सुर्ती सेवनका कारण भएको पाइन्छ । चुरोट र सुर्तीबाहेक युवामा बढ्दै गएको अस्वस्थ्य खानपान, मोटोपना, तनावजस्ता कारणले पनि युवा उमेरमा नै हृदयघात हुने गरको उहाँको तर्क छ । चुरोट र सुर्तीका अलवा हृदयघात वंशाणुगतका कारण पनि हुने गरेको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार ४५ वर्ष कटेपछि जो कोहीले पनि वर्षमा एकपटक तथा धूममान गर्ने, कोलेस्ट्रोल बढी र मोटोपना भएका मानिसले भने एकपटक मुटुको जाँच गराउन आवश्यक हुन्छ ।

खासगरी पुरुष ५५ र महिला ६५ वर्ष नाघेपछि, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल मोटोपना, हर्मोन, चिल्लो खानापन, तनाब कारणले हृदयघात हुने गरेको पाइन्छ ।

जाडोमा हृदयघात बढी

जाडोमा हर्मोनको कारणले पनि हृदयाघात हुनसक्छ । बिहान ८ बजेतिरको समयमा बढी हुने गर्दछ । शरीरमा हर्मोन बनिरहेका हुन्छन् । जाडो मौसममा बिहानको समयमा हर्मोनको सक्रियता धेरै हुनेगर्छ ।

हर्मोनको सक्रियता धेरै हुँदा उच्च रक्तचाप बढ्ने, मुटुको चाल बढ्ने हुन्छ । चिसो समयमा बेलामा मुटुको नशा साँघुरिएको छ भने मुटुको चाल बढ्दा मुटुलाई रगत पुग्दैन र त्यसलाई थाम्न नसक्दा हृदयाघात हुने गरेको केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा दिपङ्कर प्रजापति बताउनुहुन्छ । “हर्मोन सक्रिय हुँदा बिहानीपख उच्च रक्तचाप हुने, मुटुको चाल बढ्ने जस्ता कारणले मुटुको नशा साँधुरो छ भने मुटुको चाल बढेको बेला रगत पुग्दैन,” उहाँले भन्नुहुन्छ,“मुटु रोगीलाई बिहानको हिँडाइमा हृदयघात हुने सम्भावना बढी हुन्छ ।”

यस्तै धेरैजसो आत्तिने, झगडा गर्ने बेला पनि मुटुको चाल र उच्च रक्तचाप भएर मानिसमा हृदयघात हुने गरेको केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रिजापतिले जानकारी दिनुभयो । हृदयघातबाट बच्नका लागि चुरोट र सुर्ती खान कम गर्ने, उच्चरक्तचाप घटाउने, मधुमेह नियन्त्रण, कोलेस्ट्रोल नियन्त्रण, तनाव नियन्त्रण र मोटोपना कम गर्नुपने चिकित्सकहरुको सुझाव छ ।

व्यायाम गर्नेमा कम हृदयघात

नियमित व्यायाम गर्ने मान्छेमा भन्दा व्यायाम नगर्ने मान्छेमा हृदयघात हुने सम्भावना रहेको केन्द्रका कार्यकारी निर्देशक डा अधिकारीले बताउनुभयो । उहाँका अनुसार सय जना व्यायाम गर्ने मान्छेमा एक जनालाई जीवनभर हृदयघात हुन्छ भने व्यायाम नगर्ने मानिसमा सय जनामा १० जनामा हृदयघात हुनसक्दछन् ।

केन्द्रले तीन सय ४० जनामा गरेको अध्ययनमा हृदयघात भएका ८८ प्रतिशतलाई छाती दुखेको थाहा भएको र २४ प्रतिशतले रोग मुटुको हो भन्ने थाहा पाउने गरेको पाइएको छ । नेपालीहरु छाती दुखे भने ढिलो उपचारका लागि आउने गरेका उहाँले बताउनुभयो ।अध्ययनअनुसार ९२ प्रतिशत मानिस नजिकैको स्वास्थ्य चौकीमा पुगेको पाइन्छ ।

लक्षण कसरी थाहा पाउने ?

छाती भारी जस्तो हुने, छातीमा ढुङ्गा राखेको जस्तो लाग्छ, अलिकति हिँड्यो भने त्यो दुखाई बढ्न जान्छ र आराम गर्‍यो भने कम हुन्छ । यस्तो हुनु भनेको नशा साँधुरो हुनु हो र मुटुलाई रगत पुगेको छैन भन्ने थाहा हुन्छ ।
हृदयघात हुने बेला रगत मुटुमा जान पाउँदैन । हृदयाघात भनेको मुटुमा रक्तसञ्चार नहुनु हो । त्यतिबेला दुखाई निरन्तर भइरहन्छ र आराम गर्दा पनि कम हुँदैन ।

दैनिक पाँच जना हृदयघातका बिरामी

केन्द्रका निर्देशक डा अधिकारीका अनुसार दैनिक सात सय जना बहिरङ्ग सेवामा मुटुका बिरामी आउने गर्दछन् भने आकस्मिक कक्षमा ५० भन्दा बढी मुटुका बिरामी आउने गर्दछन् । उहाँका अनुसार दैनिक पाँच जना हृदयघातका बिरामी अस्पतालमा आउने गरेका छन् । अस्पतालमा हृदयघातका बिरामी २४ घण्टाभन्दा पछि आउने गरेका छन् । उहाँ जतिछिटो बिरामी अस्पतालमा आए त्यति नै मुटुको नशा खोलेर मांसपेशीमा रगत सञ्चालन गर्न सकिने बताउनुहुन्छ । हृदयघात भएका बिरामी १२ घण्टाभित्र अस्पतालमा आउने सके बचाउन सकिने उहाँको भनाइ छ ।

केन्द्रले हृदयघात भएका बिरामीलाई २४ घण्टा नै एन्जियोप्लाष्टी (मुटुको नशा खोल्ने प्रविधि) गरेर बचाउने गर्दछ । हृदयघात भएर आएको एक घण्टाभित्रमा बिरामीको एन्जियोप्लाष्टी गर्न सकिन्छ ।

एउटा एन्जियोप्लाष्टी गर्नेका लागि एक लाख ५० हजार खर्च लाग्ने गर्दछ । तर तिर्न नसक्ने गरिब असाहयका लागि केन्द्रले विगत दुई वर्षदेखि भने नि:शुल्क एन्जियोप्लाष्टी गर्ने गरेको छ । “हृदयघात भएको मानिसको मुटुमा रगतको आपूर्ति बन्द भएपछि मुटु दुख्न थाल्दछ । मुटुको मासु मरिसकुन्जेल छाती दुख्ने गर्दछ । केन्द्रले प्राइमरी एन्जियोप्लाष्टी गरेका बिरामीलाई चार/पाँच दिनमै अस्पतालबाट घर पठाउने गरेको छ ।

केन्द्रमा २४ घण्टा नै हृदयघात भएका बिरामीको प्राइमरी एन्जियोप्लाष्टिक गर्नका लागि १५ जना जनशक्तिसहित चार वटा शल्यक्रिया थ्रेयटर ९क्याथल्याब० तयारी अवस्थामा राखिएको हुन्छ । केन्द्रमा प्रत्येक महिना ५० जनाको प्राइमरी एन्जिओप्लाष्टिक गरेर हृदयघात भएका बिरामीलाई बचाउने गरेको उहाँले बताउनुहुन्छ । केन्द्रमा सन् २००६ देखि एन्जिप्लाष्टिक हुँदै आएको छ ।

पहिलो पटक हृदयघात हुँदा १०० जनामध्ये २३ जनाको मृत्यु अस्पताल नपुग्दै हुनेगर्दछ । हृदयघात भएर अस्पताल आएका बिरामीमध्ये सात प्रतिशतको अस्पतालमै मृत्यु हुने गरेको छ । विगत १० वर्षको तथ्याङ्क हेर्दा अस्वस्थ्य खानपान र जीवनशैलीमा आएको परिवर्तनले हृदयघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ ।

गङ्गालालमा सन् २०१२ मा चार सय ९५ जनामा हृदयघात भएका थिए भने सन् २०१८ मा तीन गुणा बढेर एक हजार चार सय ६० पुगेको थियो । उहाँका अनुसार २०२० मा एक हजार छ सय ९८ र सन् २०२१ मा दुई हजार दुई सय ७३ जना अस्पतालमा भर्ना भएका छन् । विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने मुटु रोगका बिरामीमध्ये ५० प्रतिशत त हृदयघात भएका बिरामी मात्र नै छन् ।