पल र सन्दिप काण्डका युवतीबीच मित्रता भएको खुलासा

पल र सन्दिप काण्डका युवतीबीच मित्रता भएको खुलासा


मुलुकमा हालै भएका दुई चर्चित बलात्कार काण्डमा कार्वाही भोग्नेहरू भिन्न स्थान र पृष्ठभूमिका भए पनि आरोप लगाउने दुई युवतीहरू बीचचाहिँ गहिरो मित्रता भएको रोचक तथ्य जानकारीमा आएको छ ।

प्राप्त जानकारीअनुसार अभिनेता पल शाह र पूर्व क्रिकेट कप्तान सन्दिप लामिछानेलाई बलात्कार मुद्दामा जेल सजाय दिलाउने दुई किशोरीहरू स्कुल पढ्दाका साथी हुन् । पोखरामा उनीहरूले एउटै कक्षामा अध्ययन गरेका थिए । उनीहरू दुवै सँगसँगै हुर्किएका छिमेकी पनि हुन् । प्रहरी अनुसन्धानका क्रममा यी दुवै साथी भएको रहस्य खुलेको थियो । सन्दिपद्वारा बलात्कृत भनिएकी युवती भन्दा पल शाहद्वारा बलात्कृत भनिएकी युवती पहिला नै काठमाडौं आएकी थिइन् । काठमाडौं आएपछि पनि यी दुईको बेला–बेलामा भेटघाट हुने गरेको थियो ।

नाबालिग बलात्कार मुद्दामा जेल परेका सन्दिप लामिछानेको बकपत्र सकिएको छ । अभियुक्त र सम्बन्धित ब्यक्तिहरूलाई इजलासमा राखेर लिइने बयान बकपत्र हो । डाक्टरको प्रतिवेदन तथा अन्य प्रमाणहरूका आधारमा सन्दिपलाई जेल सजाय हुने सम्भावना प्रबल रहेको श्रोतहरूले बताएका छन् । प्रहरीले उक्त घटनासँग सम्बन्धित विभिन्न होटल सञ्चालक, होटलमा कार्यरत ब्यक्तिहरू, युवती बस्ने होस्टलसम्बद्ध ब्यक्तिहरूदेखि उनका केटासाथीको समेत बयान लिएको थियो ।

केही वर्षदेखि सम्बन्धमा रहेका उनका केटासाथीले घटना भएको दिन दिउँसो युवतीसँग कुरा गरे पनि ९ बजे फोन गर्दा घण्टी गएको, तर फोन नउठेको र केहीबेरमा फोन अफ भएको बताएका थिए । युवतीका दाजु र केटासाथीबीच पहिल्यैदेखि चिनजान भएको पनि उनले बताएका थिए । युवतीले आफू सन्दिपलाई भेट्न जान लागेको कुरा आफ्नो केटा साथीलाई बताएकी थिइन् । उनले ‘सेलिब्रटीलाई भेट्न जाने कुरालाई आफूले सामान्य ठानेर जाउ भनेको’ प्रहरीसमक्ष बताएको बुझिएको छ ।

अदालतले बलात्कार ठहर गरेमा सन्दिपलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुनेछ ।