सुक्ष्म रूपमा बुझौँ… !!

सुक्ष्म रूपमा बुझौँ… !!


  • मोहन लामा रुम्बा

नेपालमा वार्षिक रूपमा अर्बौं रुपैयाँ महिला/जनजाति/दलित आदि शीर्षकमा सबैभन्दा बढी रकम पश्चिमी आईएनजीओबाट आउने गर्छ भन्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो, यो ओपन सेक्रेट छ, नौलो अनौठो कुरा नै भएन नेपाल सरकारले नै रातो कार्पेट ओछ्याएर स्वागत गरेपछि आईएनजीओ अन्नदाता बनेर आउने भइहाल्यो ।

उनीहरूले लगानी दुई प्रकारले लगाउने गर्छ, एउटा खुल्ला सार्वजनिक रूपमा लगानी गर्ने गर्छन् भने दोस्रो गोप्य लगानी हुन्छ जुन त्यसको ‘लिने दिने’ दुई पक्षबीचमा मात्रै सम्झौता गरेको हुन्छ ।

खुल्ला रूपमा हुने लगानी त सबैलाई थाहा हुने कुरा भइहाल्यो, समाजकल्याण मन्त्रालयसँग पनि रेकर्ड हुन्छ, तर गोप्य लगानीबाट काम गराइरहेको बारेमा भने कसैले सुँइकोसम्म पनि पाउन सक्दैन । मात्र तपाईं-हामीले अनुमानसम्म लगाउने हो ।

महिलामा लगानी महिला सशक्तीकरण, महिला वक्तृत्व कला, भन्दै जनजाति, दलित जातिमा चेतना अभिवृद्धि कार्यक्रम, जस्तो शीर्षकमा लगानी ओइराएको हुन्छ । र, प्रस्ताव पेश गरेर पैसा लैजानेले उनीहरूको योजना उद्देश्यको परिधिभित्र रहेर परियोजना पेश गरेर पैसा लगेर काम गर्ने गर्छन् ।

पश्चिमी देशले आफ्नो लगानी शुन्य उपलब्धि हुने ठाउँमा एक सुका पनि खर्च गर्दैन । धेरै लामो दीर्घकालीन उद्देश्य प्राप्तिको लागि उनीहरू अहिल्यै देखि जरोमा मलजल गरेर दशकौँपछि बिरुवा उम्रेर फल टिप्ने उद्देश्यले लगानी ओइराउने हो ।

महिला सशक्तीकरण नाउँमा प्रशिक्षण दिने भनेको केही होइन, सबैले एकहोरो ‘पितृसत्तात्मक राज्य’ यो ‘पुरुषप्रधान मुलुक’, भन्न सिक्ने हो । उनीहरूको दिमागमा ‘पितृसत्तात्मक राज्य’ भनेको विश्वमा नेपाल मात्रै हो, त्यो पनि हिन्दुमा मात्रै रहेछ भनेर दिमागमा जब्बर घुसाएर पठाउने हो । यस्तो प्रशिक्षण तालिमपछि उत्पादन गर्ने महिला भनेको संस्कारहीन नारीको उत्पादन गर्नु हो । प्राय: हेर्नुहोला आइएनजीओको रकममा महिला हकअधिकार भन्दै हिँड्नेहरूको घर भाँडिएको महिला नै हुन्छ ।

दलित उत्थान दलितको चेतना अभिवृद्धि कार्यक्रम भनेको केही हुने होइन । प्रशिक्षण दिने प्रशिक्षकले हिन्दुवादले लादिएको छुवाछुत प्रथा भन्दै सामाजिक कुरितिलाई धर्मसँग जोड्दै धर्ममाथि धारेहात लगाउँदै प्रशिक्षण दिने हो ।

प्रशिक्षण लिइसकेकालाई बाबुराम भट्टराई जस्तो नेताले दलित भएर पनि हिन्दु धर्म अझैसम्म मानेर बस्ने हो ? धर्म छोड्न पर्दैन ? भन्दै हिन्दुधर्म छोड्न उत्प्रेरित होस् भन्ने हेतुले प्रशिक्षण दिने हो । त्यहाँ कुनै दलितको साँझबिहान चुल्हो बल्ने जिविकोपार्जन हुनेसँग सम्बन्धित परियोजना हुने होइन ।

विभिन्न जनजाति आदिवासी सङ्घ-संस्थालाई जनजातिका चेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम भन्दै महँगो-महँगो होटलमा प्रशिक्षण दिने व्यवस्था गर्छ ।

जनजाति आदिवासीको आइएनजीओले दिने चेतना अभिवृद्धि कार्यक्रम भनेको केही पनि होइन । जनजाति आदिवासीको दुर्गममा गाउँमा गएर आर्थिक आयआर्जन गर्ने बाटो देखाउने, आर्थिक रूपमा स्वावलम्बी हुन सक्ने आधुनिक कृषि तालिम, नगदेबाली लगाउने, उन्नत जातका पशुपालन गरेर आर्थिक रूपमा उक्सिने चेतना अभिवृद्धि कार्यक्रम दिने होइन ।

त्यहाँ प्रशिक्षण दिने भनेको ब्राह्मणवादद्वारा आदिवासी जनजातिमाथि भएको शोषणको विरुद्धमा हामी एक हुनुपर्छ ! अढाई सय वर्षअगाडि पृथ्वीनारायणले हाम्रो भूमि कब्जा गरेको !! बाहुनवादले हाम्रो धर्म संस्कृति नास गरेको !! बाहुनहरू भारतबाट आएर हामीमाथि शासन गर्दैछ, ब्राह्मणवाद विरुद्धमा अहिले नलडे कहिले लड्ने ? भन्दै दुई-तीन घण्टा भाषण दिएर उक्साएर पठाउनेलाई नै चेतना अभिवृद्धि कार्यक्रम भनिन्छ ।

यस्तो चेतना पाएपछि बाहुन देख्नेबित्तिकै नाकमा हानुँ-हानुँ लाग्ने समाज बनाउनु नै पश्चिमीहरूको उपलब्धि हो । यी सबै नेपाल सरकारको रोहवरमा नै विदेशीले खुलेआम लगानीमा गरिरहेको छ । सरकारलाई थाहा छ, नेताहरूलाई थाहा छ, बुद्धिजीवी, लेखक, पत्रकार, साहित्यकार सबैलाई थाहा छ तर बोल्दैनन् कुरा यति हो । यो त गैरसरकारी संस्थाले खुल्ला वैधानिक रूपमा सञ्चालन गर्दै आइरहेको कुरा भयो सबैलाई थाहा छ हुन्छ तर धेरैले थाहा नपाउने भेउ नपाउनेगरि योभन्दा बढी लगानी त गोप्य रूपमा अर्को लगानी हुने गर्छ जुन कुरा सर्वसाधारणको जानकारीमा हुन्न ।

शिक्षा, स्वास्थ्य, साहित्य कला हरेक क्षेत्रमा गोप्य रूपमा लगानी ओइराएको हुन्छ जुन हामीले ख्याल नै गरेको हुन्न । त्यसैमध्ये साहित्य क्षेत्रमा पनि वार्षिक करोडौँ रकम साहित्यकारको खातामा पुगिरहेको हुन्छ ।

एउटा सानो उदाहरण दिन्छु, एकजना लेखकले ‘झोला’ उपन्यास लेख्यो, त्यसैको आधारमा अर्कोले फिल्म बनायो, त्यो फिल्मलाई देशैभर ‘च्यारिटी शो’ क्रिश्चियन संस्थाले आयोजना गर्दै हिँड्यो मात्रै होइन, निजी स्कुलमा परीक्षामा समेत सामेल गरियो । यो सबै म्याच पहिल्यै फिक्सिङ थियो ।

अमर न्यौपानेको ‘सेतो धर्ती’ उपन्यास बाहिर आउने बित्तिकै मैले पाँच-सात वर्षअगाडि पत्रकार हरिहर भाइले स्थानीय च्यानलमा अन्तर्वार्ता लिँदा यो विदेशी लगानीमा लेखिएको उपन्यास हो भनेर बोलेका थिएँ, अहिले पनि रेकर्ड होला तर कसैले पत्याउने बेला थिएन मेरो कुरा हास्यास्पद नै थियो त्यतिबेला ।

अहिले तिनै अमर न्यौपानेको अर्को उपन्यास आएको रहेछ ‘पानीको घाम’ भन्ने । यसमा युरोपेली युनियनले सहयोग पुर्‍याएको भनेर आफैंले श्रोत हल्का खुलाएको रहेछ । उनले नखुलाएको भए पनि यसै थाहा हुने थियो किनभने कुन शीर्षकमा कुन कुरालाई जोडेर लेखेपछि युरोपेली युनियनबाट पैसा आउँछ भन्ने अब त लाटोले पनि बुझ्ने भइसकेको छ ।

युग पाठक, खगेन्द्र सङ्ग्रौला, भवानी बराल, अरुण बराल, कृष्ण धारावासी जस्ता सयौँ नेपालमा लेखक छन् । यिनीहरूको कलमको डोब हेर्नु तीन वटा विषयमा मात्रै केन्द्रित हुन्छ महिला जनजाती दलित !! त्योभन्दा बाहिर निक्लेर आजको जल्दाबल्दा समस्या, बेरोजगारी, भ्रष्टाचार गरिबीको कारण युवा पुस्ता विदेश पलायनले ल्याएको सामाजिक समस्या, द्वन्द्वकालमा अनाहकमा अर्बौं जनधनको क्षति बारेमा कुनै डलरे साहित्यकारले नेपाली समाजको जल्दाबल्दा विषयमा लेख्दैन ।

किन लेख्दैन भने युरोपेली युनियनले यस्तो शीर्षकमा पैसा नै छुट्याएको हुँदैन । जुन शीर्षकमा साहित्य रचना गर्न कलाकारलाई कला देखाउन पैसा छुट्याएको हुन्छ त्यही शीर्षकअनुसारको साहित्यकारले साहित्य रचना गर्ने हो भने कलाकारले अभिनय गर्ने हो । त्यही शीर्षकअनुसारको विधुवा महिलाको अभिनय गरेको थियो कलाकार मनोज गजुरेलले पनि ।

साहित्यकारलाई किन दिन्छन् त यो शीर्षकमा यत्रो पैसा ? सामान्य दिमाग लगाएर सोच्नुस् त !

तपाईंले यूरोप रसिया चीनमा नेपालमा जस्तो आफ्नै इतिहासको कालो कालखण्डको चिरफार गर्ने साहित्यकार देख्नुभएको छ ? लाखौँ प्रकृतिपूजक पेगन (८० प्रतिशत जति महिला)लाई धर्म परिवर्तन गर्न नमानेको कारण गोराहरूले क्रुरतापूर्वक (१४८४-१७५०) सम्म लाखौँ मान्छे मारेका थिए । कसैले यस्तो कथबस्तुमा उपन्यास लेखेर, कोही त्यसको समीक्षा गरेर कोही प्रचार गरेर आफ्नो देशको इतिहासको खिल्ली उडाउने काम गरेको देख्नुभएको छ ? गर्दैन । किन ?

दक्षिण अफ्रिकाबाट करिब दुई करोड अफ्रिकी मूलका मानिसलाई पशुसरह बाँधेर अमेरिका ल्याइएको होलोकाष्ट (१५१७-१८४०) शताब्दीऔँसम्म गरे, त्यतिबेलाको क्रुर ऐतिहासिक घटनालाई कथा वस्तु बनाएर उपन्यास लेख्ने,समिक्षा गर्ने कुनै संस्थाले पुरस्कार दिएर प्रचारप्रसार गर्ने गरेको पाउनु भएको छ ? छैन । किन ?

चीनमा साँस्कृतिक क्रान्तिका दौरान दशौँ लाख मान्छे भोकभोकै मरे, कयौँलाई प्रतिक्रान्तिकारी भन्दै सामुहिक नरसंहार गरेको थियो, यस्तो विषयमा कुनै चिनियाँ साहित्यकारले इतिहासको यो निर्मम कालखण्डलाई लिएर कुनै उपन्यासमा कथाबस्तु तयार गरेर भावुक बनाउने साहित्य रचना गरेको पाउनु भएको छ ? छैन । किन ?

हुँदैन, कुनै पनि देशको साहित्यकारले आफ्नो देशको समाजको गौरव बढ्ने नयाँ पुस्तालाई अगाडि बढ्न प्रेरित गर्ने साहित्य रचना गर्छन् तर विगतपटि फर्केर आफ्नै इतिहासको समाजको धज्जी उडाउने काम गर्दैन ।

उनीहरूलाई पनि थाहा छ जुनसुकै मुलुकमा इतिहासमा कमी कमजोरी धेरै-थोरै हुन्छ । फरक यति हो कि उनीहरूले आफ्नो इतिहासमा भएको कमी-कमजोरीलाई लुकाएर राखेर अर्काको देशको चाहिँ उदाङ्गो बनाउने गर्छन् ।

त्यसको लागि उनीहरूले उहिल्यै हराइसकेको सतीप्रथा विधुवा, बालविवाह जस्ता इतिहास बनिसकेका कुसंस्कारलाई तारो बनाएर त्यो देशको भाडाको साहित्यकार कलाकारमार्फत बाहिर ल्याएर छरपस्ट पार्न खोज्छ ताकि तिनका समाज आफ्नो इतिहासप्रति गर्व बोध नगरुन् ! आफ्नो सभ्यता संस्कृतिप्रति उदासिनता छाओस् ! रुष्ट होस् !! इतिहासको एक कालखण्डमा गैसकेको कुरुप इतिहास पल्टाएर नङ्ग्याउन् !!

हो, यही उद्देश्यबाट पश्चिमी मुलुकहरू हाम्रो जस्तो पिछडिएको देशमा बौद्धिक वर्गमार्फत साहित्यकार कलाकार किनेर घुमाउरो रूपमा आफ्नो एजेन्डा सेट गराउन महिला उत्पिडन, दलित जनजाति उत्पिडनको कथा पस्केर हाम्रो मनोविज्ञान माथि emotional blackmaling गरिरहेको हुन्छ जुन कुरा हत्तपत्त तपाईंले भेउ पाउनुहुन्न । अहिले ‘इजोरिया’ भन्ने उपन्यासको प्रचारप्रसारको तौरतरिका हेर्नुस् कसले कुन ग्रुपमार्फत फण्डिङ उपन्यासको भाइरल कसरी गराउँछ भनेर बुझ्न सहजै सकिन्छ…!