ईश्वर बन्ने काइदा-स्वामी धर्मविवेक

ईश्वर बन्ने काइदा-स्वामी धर्मविवेक


सत्य सन्दर्भ
विश्वमा धेरैले ईश्वरको खोजी गरे, तर उनीहरूले कहिल्यर्ै ईश्वरलाई फेला पारेनन् । बरु आर्फै ईश्वरमा परिणत भए । ईश्वर वा परमात्माको परम् रहस्य यसैमा छ । जसले यो गुह्य बुझ्न सक्छ उसले ज्ञात, अज्ञात, गेय र अगेयको गणितमा रुमलिनुपर्दैन । जस्तो कि ईश्वर डटकम’ शीर्षकमा चर्चा गरियो, सदानन्द नै ईश्वरीय अवस्था हो र मानिसको सदानन्दको चाहना नै ईश्वर हुनुको प्रमाण हो ।
तर, ईश्वर खोज्नेहरूले ईश्वरलाई कहिल्यै भेटेनन् । खोज्दै जाँदा उनीहरू आफै ईश्वर भए । बुद्धले ईश्वर खोजे, भेटेनन् । उनी आफै ईश्वर भए । महावीर हुन् या ओशो, सबैको प्रारम्भ ईश्वरकै खोजीबाट भएको हो, तर उनीहरू पनि ईश्वरमै परिणत भए । यही नै ईश्वरको सत्ता र महत्ताको परम् रहस्य हो ।
यो रहस्य धेरै मानिसलाई थाहा हुँदैन । मानिस आफैंभित्र ईश्वर छ वा मानिस आफै ईश्वर बन्न सक्छन् भन्ने कुरा अधिकांशलाई विश्वास हुँदैन । आचार्य रजनीश अर्थात् ओशोले ‘भगवान् रजनीश’ भनेर आफैंलाई सम्बोधन गर्दा भारतमा निकै बबाल भयो । एउटा दार्शनिक, तार्किक वा आध्यात्मिक गुरुले आफूलाई भगवान् भनेर घोषणा गर्दा अमिताभ बच्चनका बाबु हरिवंशराय बच्चन र खुशवन्त सिंहजस्ता लेखकले चर्को आलोचना गरेका थिए ।
तर, ओशोको मनसाय अर्कै थियो । उनले मानिसभित्रको ईश्वरतर्फ सङ्केत गरेका थिए । हरेक मानिसभित्र ईश्वर हुन्छ र त्यो ईश्वरीय गुणलाई जगाउन सके मानिस स्वयमर्् ईश्वर हुनसक्छ भन्ने ओशोको आशय थियो । त्यसैले ओशोले आफ्नो हरेक प्रवचनको अन्त्यमा साधकलाई सम्बोधन गर्दै भन्थे, ‘तपाईंहरूभित्रको परमात्मालाई प्रणाम ।’
मानिसलाई जब शरीर, मन, विचार, सांसारिक उहापोह, लोभ, अहंकार र विषयभोगको वासनाले घेर्छ तब उसभित्रको ईश्वर लुप्त हुन्छ । उसको सदानन्द स्वरूपलाई सांसारिक आवरणले छोप्छ । यो रहस्यलाई बुझाउन एकपटक म तपाईंहरूलाई आमाको गर्भमै लैजान्छु ।
आमाको गर्भमा हुँदा शिशु बडो आनन्द मुद्रामा हुन्छ । मानिसको आत्मालाई शरीरको पनि बोध हुँदैन । त्यसैले शारीरिक सुखदु:खको अनुभव उसलाई हुँदैन । शिशुको शरीर आमाको पाठेघरमा मनतातो तरलमा पौडिरहेको हुन्छ । यसो किन गरिएको हुन्छ भने आमा यताउता ढल्किँदा आमाको भित्री अङ्गको भित्तामा शिशुको शरीर ठक्कर नलागोस् । आमा यताउता ढल्कँदा शिशु तैरिरहेको तरल पदार्थले त्यसको दबाब थेग्छ, शिशुको शरीर सुरक्षित हुन्छ ।
आमाको पेटभित्रको तापक्रम वातानुकूलित हुन्छ । त्यसैले शिशुलाई मौसमी सुखदु:खको अनुभव पनि हुँदैन । शिशुको आँखाले केही नदेख्ने भएकाले दृश्य र त्यसले अनुभव गराउने सुखद र दु:खद् संवेदनाको पनि सम्भावना रहेन । आमाले खाएको खाने, आमाले फेरेकै सास फेर्ने भएकाले उसलाई भोकको चिन्ता पनि भएन । उसको मस्तिष्क पूर्णरूपमा निर्विचार अवस्थामा हुन्छ । किनकि विचार भनेको इन्द्रीय अनुभवबाट सिर्जना हुन्छ । एकप्रकारले शिशुको मन खाली हुन्छ । शिशुको चेतनाले एउटै कुराको बोध गरिरहेको हुन्छ, आनन्द । हो, गर्भभित्रको यही आनन्दलाई प्रतीकात्मक रूपमा क्षीर सागरमा शेषनागको ओछ्यानमा चिन्मयानन्द अवस्थामा रहेका भगवान् विष्णुको परिकल्पनामार्फत बताउन खोजिएको हो ।
तर, जसै बालकको जन्म हुन्छ, त्यस दिनबाटै उसको आनन्द खोसिन्छ । बालक जन्मनासाथ उसको इन्द्रीय खुल्छ । आँखा खुल्नासाथ अस्पतालको चहकिलो बत्तीले उसलाई झस्काउँछ । कैयौँ जुनी, योनी र समयसम्म अन्धकारमा रुमलिरहेको उसले एकाएक सांसारिक प्रकाशको सामना गर्दा झस्किनु स्वाभाविकै हो । उसले संसारका अनेक कुरा सुन्न थाल्छ । यसले उसलाई तनाव दिन्छ । त्यही भएर जन्मनासाथ शिशु रुन्छ । तर, शिशुको दु:खको यात्रालाई उसका आमाबाबु उत्सव ठान्छन् । जब कि गौतम बुद्धले भनेझैं जन्म, मृत्यु र जरा (बुढ्यौली) दु:ख हो ।
जन्मबाट नै मानिसको दु:खको यात्रा सुरु हुन्छ । उसलाई शरीर, नाम, जात, धर्म, संस्कार, समुदाय, देश, राजनीतिक दल, कालो, गोरो, आदि पोसाकले बेरिन्छ । त्यसपछि बालक यसकै मानसिक उतारचढावमा रुमलिन्छ । सांसारिक मायामा अल्झिए पनि उसको अभ्यन्तरमा आमाको गर्भमा रहँदाको आनन्दको स्मृति भने जीवितै हुन्छ । उसको अवचेतन मस्तिष्कमा त्यो आनन्द संरक्षित भएर रहेको हुन्छ । र, जीवनभर मानिसको अभ्यन्तरको कोसिस रहन्छ, त्यही आनन्दमा फर्किने ।
तर, मानिसलाई थाहा हुँदैन, त्यो आनन्द कसरी प्राप्त हुन्छ । त्यसैले उसले रक्सी पिउँछ । यौनसर्म्पर्कबाट त्यो आनन्द प्राप्त गर्न चाहन्छ । धनसम्पत्ति कमाएर त्यहाँसम्म पुग्ने कोसिस गर्छ । प्रधानमन्त्री वा राष्ट्रपति भएर त्यो आनन्द प्राप्त गर्ने कोसिस गर्छ । तर, मानिसले एकपटक होइन, ६-६ पटकसम्म प्रधानमन्त्री भएर पनि त्यो आनन्द प्राप्त गर्न सक्दैन । बिल गेट्सझैं संसारकै धनी भएर पनि सन्तुष्ट हुँदैन र आनन्दका लागि बिल गेट्सले झैं संसारभरि अरूलाई सहयोग गर्दै हिँडनुपर्ने हुन्छ ।
किनकि, सुख र दु:ख दुवै उत्तेजना हो । आनन्द भनेको परम् विश्रामको अवस्था हो । त्यही भएर कार्लमाक्र्सको खण्डन गर्दै ओशोले भने, ‘मानिस श्रम होइन, विश्राम खोजिरहेको छ ।’ तर, त्यो परम् विश्रामको अवस्था वा सदानन्दको अवस्थामा पुग्न संसारमा कुनै भौतिक प्रविधि आविष्कार भएको छैन । यो संसार त दु:खको संसार हो । यहाँ आनन्दको कुनै उपाय छैन । त्यसैले यदि आनन्दको अवस्थामा वा ईश्वरीय अवस्थामा पुग्ने हो भने यो संसारबाट, यो मनबाट, यो मनको गणितबाट पारि पुग्नैपर्छ ।
मनबाट पारि अर्थात् उन्मनी अवस्थामा पुग्न हाम्रा पहिलेका ऋषिमुनीझैं जङ्गल नै जानुपर्छ भन्ने छैन । सांसारिक कर्म गरेर पनि सदानन्द अवस्थामा पुग्न सकिन्छ । त्यसका लागि ध्यान एउटा उत्तम उपाय हो । यहाँ म तपाईंलाई सांसारिक दृश्यबाट आफैंभित्रको ईश्वरको बाटोतर्फ लाग्ने सानो उपाय बताउँछु :
बिहानै उठ्नुस् । ट्वाइलेट गएर ‘फ्रेस’ भएर आउनुस् र ओछ्यानमा बस्नुस् । आँखा बन्द गर्नुस् । लामो सास तानेर छाड्नुस् । करिब पाँच मिनेटसम्म लामो सास तान्दै छाड्दै गर्नुस् । केहीबेरपछि लामो-लामो सास तान्दै छाड्नुस् र सासलाई आफ्नै गतिमा भित्र र बाहिर हुन दिनुस् । बिस्तारै सासले भित्र र बाहिर गरिरहेको हेर्नुस् । अर्थात्, आफ्नो ध्यान सासको गतिमा लगाउनुस् । कसरी सास भित्र गइरहेको छ र कसरी बाहिर गइरहेको छ, त्यसलाई हेर्नुस् । यो श्वास-प्रश्वास तपाईंले गरेको होइन, हेक्का रहोस् । तपाईंले गरेको भए सुतेको बेलामा श्वास-प्रश्वास बन्द हुनुपर्ने । श्वास-प्रश्वास अस्तित्वले गराइरहेको छ । ब्रह्माण्डीय ऊर्जाले गराइरहेको छ । त्यसको गहिराइमा पुग्नुस् ।
जब तपाईंको ध्यान सासमा केन्द्रित हुन्छ, केही समयका लागि भए पनि तपाईंको मन विचाररहित हुन्छ । त्यो एक मिनेट वा दुई मिनेट मात्र किन नहोस् । तपाईंलाई तनावमा पार्ने विचारबाट तपाईं केही समयका लागि भए पनि टाढा हुनुहुन्छ । तपाईं निर्विचार अवस्थामा पुग्न सक्नुहुन्छ । त्यसक्रममा कुनै विचार आइहाले पनि सकारात्मक विचार आउन थाल्छ ।
यही यात्राका क्रममा तपाईं बिस्तारै आनन्दको रसको स्वाद थाहा पाउन थाल्नुहुन्छ । तपाईं आफैंभित्र र्फकनुहुनेछ । आफ्नो नैसर्गिक आनन्द स्वभावमा र्फकने कार्यको श्रीगणेश हुनेछ । निर्विचार वा साक्षी भावको अभ्यास गर्दै जाँदा एक दिन तपाईंले ईश्वरीय अनुभव गर्नुहुनेछ । तर, यसका लागि निरन्तर साधना गर्नुपर्छ ।
त्यो साधना विधिबारे अर्को अङ्कमा चर्चा गरौँला है । जय होस् ।