२१ माघ २०७९, शनिबार

नेवार समुदायको मौलिक पर्व ‘य:मरी पुन्हि’, धुमधामले मनाइँदै

  प्रकाशित मिति
२२ मंसिर २०७९, बिहीबार ०२:५०


  • रासस

लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘य:मरी पुन्हि’ ।

हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ । नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ ।

नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन् । मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन् । मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने य:मरी पुन्हि पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान य:मरीबाट प्रख्यात छ ।

“यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान य:मरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस पर्वको नाम य:मरी पुन्हि रहन गएको हो”, संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भन्नुभयो । कृषि कर्म गर्नेका लागि मार्ग शुक्ल पूर्णिमा ठूलो पर्व हो । यस दिन पुर्वी पहाडी जिल्लाका किराँत समूदायले उभौली पर्व मनाउँछन् । त्यस्तै उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् । खसआर्य समुदायले पनि यस दिनलाई ठूलो दिनको रुपमा कुलपूजा, देवाली पूजा गर्ने प्रचलन रहेको छ ।

नेपाल भाषामा ‘य:’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । य:मरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । य:मरीमा धरतीको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ ।

नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ । भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै य:मरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा या:मरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ ।

धानका भकारीलगायत अन्नका भण्डारमा य:मरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने र धनलाभ हुने जनविस्वास रहिआएको छ । यसरी चढाएको य:मरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ ।

य:मरी पुन्हिको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई यो:मरी माग्ने प्रचलन पनि रहेको छ । यो एक प्रकारले देउसी, भैलोजस्तै प्रचलन हो । य:मरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ ।

य:मरी माग्दा यसरी गीत गाउने गरिन्छ ।

त्य छिं त्य, बक छिं त्य
थाबले यागु सामा वल:, य:मरी छग: ती य:
व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती
न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्य:
य:मरी माकु, उकि दुने चाकु
व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा

अर्थात् चार माना, दुई माना अट्ने भाँडामा देउ, यो सालको बाली भित्रियो य:मरी एउटा देउ, य:मरी दिए तरुनी नदिए चाउरी बूढी, दुईटा दिए छोरा जन्मिन्छ एउटा दिए छोरी जन्मिन्छ, मानापाथी भरिभरि देउ, य:मरी मीठो, त्यसभित्र चाकु, दिए तरुनी नदिए बूढी ।

उल्लेखित लोकभाका आजका नयाँ पुस्तालाई गाउन त आउँछ, तर उनीहरु सो भाका गाउँदै य:मरी माग्न भने जान छाडेका छन् । युवा वर्ग आधुनिक संस्कृतिमा रम्न थालेसँगै लोक संस्कृतिबाट विमुख हुँदै जाँदा य:मरी माग्न छाडेपछि यो प्रचलन लोप हुँदै गएको संस्कृतिकर्मी बताउँछन् ।

य:मरी नयाँ धानको चामलको पिठोबाट बनाइन्छ । चामलको पिठोलाई शुद्ध घ्यू हालेर तातो पानी हाल्दै मुछ्नुपर्दछ । य:मरीको लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ । नरम हुने गरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पिठो कडा हुने डर हुन्छ । पिठो कडा भएमा य:मरी बनाउन कठिन पर्ने र य:मरी फुट्ने डर हुन्छ ।

त्यसपछि पिठोको डल्लोलाई चोर औँलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ । पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ । यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजूरजस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ । सो खोक्रो भागमा चाकु राखेर बन्द गरिन्छ र य:मरी तयार हुन्छ । आजभोलि खुवा, मासु, गुँदपाक, मास, मुँगीलगायत सामग्री राख्ने प्रचलन पनि रहेको छ ।

य:मरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँधमा प्वाल प्वाल भएको हाँसी (माटोको विशेष प्रकारको भाँडो) राखिन्छ । सो हाँसीमा य:मरी राखेर बाफले य:मरी पकाइन्छ । करिब पाँच मिनेट जति बफाएपछि य:मरी तयार हुन्छ । अचेल म: म: पकाउने भाँडाको प्रयोग गरिन्छ ।

पानीको बाफबाट पकाइने यो पकवान निक्कै स्वादिलो हुन्छ । त्यसैले यो सबैलाई मन पर्दछ । सबैलाई मन पर्ने रोटी भएकाले नै यसको नाम य:मरी अर्थात् मनपर्ने रोटी रहन गएको इतिहास तथा संस्कृतिविद प्रा डा पुर्षोत्तमलोचन श्रेष्ठ बताउहुन्छ ।

नेवार समुदायमा य:मरीको सांस्कृतिक एवं धार्मिक महत्व रहेको छ । धनसम्पत्ति बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा य:मरी पुन्हिका दिन सबैले य:मरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गरिन्छ ।

विशेष गरी जन्मदिनलगायतका विशेष शुभकार्यमा य:मरी नभई नहुने पकवानमध्ये एक हो । य:मरी मठमन्दिर, मानिसको जोडा जन्मदिनजस्तो दुई वर्ष, चार वर्षको जन्मदिनको अवसरमा नभई नहुने पकवान भएको प्रा डा श्रेष्ठले बताउनुभयो । “बच्चाहरूको जन्मदिन मनाउँदा १२ वर्षसम्म य:मरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ”, श्रेष्ठले भन्नुभयो ।

त्यस्तै छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केही समय अघि माइतीबाट दही च्यूरा खुवाउन जाने चलन छ । त्यसबेला पनि कुनै कुनै समुदायमा एक सय आठ वटा य:मरी लैजानुपर्ने चलन रहेको छ । त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर य:मरी खसाल्ने चलन छ ।

वैज्ञानिक हिसाबले पनि य:मरीको महत्व रहेको पाइन्छ । जाडो महिनामा मनाइने य:मरी पुन्हिमा पकाइने पकवान य:मरीमा रहेको चाकु र तिलले शरीरमा न्यानो दिने र चिसोबाट हुने विभिन्न रोगबाट समेत सुरक्षित राख्न मद्दत गर्दछ ।
यस पूर्णिमाका रातलाई सबैभन्दा लामो रातको रुपमा पनि लिइन्छ । यस रातका सुत्न नपुग्ने मान्छेलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने लोककथन पाइन्छ । यस पूर्णिमाको भोलिपल्टदेखि य:मरीको चुच्चो जतिकै दिन लम्बिन्दै जान्छ भन्ने जनविश्वास पनि रहेको छ ।

धार्मिक कथनअनुसार तत्कालीन पांचाल देशमा सुचन्द्र नाम गरेका दानी महाजनको पतिपत्नी दुवैले गरिबप्रति अत्यन्त दया राखी खानेकुरा र लुगाफाटा दान गर्ने गर्दथे । उनीहरुको दयालु स्वभावको सर्वत्र चर्चा थियो । एक दिन कुबेरले यी दुवै पतिपत्नीको एक पटक परीक्षा गर्नुपर्‍यो भन्दै गरिबको भेष धारण गरी सुचन्द्रको घरआँगनमा माग्न गएछन् । गरिब रूप धारण गरेको कुबेरलाई सुचन्द्र दम्पतीले साहै्र श्रद्धापूर्वक घरभित्र लगेर नयाँ लुगा लगाउन दिई मीठोमीठो खाने कुरा खुवाएछन् । त्यसपछि गरिबरूपी कुबेरलाई साह्रै लज्जा भएछ र उनले आफ्नो सक्कली रूपमा दर्शन दिएछन् । केही बेर ज्ञानगुणका कुराहरू गरेछन् । त्यसपछि य:मरी बनाउने विधि सिकाइ बफाउने तामाको भाडासमेत दिई अन्तघ्र्यान भएछन् ।

कुबेरले सिकाएबमोजिम सुचन्द दम्पतीले नयाँ चामलको पिठोको य:मरी, कुबेर र अन्नपूर्ण देवी बनाई अन्नको भकारीमा चार दिनसम्म पूजा गरेछन् । य:मरी आफूले खाई अरूलाई पनि बाँडेछन् । त्यसपछि उनीहरुले अन्नहरू जति दान दिन्छन् त्यति नै भरिने भएछ । श्रीसम्पत्ति पनि अभिवृद्धि भएछ । कुबेरको प्रतीक य:मरी बनाई धानको भकारीमा राखी पूजा गर्नाले धान कहिल्यै पनि नसकिएको हुनाले त्यस बेलादेखि नै यो परम्परा चलेको हो भन्ने जनश्रुति छ ।

यो चाड बौद्धमार्गीले पनि मनाउँदै आएका छन् । बौद्धमार्गीले य:मरीको प्रतीकलाई चैत्यको रूप हो भन्छन् भने हिन्दूमार्गी नेवारले सिन्हम्हुको प्रतीक भनेर अथ्र्याउँदै आएका छन् ।


72
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

photo: rss खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौंवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन् । शनिबार

photo: rss नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार पुनःसञ्चालन हुने गरी स्थगित भएको छ । विकसित राजनीतिक

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई शनिबार सार्वजनिक गरेको छ

खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको