२३ मंसिर २०७९, शुक्रबार

फिजीमा पोखिएको नेपाली रगत र पुर्खाको प्राणको सम्मानको सवाल

  प्रकाशित मिति
३ मंसिर २०७९, शनिबार ०४:४५


अझै पनि उनीहरूको चुलामा नेपाली परिकार पाक्छ, नेपाली भेषभुषा लगाउँछन्, चाडपर्वमा दशैँ तिहार मनाउँछन् । उनीहरूसँग सबै छ तर भाषा छैन । भाषाबिना पनि नेपाली पहिचान, नेपालप्रतिको अगाध माया, नेपाली प्रतिको असिम भातृत्व संसारमा कहीँ छ भने त्यो फिजीमा छ ।
  • डिल्ली अम्माई

नेपाली मूलका फिजीवासी (फिजीका नेपाली)हरू पहिले–पहिले कल्पनामा नेपालको तस्बिर बनाउँथे र मनमनै रम्दै नेपाल डुलेको कल्पना गर्थे । नेपाली अग्रजहरूले आफ्नो अन्तिम स्वाससँगै विभिन्न देवताको नाम लिन्थे र स्वर्ग प्राप्तिको अभिलाषाले अभिसप्त हुँदै प्राण त्याग्दथे ।

उनीहरूका अघिल्ला पुस्ताले आफ्ना दिनहरू दु:खजिलो गरेर दासतामै बिताए । बेलायती मालिकहरूले अड्कलेर दिएको खाएर जेनतेन उखुबारीका छाप्राहरूमा आफ्नो जीवनको गुजारा गरे । फिजी बेलायती साम्राज्यको कहालीलाग्दो युगबाट मुक्त भएपछि मात्र तिनले सामान्य जीवनयापन गर्न पाएका हुन् । तर, नेपालसँग जोडिने उनीहरूको धोको अहिलेसम्म पनि जस्ताको तस्तै छ ।

नेपाल र फिजीको दौत्य सम्बन्ध सन् १९८० बाट भयो तर त्यो सम्बन्ध सरकारी स्तरमा मात्र सीमित छ । समान हितका मुद्धाहरूमा संयुक्त राष्ट्र सङ्घमा सन् १९८६ देखि हुन सामान्य छलफल थाल्यो । अहिले फिजी सरकारले काठमाडौंमा व्यापारिक हितहरूको प्रवद्र्धन गर्न बाणिज्य दुतावास खोलेको छ । यसले सूचना आदानप्रदान मात्र नभएर दुवै देशको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्‍याउन सहयोग गर्ने भनेको छ ।

तथापि, यी दुई देशका नेपालीहरूको मिलन गराउन फिजीका नेपालीहरूलाई निम्तो दिने र घरसम्म डोर्‍याएर ल्याउने कुनै शुभकर्म भएको सुनिएको छैन । त्यो राज्यस्तरबाट भए धेरै राम्रो हुने फिजीका नेपालीहरूको समेत अपेक्षा छ । राज्य स्तरको सम्बन्धले जनस्तरमा जोड्न मद्दत गर्दथ्यो । त्यसले दोहोरो आवतजावतको लागि सहजीकरण गरि दिन्थ्यो । फिजीका नेपालीले नेपाल पुगेर पुर्ख्यौली मातृभूमिको एक मुठी आफ्ना पुर्खाको अस्तुमिश्रित माटो लिएर फिजी फर्किन्थे र त्यसैको पूजा गरेर आफ्नो सुखद सपना साकार पार्थे । त्यो सङ्कल्प हामी सबै नेपाली मिल्ने हो भने गैह्रसरकारी तहबाट पनि गर्न सकिन्छ, जस्तो कि एनआरएनए वा अन्य सांस्कृतिक संघ-संगठनहरूले पनि दोहोरो सम्बन्धलाई कसिलो बनाउने भूमिका निभाउन सक्छन् ।

ती नेपाली जुन साम्राज्यवादीहरूको पिँजडामा बन्द भएर फिजी पुगे र अहिलेसम्म उनीहरूलाई आफ्नो परिवारको पुनर्मिलन पुर्खाको माटोसँग भेट गराउने सवालमा नेपाल सरकारले चासो देखाउन सकेको छैन । त्यसमा फिजीको सरकारलाई पनि ध्यान आकृष्ट गराउन सम्बन्धित निकायले प्रयास गर्नु जरुरी हुन्छ । छुटेका बन्धु खोज्नु र परिवारसँग भेट गराउनु परोपकारको काम हो । दोहोरो सम्बन्धले खेल्ने दीर्घकालिक महत्व केवल दुई देशभित्र मात्र सीमित रहने छैन । दुई परिवारसम्म पनि त्यो सम्बन्ध विस्तार हुनेछ ।

फिजीमा स्थाई बसोबास गरिरहेका नेपालीहरूको मनभित्रको कुरा गर्ने हो भने नेपाली वाक्य शब्दमा खुम्चेको छ । अनपढ पहिलो पुस्ताले आफ्ना सन्ततिहरूलाई भाषिक ज्ञान हस्तान्तरण गर्न सकेन । दोश्रो तेश्रो पुस्ताहरूले नेपाली भाषाको लिपि र बोली हस्तान्तरण गर्न सकेनन् । त्यसका आफ्नै कहालीलाग्दा कथाहरू छन् । उनीहरूलाई भू–दास बनाएर लागेको ब्रिटिस मालिकहरूले नेपाली भन्न र सामूहिकरूपमा नेपालीलाई बस्न नदिएको गुनासो पुर्खाहरूबाटै नयाँ पुस्तासम्म आएको देखिन्छ । नेपालीहरू कहिल्यै सामुहिक रूपमा बसोबास गर्ने वातावरण नै बनेन । पहिचान सामूहिकरूपमा बाँच्न सक्छ भने भाषा पनि प्रयोगले बाँच्ने हो । त्यो दुवै अवस्था नरहेपछि सानो वा एकल परिवेशमा भाषा र पहिचान बाँच्न सक्दैन । फिजीमा आफ्नो भाषिक पहिचान गुम्नुको पहिलो कारण त्यही हो ।

बेलायती मालिकहरूले फुकेको सिठीको भरमा काम गर्ने र हिन्दी, अङ्ग्रेजी बोल्नुपर्ने बाध्यकारी कानुनको कारण आफ्नो भाषा क्रमश: प्रयोगबाट टाढिँदै गयो । जसको कारण नेपालीहरूले भाषाको पुस्ता हस्तान्तरणलाई नियमित बनाउन सकेनन् । तर नेपाली खानको स्वाद भने उनीहरूको जिब्रोले कहिल्यै बिर्सेन ।

उक्त तथ्य उनीहरूको यो भनाइबाट नै प्रष्ट हुन्छ- ‘हामीबाट नेपाली भाषा गुम्यो, बोल्न सक्दैनौँ, तर मन र मुटुमा हामी पुस्तौँदेखि नेपालीपन जोगएर राखेका छौँ । पुर्खाहरूलाई कसरी घोडाको चाबुकले हानेर दोषीसरह काम लागाइयो ! अग्रजहरूले भनेको त्यो परिवेश सम्झँदा अहिले पनि हाम्रो मन प्रताडित हुन्छ ।’

फिजी पुगेका नेपालीको पहिलो पुर्खा निरक्षर थिए, नेपाली लिपि जोगाउन सक्ने कुनै आधार थिएन । भारतीयहरूको अलग–अलग समूहमा नेपालीहरू मिसाएर काम गराउने बेलायती मालिकहरूलाई नेपाली पहिचानको के मतलब भयो र ! त्यसैले त्यहाँ नेपाली भाषा सकिनु वा पुस्ता हस्तान्तरण नहुनुमा नेपालीहरूको केही पनि दोष छैन ।

‘पूर्वको निलमणि’ विशेषण पाएको फिजी संसारभरका पर्यटकहरूले घुम्न रुचाएको अत्यन्त सुन्दर देश हो । यहाँ ३ सय २२ वटा ज्वालामुखीबाट बनेका अत्यन्त सुन्दर टापुहरू रहेका छन् । यिनै टापुहरूलाई हराभरा बनाएर बसेका छन् नेपाली मुलका फिजीहरू । नेपालीको जनसङ्ख्या १२ हजारको हाराहारीमा रहेको अनुमान छ । त्यहाँका नेपाली पनि कोही आर्थिक प्रगतिको दौडमा उत्तीर्ण छन् भने कोही अनुत्तीर्ण ।

फिजीलाई सन् १८७४ देखि बेलायतले आफ्नो कब्जामा लिएर उखु खेतीमा लगाउथ्यो र त्यहाँ उत्पादन हुने चिनी र भेली बेलायतलगायत युरोप, अफ्रिका लगिन्थ्यो । बेलायतको उपनिवेश भएको करिब सय वर्षपछि सन् १९७० बाट फिजी स्वतन्त्र र सार्वभौमिक देश बनेको हो । त्यो स्वतन्त्रता सङ्ग्राममा नेपालीहरूको पनि उल्लेख्य योगदान रहेको बताउँछन् त्यहाँका नेपालीहरू ।

सन् १८७९ देखि नै बेलायती मालिकहरूले उखुखेतीको लागि झुक्याएर भारतीय र अन्य देशका नागरिकहरूलाई फिजी लान थालिएको कुरा गिरिमिट सेन्टर लोटोको तथ्याङ्कमा उल्लेख छ ।

उक्त समयमा नेपालबाट भारतमा काम गर्न गएका नेपालीहरूलाई फकाएर र धम्क्याएर फिजी लगिएको कुरा अघिल्लो लेख https://www.ghatanarabichar.com/165909 मा उल्लेख गरिसकिएको छ ।

केही समयको लागि भनेर लगिएका उनीहरू आफन्तसँग बिछोडको आँसु पिएर शताब्दीऔँ फिजीको वन फाँडेर उखु खेती गर्दै बसे । उनीहरू त्योबेला कति रोए, डिप्रेशनको सिकार भए र मारिए, कसैले देखेन । उनीहरूलाई बेलायती मालिकहरूले दिएको यातना र अपमानको कुरा कति भयानक छ कि सुन्दा मात्र पनि बेलायती साम्राज्यवादप्रति असीमित घृणा उम्लेर आउँछ ।

त्यहाँका नेपाली अग्रजहरूको भनाइअनुसार भूदासको रूपमा लगिएका कामदारका चेलीबेटी बेलायतीहरूबाट चाहेको बखत बलात्कृत हुन्थे, मारिन्थे वा अङ्गभङ्ग हुन्थे । नेपालीहरूलाई त तीन-चार जना पुरुषको लागि एउटी महिला राख्ने अनुमति थियो । महिलाहरू कम भएको भन्दै तीन-चार पुरुषको बीच एउटी महिला श्रीमतीको रूपमा राख्न अनिवार्य गरिएको अवस्थाले त्यहाँ परिवार वा आफ्नो बच्चा चिन्न पनि कति मुस्किल हुँदो हो ? सहजै अनुमान गर्न सकिन्छ ।

त्यहाँ पहिचानभन्दा जीवन प्यारो थियो र बेलायतीहरूको नियम नमानेको कुराबारे शङ्कामात्र हुँदा पनि ति व्यक्ति मारिन्थे वा जिउँदै गाडिन्थे ।

यस्तो कठोर अवस्थाको बीचमा पनि फिजीमा नेपाली प्रवीणदेव घर्तीका पुर्खाहरूले नेपालीपनका केही विशेषताहरू जोगाएर तीन-चार पुस्तासम्म लगातार हस्तान्तरण गरे । बेलायती मालिकहरूको चाबुक खाएको पुस्तातर्फ फर्केर हेर्दा उनीहरू अझै भावुक हुन्छन् र देश स्वतन्त्र भएपछिको अवस्थाले उनीहरूलाई धेरै राहत दिएको बताउँछन् ।

फिजीमा नेपालीको पहिलो पाइला :

सन् १८७९ मे १५ मा कलकत्ताबाट फिजीको राजधानी ‘शुभ’ पुगेको पहिलो जहाज ‘लियोनिदास’ले पहिलोपल्ट केही नेपालीहरूलाई फिजी टापुमा पुर्‍याएको थियो । फिजीका नेपालीहरूको भनाइअनुसार ४ सय ६३ जना कामदार र केही बेलायती बोकेको जहाज फिजी पुग्न ७५ दिन लागेको रहेछ । त्यो जहाजमा अनुमानित ५० देखि ११० सम्म नेपाली महिला पुरुष भएको अनुमान गरिन्छ ।

त्यसपछि गएका अरु खेपमा नेपालीहरूको अनुमानित सङ्ख्या ३ हजारदेखि ४ हजारसम्म रहेको अनुमान छ । फिजीको सबैभन्दा ठूलो टापु ‘मेन्ल्यान्ड, ‘भीटी लेभु’ र ‘भाउनुवा लेभु’अन्तर्गतका सिंग्गा टोका र लम्बासामा प्रशस्तै नेपालीहरूको बसोबास भेटिन्छ ।

पहिचान सामूहिकरूपमा बाँच्न सक्छ भने भाषा पनि प्रयोगले बाँच्ने हो । त्यो दुवै अवस्था नरहेपछि सानो वा एकल परिवेशमा भाषा र पहिचान बाँच्न सक्दैन । फिजीमा आफ्नो भाषिक पहिचान गुम्नुको पहिलो कारण त्यही हो ।

राई, घर्ती, मगर, थापा, न्यौपाने, पराजुली, तामाङ, गुरुङलगायतका नेपालीहरू बसोबास गर्ने नेपालीहरूको दुई पुस्ता बेलायतीहरूको दासतामै बित्यो । न उनीहरूले पढ्न पाए न आफ्नो पहिचानको बारेमा खोजीनीति गर्न नै पाए । बेलायती मालिकहरूले फुकेको सिठीको भरमा काम गर्ने र हिन्दी, अङ्ग्रेजी बोल्नुपर्ने बाध्यकारी कानुनको कारण आफ्नो भाषा क्रमस प्रयोगबाट टाढिँदै गयो । जसको कारण नेपालीहरूले भाषाको पुस्ता हस्तान्तरणलाई नियमित बनाउन सकेनन् । तर नेपाली खानको स्वाद भने उनीहरूको जिब्रोले कहिल्यै बिर्सेन । अझै पनि उनीहरूको चुलामा नेपाली परिकार पाक्छ, नेपाली भेषभुषा लगाउँछन्, चाडपर्वमा दशैँ तिहार मनाउँछन् । उनीहरूसँग सबै छ तर भाषा छैन । भाषाबिना पनि नेपाली पहिचान, नेपालप्रतिको अगाध माया, नेपाली प्रतिको असिम भातृत्व संसारमा कहीँ छ भने त्यो फिजीमा छ ।

कर्तब्य :

हराएका नेपाली खोज्ने राज्यको दायित्व हो । हराएका आफ्ना बान्धव वा परिवार खोज्ने नेपालीको परम्परागत संस्कार पनि हो । सय वर्ष हराएका बन्धुहरू खोज्ने र एक सय वर्षमा पनि घर नआए अन्तिम संस्कार गर्ने हाम्रो परम्परा छ । त्यसरी हराएर अन्तिम संस्कार गरिसकेका ती नेपालीहरू कतै हाम्रै आफन्त त हैनन् ? ढिलै भए पनि खोज्नु जरुरी छ । ती हाम्रै हराएका पुर्खाका सन्तान हुन सक्छन्, ती अहिले देश हाँकिरहेका देशकै नेतृत्वका आफन्त पनि हुन सक्छन् । वा, उपल्लो तहमा सेवारत कुनै पनि नेपाली कर्मचारीका आफन्त पनि हुन सक्छन् । हामीले ती हाम्रा बेलायती मालिकबाट अपहरित पुर्खाका सन्तानहरूलाई सम्मान साथ भेटेर अँगालौँ । युगले बिर्सदै गएका फिजीका एक नेपाली विजेन्द्र सिंहको यो गुनासो ‘न त नेपालीसँगको दोहोरो सम्बन्धबारे फिजी सरकारले साथ थियो न त नेपालले नै हामीलाई खोज्यो’, लाई सम्बोधन गर्नु एक परोपकार कर्म हुनेछ ।

‘भाषा मेटिएपछि आफ्नो राष्ट्रिय स्वाभिमानबारे बुझ्ने माध्यम सकिन्छ । नयाँ पुस्ता आफ्नो पहिचानमा पुरानो पुस्ता जति संवेदनशील छैन । त्यसैले पहिचान सम्पूर्ण रूपले सकिने हो कि भन्ने चिन्ताले त्यहाँका अघिल्लो पुस्ताका नेपालीहरू चिन्तित छन् । यसबारेमा अन्तर्राष्ट्रिय साहित्य समाज ‘अनेसास’का पूर्वकेन्द्रीय अध्यक्ष पदम विश्वकर्माले फिजीमा भाषिक सञ्जाल बिस्तार गर्दै भाषा कक्षा सञ्चालन गर्ने वचन दिएका थिए । तर अहिले विशेषगरी दोहोरो सम्बन्धको लागि पहल गर्ने कोही नेपाली संस्था गहन रूपले लागेको देखिँदैन ।

फिजीका नेपालीहरूले १ सय ३६ वर्षदेखि जोगाएर हुर्काएको आफ्नो पहिचान विस्तार र समृद्धिका लागि संसारभरका नेपालीसँग याचना गरिरहेका छन् । उनीहरूले भन्ने गरेका छन्, ‘बकुल्लालाई कागको बथानमा मिसाउँदैमा काग हुँदैन, हामी नेपाली जहाँ जसरी रहेका छौँ, नेपालीकै जस्तो भावना बोकेर रहेका छौँ । पुस्तौँपुस्तासम्म आफ्नोपनको निमित्त तड्पियौँ, अझैसम्म नेपालीपनमा गौरव गर्दै आएका छौँ, हामीलाई नेपाली बनेरै बाँच्न र मर्न मन छ । हाम्रो मुटु र रगत नेपाली हो, यसर्थ संसारभरका नेपालीहरूले यस विषयमा संवेदनशील भैदिनुहोस् र कमसेकम पुनर्मिलनको वातावरण बनाइदिनुहोस् ।’

उनीहरूले फिजीमा आफ्नो पहिलो र दोश्रो पुस्ताका दु:खका दिनहरू पनि सम्झिन्छन् र ठूला ठूला दुर्घटना सम्झेर भक्कानिन्छन् । त्यस्तै एक पुरानो दु:खदायी सम्झना छ उनीहरूको बीचमा ।

सन् १९८४ मे १७ मा भारतबाट अधिकतम् नेपाली र भारतीय ‘गिर्मिटिया’ कामदार लिएर गएको पानी जहाज फिजीको एक टापु नजिकैको ‘नेसलाई रिफ’मा ठोक्किएर ४ सय ९७ जना यात्रुसहित समुद्रमा डुबेको सम्झनाले उनीहरू अझै धमिलिन्छन् । त्यो जहाज दुर्घटना सम्झेर फिजीका नेपालीहरूले पूर्वको ‘टाइटनिक दुर्घटना’को उपमा दिँदै आफ्ना दिवङ्गत बन्धुहरूलाई श्रद्धाका फूल चढाउँछन् ।

फिजीको माटोमा पोखिएको नेपाली रगत र पुर्खाको प्राणको सम्मान गर्नु के सम्पूर्ण एनआरएनहरूको दायित्व हैन र ? नेपाल सरकारले दुर्घटनामा ज्यान गुमाएका सयौँ आफ्ना पुर्खाहरूको सम्मानमा फुल चढाउन ‘नेसलाई रिफ’मा कहिले पुग्ला खै ? फिजीका नेपालीहरूको सामुहिक प्रश्न हो यो ।

(पङ्क्तिकार नेपाल पत्रकार महासंघ र अन्तराष्ट्रिय पत्रकार महासंघमा समेत आबद्ध हुनुहुन्छ । -सं.)


1.557k
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल निजामती कर्मचारी संगठनले एमालेले सरकार नबनाए मुलुकमा थप अस्थिरता निम्तिने चेतावनी दिएको छ । संघीय संसदमा दोस्रो ठूलो दल

बुध्द एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुध्द एयरले आगामी पुस १७ देखि

समानुपातिक सांसद चयन गर्न कांग्रेस, एमाले र जसपाले शनिबार बैठक बोलाएका छन् । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय

नेपाल स्काउट र खड्का डेलभपमेन्टबीचको विवाद फेरि बल्झिएको छ । यसअघि पटकपटक स्काउटको स्वामित्वमा रहेको तथा हाल भाडामा खड्का डेभलपमेन्टले