नेपालका शिक्षाका ज्योति : समाजसुधारक षडानन्द अधिकारी

नेपालका शिक्षाका ज्योति : समाजसुधारक षडानन्द अधिकारी


  • श्यामकृष्ण लम्साल

षडानन्द अधिकारीको जन्म वि.सं. १८९२ मङ्सिर शुक्ल पञ्चमीमा भोजपुर दिङ्लास्थित गढीगाउँमा भयो । उनका पिता लक्ष्मीनारायण र माता रुक्मिणी हुन् । बाल्यकालमा यिनलाई खडु पनि भनिन्थ्यो, पछि आबाल ब्रह्मचारी, ब्रह्मचारी र गुरु षडानन्द भनियो । तथापि, यिनका सान्निध्यका शिष्य र भक्तहरू बालागुरु, गुरु महाराज भन्न रुचाउँथे । मातापिताका यी कान्छा सन्तान हुन् । गर्भमा हुँदै पिताको स्वर्गवास भएको हुँदा गर्भे टुहुरा यिनको स्याहार-सुसार आमा, दाजु र दिदीले गरेका थिए ।

यिनको आठ वर्षको उमेरमा यज्ञोपवित संस्कार भयो । यज्ञोपवित संस्कार भएपछि यिनी घरबार छोडी विद्याध्ययनका लागि परदेश लागेका हुन् । सर्वप्रथम यिनले जनकपुरको ब्रह्माचार्याश्रममा बसी गुरुकुल प्रणालीमा १० वर्षसम्म विद्याध्ययन गरे । षडानन्दले मिथिला प्रदेशका धेरै विद्वान् पण्डितको सान्निध्यमा संस्कृत भाषाको राम्रो अध्ययन गर्नुका साथै संस्कृत व्याकरणको पनि गहन अध्ययन गरे । धर्मज्ञ तथा कर्मकाण्डी विद्वान्को सङ्गतमा चण्डी, गीता, ज्योतिषशास्त्र तथा वेद अध्ययनकै क्रममा त्यहाँबाट यिनी बनारस गए । बनारसमा यिनले मुमुक्षु भवनमा बसेर पढेका हुन् । त्यहाँ आफ्नो अध्ययन अझ गहन बनाए उनले ।

बनारसमा षडानन्दले अध्ययनका साथै योगसाधनासमेत गरे । योग साधनाका क्रममा उनले भारतका विभिन्न स्थानको भ्रमण गरेका थिए । षडानन्दका त्यस बेलाका शिष्यहरूको भनाइअनुसार यिनले चौबिस पटक गायत्री पुरश्चरण गरेका थिए । यसै क्रममा यिनले बागमती किनार, पत्थर, घट्टामा बसी तपस्या गरेका थिए भनिन्छ । यिनले देवघाट हुँदै केही वर्ष पोखराको सेती किनारमा बसेर पनि अष्टाङ्ग योग-साधना गरेको चर्चा सुनिन्छ । यिनी एउटै थलोमा तीन वर्षसम्म बसेर अनेक कष्टप्रद साधना तथा तपस्या गर्थे भन्ने भनाइ छ ।

यिनी पट्टल बाँधेर योग-साधनामा रहँदा षडानन्द भुइँबाट एक हातमाथि आकाशमा समेत उठ्थे भनिन्छ । यिनी आफ्नो अध्ययन पूरा गरी योग-साधकका रूपमा स्थापित भएपछि आजीवन ब्रह्मचार्यमा रहेर मातृभूमिका लागि केही गर्न १९३१ सालमा आफ्नो जन्मस्थल दिङ्ला फर्किएका थिए ।

विद्यालय स्थापना :

बालागुरु षडानन्दले १९३२ साल चैत्र शुक्ल रामनवमी, सोमबार शुभ-साइतमा दिङ्ला भन्झ्याङको रमणीय उच्चस्थल कैलाशमा स्थानीय जनताको सक्रिय संलग्नतामा नर्मदेश्वर शिव मन्दिर निर्माण गरी विद्यालय स्थापना गरे । प्रारम्भमा आफैँले अध्यापन पनि गरेका थिए । त्यस पाठशालामा गुल्मी, सल्यान, प्युठानसम्म र भारतको आसाम तथा सिक्किमका समेत विद्यार्थी आएर अध्ययन गर्थे । जनस्तरबाट व्यवस्थित यो विद्यालय नेपालको पहिलो विद्यालय हो ।

गुठी व्यवस्था :

कुनैपनि कुराको निर्माण गर्नु तथा कुनै परम्पराको थालनी गर्नु जति चुनौतीपूर्ण हुन्छ, त्यति नै त्यसको संरक्षण तथा अनन्तकालसम्म सञ्चालन गर्ने व्यवस्था पनि चुनौतीपूर्ण हुन्छ । षडानन्दले स्थापित मन्दिर, विद्यालय, पुस्तकालय, बगैंचाको संरक्षण होस् भनेर एउटा बृहत् गुठी पनि स्थापना गरे । गुठीका नाममा लालमोहर पनि गराए । त्यतिबेला हजार, १२ सय मुरी अन्न उब्जनी हुने गुठी व्यवस्था गरे । २०३६ सालको नापीअनुसार यो गुठीको क्षेत्रफल एक हजार सात सय ५३ रोपनी थियो । यिनले त्यो खेतको आम्दानीबाट मन्दिर संरक्षण र पूजनादि कार्य गर्ने, त्यसको आम्दानीबाट अध्यापकलाई पारिश्रमिक तथा विद्यार्थीलाई छात्रवृत्ति दिने, टहलुवा, नगर्ची आदि कामदारलाई पारिश्रमिक दिने, पर्व पर्वमा हुने विशेष पूजा र पुराण प्रवचनका लागि खेतबाट यति खर्च बेहोर्ने आदि कुरा खुलाएर स्पष्टसँग शिलापत्र, ताम्रपत्र आदिमा लेखेर राख्ने व्यवस्था गरे । यस्तो अभिलेख राख्न काठमाडौंबाट कलाकार रत्नमान शाक्य ल्याइ गुठीयार, दाताहरूको विवरण शिलालेखमा अङ्कित गराए ।

विद्यालय स्थानान्तरण :

विद्यार्थी सङ्ख्या बढ्न थालेपछि १९५५ सालमा कैलाश डाँडाबाट विद्यालयलाई भन्झ्याङको समतल र केही फराकिलो ठाउँमा स्थानान्तरण गरियो । त्यसपछि सोही विद्यालय परिसरमा उत्तरतर्फको चोकमा गुम्बज शैलीका कलात्मक दुई गुम्बज जोडिएका युग्म मन्दिरमा पूर्वपट्टि शिवपाञ्चायनका रूपमा षडेश्वर र पश्चिमपट्टि राम मन्दिर निर्माण गरी तिनमा शिवलिङ्ग तथा राम, सीता र लक्ष्मणका मूर्ति स्थापना गरिए । यी मूर्ति षडानन्द आफैले भारतको हरिहर क्षेत्र तथा उज्जैनबाट ल्याएका हुन् भन्ने बुढापाकाको भनाइ छ । मन्दिर परिसरमा नन्दी र हनुमानका ठूला प्रस्तर मूर्तिका साथै कीर्तिमुख भैरवको समेत स्थापना गरेका थिए ।

समतल क्षेत्रमा स्थापित विद्यालय र मन्दिर एउटै परिसरमा एकीकृत थिए । यो परिसरलाई तीन चोकमा विभाजन गरी निर्माण गरिएको देखिन्छ । सबभन्दा पछाडि उत्तरतिरको पहिलो चोकमा राम मन्दिर र शिव मन्दिर थिए । त्यसको उत्तर र पूर्वमा झिंगटीले छाएका तीनतले छात्राबास भवन थिए । बीचको चोकको माझमा मण्डप र त्यसको पूर्व र पश्चिममा पनि झिंगटीकै छानो भएका तीनतले छात्राबास भवन थिए । त्यही चोकको उत्तर र मन्दिर चोकको दक्षिणतिरको तीनतल्ले भवनको भुईंतल्लामा वेदाध्यायीहरूका लागि फलेक छापिएको खुला कक्ष थियो । त्यसको माथिल्लो तल्लामा भने भण्डार थियो, जसलाई जगेडा घर पनि भनिन्थ्यो । घरको भुईलल्लाको पूर्वपट्टि नगरा राखिएको थियो । चोकभन्दा बाहिर दक्षिणपट्टि अर्को ठूलो चोक थियो, जसलाई पूर्व-पश्चिम लम्बाइको झिंगटीको छानो भएको एकतल्ले पुराणशालाले छुट्याएको थियो । यसभन्दा बाहिरी चोकको पश्चिमपट्टि दुईतल्ले भवन बनाएर दुवै तल्लामा कक्षा सञ्चालनको व्यवस्था गरिएको थियो । चोकको पूर्वपट्टि राधाकृष्ण मन्दिर तथा अन्य स-साना मन्दिरका साथै शिवलिङ्ग स्थापना गरिएका थिए । राधाकृष्ण मन्दिरभन्दा दक्षिण-पूर्वपट्टि विद्यालय परिसर प्रवेश गर्नेबित्तिकै एउटा झिंगटीले छाएको तीनतल्ले कलात्मक धर्मशाला (पाहुना घर) थियो । चोकको बीचको भाग चाहिँ खुला र फराकिलो थियो, जसलाई धान्य पर्व, तोलादान, यज्ञजस्ता कर्मका लागि प्रयोग गरिन्थ्यो । विद्यालय आसपास र झन्झ्याङ बजारको छेउमा गुम्बज शैलीमा सरस्वती मन्दिर, गणेश मन्दिर तथा लक्ष्मी मन्दिरसमेत बनाइएको थियो । यो योजनाबद्ध निर्माण गरिएको बहत्तर संरचना अहिले पनि भत्के बिग्रेको अवस्थामा छँदैछ ।

भौतिक सम्पदाको निर्माण :

विद्यालय र मन्दिर परिसरको पश्चिमपट्टि षडानन्दले एउटा विशाल बगैंचा पनि निर्माण गराएका थिए । त्यो बगैंचामा विभिन्न जातका फलका बिरुवा, विभिन्न याममा फुल्ने फूल, स्थानीय जङ्ग लमा पाइने विभिन्न बोट बिरुवा विभिन्न स्थानबाट झिकाएर लगाइएका थिए । भनिन्छ, त्यस बगैंचामा एक हजार आठ प्रजातिका बोट बिरुवा रोपिएका थिए । षडानन्दले झन्झ्याङ बजार परिसरको बाहिरी बगैंचामा सुन्दर पार्वतीकुण्ड (ठूलो पोखरी) निर्माण गराए । कुण्डमा विभिन्न जातका रङ्गीचङ्गी माछा पालिएका थिए । बाहिरी र भित्री बगैंचामा सीताकुण्ड, गौरीकुण्ड, हनुमानकुण्ड आदि निर्माण गराएका थिए ।

विद्यालय र मन्दिर परिसरको पूर्वमा रहेको नारायण चौरको नजिकमा नारायण धारा तथा भन्झ्याङबाट फालिकोटतिर जाने बाटामा रामधारा र लक्ष्मणधाराजस्ता धारा पनि बनाइएका थिए । उनले सामूहिक, सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न चौर र गौचरनको पनि व्यवस्था गरेका थिए । तीमध्ये नारायणचौर र गौचरन अझै पनि छँदैछन् । षडानन्दले विद्यालय आउन जानका लागि आसपासमा बाटो निर्माण गराए । मन्दिर परिसरदेखि झन्झ्याङ बजारसम्म ढुङ्गा छापेर मोटर दौडन सक्ने खालको फराकिलो बाटो बन्यो । नारायणधारा, रामधारा जाने आउने बाटो र गडीगाउँदेखि हुँडिखेलको नजिकबाट झन्झ्याङ आउने चौडा बाटोसमेत यिनकै निर्देशनमा बनेका थिए ।

मेला, व्यापार:

बालागुरु षडानन्दले दिङ्ला भञ्ज्याङ्गमा बजार बसाए । झन्झ्याडमा बालाचतुर्दशीका दिन सदमी मेला लाग्ने गर्छ । यो दिन दिवङ्गत आत्माको शान्तिका लागि रथयात्रासहित शतबीज छर्ने चलन छ ।

समाज सुधार :

बालागुरु षडानन्दले समाज सुधारका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका छन् । यिनले दिङ्ला र त्यसको आसपासका क्षेत्रमा १९४० सालतिरै सतीप्रथा उन्मूलन गराएका थिए । छुवाछुत प्रथा गलत हो भन्ने सन्देश पनि प्रचार गरेका थिए । राज्यबाट सतीप्रथा र दासप्रथा उन्मूलन गर्ने प्रेरणा चन्द्रशमशेरले यिनैबाट पाएका थिए भनिन्छ ।

सदाचार शिक्षा :

विद्यालयबाट अध्ययन गरेर शिक्षा हासिल गर्नु त छँदैछ, आध्यात्मिक एवम् नैतिक ज्ञानसमेत थप दिई समाजमा सदाचार फैलाउने उद्देश्यले चौमासा पुराण र पर्व पर्वमा पुराण तथा नैतिक प्रवचन दिने व्यवस्थासमेत भएको थियो ।

सिद्धिप्राप्त ब्रह्मचारी :

यिनका विषयमा अनेक किंवदन्ती छन् । यिनी आज काठमाडौंमा थिए भने भोलिपल्ट दिङ्लामा हुन्थे भनिन्छ । अरुण नदीमा रुमाल बिछ्याएर नदी पार गर्थे पनि भनिन्छ । कतिपय त यिनको गायत्री जप गर्ने कोठामा गायत्री मातासँग साक्षात् वार्ता भएको हामीले पनि सुनेका थियौं भन्ने पनि थिए रे ! त्यस्तै यिनको अन्तिम अवस्था बितेको काठमाडौं, टेकुको पचलीघाटमा बागमती नदीमा वर्षाको भेल आएका बेला पनि खराउ लगाएर पानीमाथि हिँड्दै नदी वारपार गर्थे भन्ने पनि विश्वास गरिन्छ ।

यिनी योग साधानारत रहेरै दिवङ्गत हुनु, त्यतिखेरको समयमा पनि राष्ट्रले गर्न नसक्ने सुधार तथा विकास निर्माण कार्य गरिनुले उनमा विशिष्ट सिद्धि थियो भन्नुमा दुईमत रहँदैन । यिनको ख्याति तथा सिद्धिबाट तत्कालीन शासकहरू पनि परिचित थिए । तत्कालीन शासक पनि सिद्धपुरुष षडानन्दका भक्त थिए । त्यसैले षडानन्दले भने गरेका सामाजिक कार्यमा तत्कालीन शासकबाट लालमोहर गरिदिएको देखिन्छ । उनले गुठीको लालमोहर १९३५ सालमा नै गराएका थिए । त्यति मात्र होइन, राणा शासकहरू ब्रह्मचारी षडानन्दको अनुशरण गर्नु आफ्नो धर्म ठान्दथे ।

१९६६ सालमा धर्मपत्रिकामार्फत् आफ्नो सिर्जना विद्यालय, मन्दिरको पूजापाठ, मेलापर्व आदि सञ्चालनको सम्पूर्ण व्यवस्था मिलाएपछि उनी काठमाडौंको टेकु, पचलीघाटमा अवस्थित आश्रममा फर्किए । १९७३ सालको जेष्ठ शुल्क त्रयोदशीका दिन योग साधनामा रहँदारहँदै ब्रह्मलीन भएका महान् समाजसेवी तथा साधकलाई राष्ट्रिय विभूति घोषणा गरेर सम्मान प्रदान गर्नु नेपाल सरकारको कर्तव्य हो ।