२१ माघ २०७९, शनिबार

कर्णालीपुल : नेपालको सबैभन्दा महँगो पुल !

  प्रकाशित मिति
९ पुष २०७९, शनिबार ०२:५७


इतिहास
कर्णालीको चिसापानी जहाँ कुनैबेला राजकुमार र राजकुमारीको मृत्यु भएको किंवदन्ती प्रख्यात छ, त्यहीँ नजिकै महेन्द्र राजमार्गको सबैभन्दा आकर्षक पुल रहेको छ । नेपालको सुदूरपश्चिम क्षेत्रलाई नेपालको अन्य भागसँग जोड्ने नेपालको सबैभन्दा लामो पुलमध्येको एक यो पुलको निर्माण २०५० मंसिर २८ गते सम्पन्न भएको थियो ।

– सुनिल उलक

२०१६ सालमा नै कर्णाली परियोजनासम्बन्धी आन्तरिक रूपमा तैयारी शुरु भयो । कर्णाली नदीमा ठूलो जलविद्युत आयोजनाको खाका बुनियो । वि.सं. २०१७ बैशाख १५ देखि १८ गतेसम्म भएको राजा महेन्द्रको अमेरिका भ्रमणमा पश्चिम नेपालको बृहत्तर विकासको साथै नेपालको पनि हितका लागि कर्णाली बहुउद्देश्यीय परियोजना विषयमा पनि छलफल भएको थियो । विश्व बैंक र यूएनडिपी यस कार्यको तैयारीमा जुटे । विभिन्न छलफलकै क्रममा राजा महेन्द्रको देहावसानले परियोजनाका कुरा गफै मात्र भयो ।

पूर्वी नेपालको कोशी तथा गण्डकीमा आफ्नो योजनाअनुसार हात पारिसकेको भारतको विशेष चासो पश्चिम नेपालको सबैभन्दा ठूलो नदी कर्णालीमा पनि पर्‍यो । वि.सं. २०३४ को मंसिर अन्तिम सप्ताह भारतीय प्रधानमन्त्री मोरारजी देसाइको नेपाल भ्रमणको समय कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजनामा भारतले चासो राख्यो । जसअनुसार १० हजार आठ सय मेगावाट विद्युत् तथा ३६ लाख हेक्टर जमिनमा सिंचाइ गर्ने योजना बन्यो, जसमा केवल २ लाख हेक्टर जमिन नेपालमा सिंचाइ उपलब्ध हुने भनिएको थियो । यसको लागि ५ खर्ब लाग्ने अनुमान गरिएको थियो । यसपछि पनि विभिन्न चरणमा विभिन्न छलफलहरू भए तर त्यो त्यसै सेलायो । पश्चिम नेपालको मात्र नभइ सिङ्गो नेपालको नै पहिचान हुन सक्ने यो विशाल परियोजना विश्व बैंक र भारतबीचको स्वार्थको लडाइँले पूरा हुन नै दिइएन ।

पूर्व-पश्चिम राजमार्गले देशलाई छिचोल्न थाले पनि कर्णालीमा पुल नहुँदा फेरीबाट तर्नुपर्ने बाध्यता भयो । कर्णालीमा पुल नहुँदा निकै समस्या पर्न थालेको थियो । कर्णाली नदी चिसापानीमा पहाड छिचोलेर तराइ प्रवेश गर्ने बिन्दुको रूपमा रहेको थियो । झट्ट हेर्दा तराइ भू-भागझैँ लागे पनि यहाँको मौसम चिसो र पानी पनि चिसो हुने हुँदा यो ठाउँको नाम नै चिसापानी रहेको थियो । चिसापानीको पनि आफ्नै किंवदन्ती छ ।

कुनै समयका एक जुम्ली राजाले आफ्नो प्यारो राजकुमारीको विवाह तराईका राजकुमारसँग गराउने पक्का गरेछन् । तर जुम्लाको चिसो मौसममा हुर्केको आफ्नो छोरी अचानक विवाहपछि तराईको प्रचण्ड गर्मीमा बस्न कठिन हुने भन्दै राजा-रानीलाई ठूलो चिन्ता लाग्न थालेछ । निकै सोचविचारपछि राजाले दरबारमा ठूलो सभा बोलाएछन् । सभामा राजाले राजकुमारीको विवाह तराईमा हुन लागेको तथा त्यहाँको गर्मीले जुम्लाको चिसो मौसममा हुर्किएकी राजकुमारी आत्तिन सक्ने हुँदा तराईमा राजकुमारीलाई बस्न सहज गराउन के गर्न सकिन्छ भन्ने सल्लाह मागे । धेरैका धेरै विचारहरू आए । राजाले सभामा धामीलाई पनि बोलाएका थिए । विभिन्न किसिमका विचारविमर्श भइरहँदा राजाले धामीलाई मन्त्रले फुकेर दुध भर्ने बाँसको गाबुमा जुम्लाको चिसो हावा राखिदिन आग्रह गरे । नभन्दै धामीले आफ्नो मन्त्रको शक्तिले जुम्लाको चिसो हावालाई गाबुमा राखेर बिर्को बन्द गरी राजालाई दिए । राजा-रानीले राजकुमारीलाई सो गाबु दाइजोको रूपमा छोरीको घर पठाउने विचार गरे । जसै छोरीको विवाहपछि राजकुमारसँग घर फर्कने बेला आयो, राजा-रानीले छोरीलाई माइतको कोसेली भन्दै गाबु पतिको घर नपुग्दासम्म नखोल्न भनेर दिइ पठाए ।

माइतबाट निस्कँदादेखि नै राजकुमारीलाई खुल्दुली भइरह्यो । आमाबुबाले गाबुमा के दिएर पठाएका रहेछन् भनेर हेर्न आतुर भइरह्यो । कर्णाली नदीमा डुङ्गाको यात्रा क्रममा जब बुङघाटमा राजकुमार र राजकुमारी पुगे, राजकुमारीलले मन थाम्न सकिनन् र, गाबुको ढक्कन खोलेर हेर्न चाहिन् । जसै राजकुमारीले गाबुको ढक्कन खोलिन्, मन्त्रको शक्तिले कोच्चिएको चिसो हावा एकैचोटी डरलाग्दोसँग बाहिरियो । हावाको बेगले ठूलो आँधी नै चल्यो । कर्णालीमा बाढी आयो । राजकुमार र राजकुमारी चढेको डुङ्गा बेतोडसँग पल्टियो ।

राजकुमारलाई कर्णालीको बेतोडको पानीले हुत्याएर लग्यो । त्यसपछि ठूलो ढुङ्गामा ठोक्किएर राजकुमारको देहान्त भयो । राजकुमारीलाई पनि हुत्याएर अझ पर लग्यो । अर्को केही सानो ढुङ्गामा ठोक्किएर राजकुमारीको पनि प्राण गयो । दुवै राजकुमार र राजकुमारीको देह ढुङ्गा भएर कर्णाली किनारमा रहन पुग्यो । ढुङ्गाको रूपमा रहेका राजकुमार र राजकुमारीलाई अझै पनि चिसापानीवासीले बिर्सन सकेका छैनन् । कर्णाली किनारमा अझै पनि ति ढुङ्गाको स्वरुपमा रहेका राजकुमार र राजकुमारीलाई देख्न सकिन्छ ।

यही कर्णालीको चिसापानी जहाँ कुनैबेला राजकुमार र राजकुमारीको मृत्यु भएको किंवदन्ती प्रख्यात छ, त्यहीँ नजिकै महेन्द्र राजमार्गको सबैभन्दा आकर्षक पुल रहेको छ । नेपालको सुदूरपश्चिम क्षेत्रलाई नेपालको अन्य भागसँग जोड्ने यो पुलको निर्माण २०५० मंसिर २८ गते सम्पन्न भएको थियो । यो नेपालको सबैभन्दा लामो पुलमध्येको एक हो । यस पुलको बीचमा ठूलो खम्बा (pylon) ठडिएको छ, जसमा स्टीलका तारहरू बाँधेर अड्याइएको छ । ५०० मिटर लामो तथा ११.३ मिटर चौडा यस पुलको दाँयाबाँया मानिस हिँड्ने पेटी पनि बनाइएको छ । यस पुललाई १२० मिटर अग्लो खम्बाले एक भागतिर ३२५ मिटर र अर्को भागतिर १७५ मिटरले छुट्याएको छ । यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको थियो । जापानको प्रख्यात कम्पनी कावासाकी हेवी इन्डस्ट्रिजले तैयार गरेको यस पुल नेपालको एक नमुना पुल हो ।

अमेरिकाको Steinman Boynton Gronquist and Birdsall, New York इञ्जिनियरिङ कम्पनीको डिजाइनमा बनेको यस झोलुङगे पुललाई दुवैतर्फ ३०-३० वटा मोटा तारका लट्ठाले अड्याइएको छ । पूर्णरूपमा ज्यामितीय सुत्रमा बनाइएको यस पुलमा प्रत्येक लट्ठाको भारक्षमता अलग-अलग रहेको छ । स्टीलले बनेको ट्रस्टमा ९ इन्च मोटो सिमेन्टको कंक्रीट स्ल्याबहरू राखिएको छ । ७ मिमी मोटा तारका गुजुल्टाले बनेका ३० वटा लट्ठाहरूमा तारको संख्या सबैमा भिन्न भिन्न राखिएका छन् । सबैभन्दा छेउका लट्ठाहरू सबैभन्दा मोटा छन् भने बीचका मसिना छन् ।

त्यतिबेला अर्थात् २०४० सालमा करिव २३ करोड ६४ लाख रुपैयाँ (१ करोड ५८ लाख डलर)को योजना बनेको सो पुल देशकै सुन्दर र महँगो पुलमा परेको थियो । विश्व बैंकको सहयोगमा बनेको यस पुलको सम्पूर्ण नक्सा अमेरिकी इञ्जिनियरिङ कम्पनीले बनाएको थियो भने निर्माणको काम जापानको कावासाकी हेभी लैब्सले गरेको थियो ।


414
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

photo: rss खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौंवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन् । शनिबार

photo: rss नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार पुनःसञ्चालन हुने गरी स्थगित भएको छ । विकसित राजनीतिक

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई शनिबार सार्वजनिक गरेको छ

खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको