अफगानिस्तानमा सत्तापलटपछि तालिबानले दियो पहिलो मृत्युदण्ड

अफगानिस्तानमा सत्तापलटपछि तालिबानले दियो पहिलो मृत्युदण्ड


तालिबानले गत अगस्टमा अफगानिस्तानमा सत्तापलट गरेपछि पहिलो पटक मृत्युदण्ड दिएको छ । ताजमिर नाम गरेका एक व्यक्तिले एउटा हत्या अपराध स्वीकार गरेपछि उनलाई दक्षिणपश्चिमी फराह प्रान्तको एक स्टेडियममा मृत्युदण्ड दिइएको तालिबानका प्रवक्ताले बताएका छन् ।

तालिबान सरकारका अधिकांश शीर्ष मन्त्रीहरू सहित समूहका दर्जनौं नेताहरू फाँसीमा सहभागी भएका थिए । न्यायाधीहरुलाई शरिया कानूनलाई पूर्ण रूपमा लागू गर्न निर्देशन दिइएको केही हप्तापछि यो आदेश आएको हो ।

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले गत महिना उक्त आदेश जारी गर्दै न्यायाधीशहरूलाई सार्वजनिक मृत्युदण्ड, सार्वजनिक अंगविच्छेदन र ढुङ्गाले हानेर सजाय तोक्न आदेश दिएका थिए । यद्यपि, तालिबानले आधिकारिक रूपमा वास्तविक अपराध र सम्बन्धित सजायहरू परिभाषित गरेका छैनन्।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार मृत्युदण्डमा सर्वोच्च अदालतका न्यायाधीशहरू, सेनाका कर्मचारीहरू र वरिष्ठ मन्त्रीहरू पनि सहभागी थिए ।

तालिबानले इस्लामिक कानूनको कडा व्याख्याको जिम्मा पाएका मोहम्मद खालिद हनाफी पनि उपस्थित थिए। तर, प्रधानमन्त्री हसन अखुन्द भने उपस्थित नभएको विज्ञप्तिमा उल्लेख छ ।