२१ माघ २०७९, शनिबार

भन्सारले पास गर्‍यो, प्रहरीले रोक्यो

  प्रकाशित मिति
२२ मंसिर २०७९, बिहीबार १७:१४


  • तस्बिर : रासस

भैरहवा भन्सार कार्यालयले पास गरेको बस्तु रुपन्देही प्रहरीले रोकेको छ । मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको बस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो ।

रुपन्देही प्रहरीले भैरहवा बसपार्कनजिकै जाँचका क्रममा शङ्काको आधारमा भन्सारबाट पास भएर आएको भारतीय नम्बर प्लेटको ट्रक ‘युपी ५६ टि २७८५’लाई रोकेको थियो ।

ट्रकमा कुनै पनि प्रकारको लेवल नरहेको पाँच सय सेतो बोरामा पहिचान नभएको (डिएपी मल जस्तै देखिने) बस्तु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी वेद पौडेलले जानकारी दिए । ट्रकमा ‘भूमि शक्ति’ लेखेको चार सय ५० थान खाली नयाँ बोरा पनि बरामद भएको उनको भनाइ छ ।

मल अभाव भइरहेको अवस्थामा भैरहवा तथा यसआसपासमा भारतीय बोरामा नक्कली मल बिक्रीवितरण भइरहेको रुपन्देही प्रहरीलाई उजुरी आएको थियो ।

“कमसल खालको मल बिक्रेताले उच्च मूल्य लिइ बिक्री गर्दै आएको सूचना आएको थियो, बरामद भएको समान शङ्कास्पद मलजस्तै देखिएको छ”, पौडेलले भनेका छन् । बरामद भएको बस्तुको नमूना कृषि ज्ञानकेन्द्र भैरहवाको सहयोगमा प्रदेशस्तरीय कृषि प्रयोगशालामा पठाइएको उनले जानकारी दिए । “हामी अहिले यसबारे अनुसन्धानकै क्रममा छौँ, प्रयोगशालाबाट आएको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढ्छ”, उनले भने ।

केही नलेखिएका सेतो रङ्गका बोरा र त्यसभित्र भेटिएको खैरो र कालो रङ्गको पहिचान नभएको वस्तु रहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । ‘जिप्सम ग्रयानुअल्स’ भनेको मल हो भने कृषि मन्त्रालयले सोको आयात गर्न स्वीकृति दिएको वा नदिएको खुल्न सकेको छैन, आयातकर्ताले कहिले घर बनाउने जिप्सन बोर्डको कच्चा पदार्थ त कहिले रासायनिक मल भनेपछि बरामद गरिएको हो”, पौडेलले भने ।

प्रज्ञापन नम्बर एम ११५७८९ बाट भन्सार पास भएको उक्त बस्तु भारत नौतनवाको श्रीवास्तव ट्रान्सपोर्टले पठाएको हो । नेपालमा ओम गङ्गा ट्रेडर्स एण्ड सप्लायर्स बेलहियामार्फत आयात भएको समानको क्लियरिङ सञ्जय क्लियरिङ एजेन्टबाट भएको छ ।

प्रतिबोरा रु एक सय ५० मूल्याङ्कन गरी भैरहवा भन्सार कार्यालयले पाँच प्रतिशत भन्सार शुल्क र मूल्य अभिवृद्धि करसहित रु २५ हजार पाँच सय ३८ राजस्व असुल गरेको छ ।

भैरहवा भन्सार कार्यालयले उक्त बस्तु ‘जिप्सम ग्रयानुअल्स’ भन्दै ग्रीन च्यानलबाट जाँचपास गरेको छ । भन्सारमा ग्रीन च्यानल, एल्लो च्यानल र रेड च्यानलबाट समान जाँचपास हुन्छ । ग्रीन च्यानलको अर्थ आयात गरिने सामान र त्यससँग सम्बन्धित कागजात पनि हेर्न आवश्यक नरहेको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत लक्ष्मण ढुङ्गानाले बताए ।

“ग्राहकको स्वघोषणाका आधारमा राजस्व लिइन्छ”, ढुङ्गानाले भने, “यस्तो अवस्थामा ट्रकमा के सामग्री छ ? र लेबल छ वा छैन भन्नेबारे जाँच गर्नुपर्दैन ।” भन्सारबाट पास भएको सामानलाई प्रहरीले रोक्ने अधिकार नरहेको भन्सार अधिकृत ढुङ्गानाको जिकिर छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

photo: rss खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौंवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन् । शनिबार

photo: rss नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार पुनःसञ्चालन हुने गरी स्थगित भएको छ । विकसित राजनीतिक

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई शनिबार सार्वजनिक गरेको छ

डडेल्धुराका हार्डवेयर व्यवसायीहरुले बैंक ग्यारेन्टीविनाको कारोबार नगर्ने निर्णय गरेका छन् । शनिबार बसेको डडेल्धुरा हार्डवेयर व्यवसायी संघको बैठकले आर्थिक मन्दीका