अन्तरविद्यालय क्रिकेट: लुम्बिनी शिक्षा निकेतन र साइग्लोबल विजयी

अन्तरविद्यालय क्रिकेट: लुम्बिनी शिक्षा निकेतन र साइग्लोबल विजयी


रुपन्देही सदरमुकाम भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा लुम्बिनी शिक्षा निकेतन, मायादेवी र साइग्लोबल स्कूल, भैरहवा विजयी भएका छन् ।

लुम्बिनीले न्यू होराइजन इङ्गलिस बोर्डिङ स्कूल, बुटवललाई ७१ रन र साइग्लोबलले होराइजन जीबीएस स्कूल, बुटवललाई १ विकेटले पराजित गरेको हो । सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित खेलमा ३ विकेटको क्षतिमा १ सय ४० रनको योगफल बनायो । जसमा एजाजुल हकले ६१, संदिप बानियाँले २४ र विन्दराम यादवले १४ रन जोडे । बलिङमा न्यू होराइजनका कमरन खाँनले १ विकेट लिए ।

प्रतिउत्तरमा न्यु होराइजन १४।४ ओभरमा अलआउट हुँदै ६९ रनमै समेटियो । उसका लागि राहुल भण्डारीले २१ र रितेश ज्ञवालीले १४ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनीका अब्दुल हविवले ३ तथा सविर आलम, अमन यादव र अब्दुल नदिम शेखले समान २–२ विकेट लिए । लुम्बिनीका एजाजुल हक म्यान अफ द म्याच भइ पाँच सय रुपैयाँबाट पुरस्कृत भए ।

दोस्रो खेलमा होराइजन जीवीएसबाट जितका लागि पाएको ९२ रनको लक्ष्य साइग्लोबलले १५।३ ओभरमा ९ विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गर्‍यो । उसको जितमा श्यामु पासवानले ४१ र मैत्रुवा रहमानले १३ रनको योगदान दिए । बलिङमा होराइजन जीवीएसका कुशल पौडेल र सुदन कँडेलले ३–३ तथा निखिल पराजुलीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको होराइजन जीवीएसले निर्धारित खेलमा ८ विकेटको नोक्सानीमा ९२ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि सुभम खनालले १३ र रोहन गिरीले नटआउट १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । बलिङमा साइग्लोबलका ओसामा शेख र श्यामु पासवानले समान ३–३ तथा विकास बरई र गुल्जार खाँनले १–१ विकेट लिए । खेलमा साइग्लोबलका श्यामु पासवान म्यान अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको बिजेता टिमले नगद ३० र उपबिजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टिमलाई पनि पुरस्कृत गरिने छ । निजी र संस्थागत गरी १३ विद्यालय सहभागी प्रतियोगिता मंसिर २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा पर्वत ज्वेलर्स, भैरहवा छ ।