एनआईसी एशिया बैंकले मेसिनबाटै नगद जम्मा गर्न सकिने व्यवस्था गरेको छ । यो सेवामार्फत ग्राहकहरुले सहजरूपमा बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्नेछन् भने भौचर भरेर लाइनमा बस्नुपर्ने बाध्यतासमेत अब टरेको छ ।
यो सेवा लिने ग्राहकले मेसिनबाट एक हजार रुपैयाँ र पाँच सय रुपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्छ । एकजना ग्राहकको खातामा एकपटकमा अधिकतम ९९ हजार ५ सय रुपैयाँ गरी दैनिक अधिकतम ९ लाख ९९ हजार ५ सय रुपैयाँसम्म नगद जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
सहज एवम् सरल बैंकिङलाई अंगाल्दै आएको बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्न सेवाग्राहीले उक्त मेसिनमा रकम जम्मा गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्दछ । उक्त ओटीपी मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुने बैंकले जनाएको छ ।
उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ ।
बैंकले यो सेवा हाललाई केन्द्रीय कार्यालय र न्यूरोड बिशालबजार शाखामा सञ्चालन गरेको छ । साथै निकट भविष्यमा देशका अन्य शाखाहरूमासमेत विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ । ज्ञातव्य छ, बैंकको अहिले देशभर ३५९ वटा शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया