६९ वर्षअघि न्युजिलैण्डमा सत्यमोहन जोशीको त्यो नाच

६९ वर्षअघि न्युजिलैण्डमा सत्यमोहन जोशीको त्यो नाच


इतिहास
  • सुनिल उलक

न्युजिलैण्ड पुग्ने पहिलो नेपाली सत्यमोहन जोशी थिए । न्युजिलैण्डका एडमण्ड हिलारीले सगरमाथा चढेको तीन दिनपछि २०१० सालको जेठ १९ मा सत्यमोहन जोशी न्युजिलैण्डका लागि उडेका थिए । त्यहाँ सत्यमोहनको स्वागत गर्दा ‘सगरमाथाको देशबाट…’ भनेर चिनाइएको थियो । ‘एडमण्ड हिलारीसँगै सगरमाथाको टुप्पा पुग्ने तेन्जिङका गाउँले’ भनेर सत्यमोहनलाई चिनाइएको थियो ।

त्यो बेला न्युजिलैण्ड जानु त्यति सहज थिएन । काठमाडौं गौचर अड्डाबाट पटना, पटनाबाट मुजफ्फरपुर, मुजफ्फरपुरबाट कलकत्ता, कलकत्ताबाट सिंगापुर, सिंगापुरबाट इन्डोनेशियाको जकार्ता र जकार्ताबाट अष्ट्रेलियाको डार्विन पुग्नुपर्दथ्यो । डार्विनबाट फेरि सिड्नी र सिड्नीबाट बल्ल न्युजिलैण्डको वेलिङ्टन पुग्नुपथ्र्यो । अचेल पनि ४० घण्टा जति समय लाग्ने वेलिङ्टन पुग्न त्यसबेला पाँच दिन लागेको थियो । सोमबार दिउँसो ३ बजे काठमाडौं छोडेको शुक्रबारको दिउँसो मात्र वेलिङ्टन पुगेका थिए ।

काठमाडौंमा जेठको गर्मीमा साधारण नेपाली पोशाक र भादगाउँले टोपीमा ठाँट्टिएर हिँडेका सत्यमोहन वेलिङ्टनमा विमानबाट झर्दा त्यहाँको चिसोले लगलगी काँपेका थिए । त्यहाँ सत्यमोहनको भव्य स्वागत भएको थियोे । जताजतै एभरेष्टको देशको मानिस भनेर सम्मान गर्दा आफ्नो देशको उच्च शिखर सगरमाथाप्रति गर्वित भएका थिए ।

न्युजिलैण्डमा तीन महिनाको तालिम अवधिमा वहाँका सहयोगी हुनुहुन्थ्यो, जी.ई. वुड । जर्ज एर्नेष्ट फ्रान्सिस वुड, न्युजिलैण्डका प्रमुख तथ्यांकविद हुनुहुन्थ्यो । साथै लामो अवधि न्युजिलैण्ड सरकारको तथ्याङ्कविदको रूपमा कार्यरत रहनुभएको थियो ।

न्युजिलैण्ड उत्तर–दक्षिण फैलिएको दुई टापुबाट बनेको देश हो । वेलिङ्टन अर्थात् उत्तरी टापुमा तालिमका लागि बसिरहेका सत्यमोहनलाई एकदिन दक्षिण टापुमा बसिरहेका एक गोराले नेपाली पारामा निम्तो पठायो । क्राइस्टचर्च (दक्षिण टापुको एक शहर)मा बसेका यी ब्रेटले जुद्धशम्शेरको शासनकालमा दोश्रो विश्वयुद्धताका स्वयम्भू बारुदखानामा काम गरेका इन्जिनियर रहेछन् । नेपालको याद गर्दै आफ्नो घरको सजावट नै नेपाली बनाएर बसेका उनले समाचारमा एक नेपाली युवक न्युजिलैण्ड पुगेको थाहा पाएपछि कौतुहल जाग्नु अस्वभाविक थिएन ।

सत्यमोहन जोशी पनि उनको आतिथ्यता स्विकार गर्दै रातभरको पानीजहाजको यात्रा तय गरेर उनको घर पुगे । नेपाली राडीपाखी र खुकुरी सजाएको देखेपछि उनलाई नेपाली खानपानको पनि केही जानकारी दिए । न्युजिलैण्ड पुगेदेखि नेपाली खानाको स्वाद चाख्न नपाएका सत्यमोहनलाई नेपालकै घर पुगेजस्तो भयो । गुन्द्रुक बोकेर वेलिङ्टन पुगेको भए पनि पकाएर खान पाएका थिएनन् । बेला–बेलामा यतैबाट बोकेर गएको च्युरा चपाउनुबाहेक अरु नेपाली खानेकुरा चाख्न पाएका थिएनन् । ब्रेटलेको श्रीमतीलाई गुन्द्रुक पकाउन सिकाउने बहानामा क्राइस्टचर्चमा पुगेर नेपाली स्वादको गुन्द्रुक र भात खान पाए ।

तीन महिनाका लागि गएको भए पनि तालिमको क्रममा झण्डै चार महिना उतै रहे । न्युजिलैण्डको बिदाइको समय भएपछि न्युजिलैण्ड सरकारको तथ्याङ्क विभागले बिदाइ कार्यक्रमको आयोजना तथ्याङ्क विभागकै हलमा असोज १२ को राति गरेको थियो । सो पार्टीमा जर्ज वुड पनि सपरिवार आएका थिए । पार्टी निकै रमाइलो थियो । साथमा नाचगान पनि भयो । यस्तैमा कुर्सीमा थपक्क बसेर रमाइलो मानिरहेका सत्यमोहनसामु जर्ज वुडकी भर्खरकी छोरीले May I request you to dance भन्दै हात समाउन आए । कर गरिसकेपछि अस्विकार गर्नु भएन भन्दै मिस वुडको हत्केला समाएर सत्यमोहन पनि नाच्न थालिहाले ।

श्रीमती एलिन र यिनै छोरीलाई छोडेर २०३५ को पौषमा जर्ज वुडको ७८ वर्षको उमेरमा देहान्त भएको थियो ।

(सत्यमोहन जोशीको पुस्तकका साथै वहाँसँग भएको कुराकानीको आधारमा लेखिएको ।– लेखक)