२३ मंसिर २०७९, शुक्रबार

‘तुषानल’ले उजागर गरेको नेपाली राजनीतिको विकृत पाटो

  प्रकाशित मिति
१ कार्तिक २०७९, मंगलबार १२:५०


आरजु राणाले शेरबहादुर देउवालाई विवाह गरेपछि एकाएक नेपाली काङ्ग्रेसमा विग्रह सुरु हुनु, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधि जस्ता अग्रज तथा पार्टीभित्र अत्यन्त प्रभावशाली भनिएका नेताहरू राजनीतिमा सक्रिय हुँदाहुँदै देउवा प्रधानमन्त्री बन्नु संयोग मात्रै थिएन । यो पृष्ठभूमि थाहा नपाउनेहरूका लागि कृष्णप्रसाद भट्टराईविरुद्ध गरिएको अन्तरघात प्रकरणका घटनाहरू सामान्य टिप्पणी जस्ता मात्रै लाग्छन् ।
  • महेन्द्र पाण्डेय

वरिष्ठ पत्रकार एवम् मुर्धन्य लेखक देवप्रकाश त्रिपाठीको पछिल्लो कृति ‘तुषानल’ले यतिबेला नेपालको पुस्तक बजारमा तहल्का मच्चाएको छ । २०४८ सालयताका नेपाली राजनीतिका केही महत्वपूर्ण घटनाहरू समेटिएका कारण पनि तुषानलले खासगरी राजनीतिक वृत्त एवम् सचेत तप्काबीच यति धेरै चर्चा पाएको हो । जुन राजनीतिक घटनामा लेखक स्वयं साक्षी या पात्र छन्, ती घटनाहरू समेटिएका कारण पुस्तक जति रोचक छ, त्यति नै सनसनीपूर्ण छ ।

आफूलाई मुख्य पात्र बनाएर लेखिएका घटनाप्रधान पुस्तकहरू लेख्ने लहर नै चलेको छ पछिल्लो कालखण्डमा । आफै पात्र बनेर लेखिएका पुस्तकहरूले निश्चय पनि आफूबाहेक अरुलाई न्याय गर्दैनन्, न्याय गरिहाले भने पनि आफूलाई मनपर्ने वा आफ्नो स्वार्थ सिद्ध हुनेहरूको गुणगान गाउँछन् । यस्तो आम मान्यता तथा आम मान्छेहरूको मनोभावनाविपरीत छ यो पुस्तक । आफैले आफ्नै क्रियाकलापको आलोचना गरेर पुस्तक लेख्नेहरू नेपालमा त छैनन् नै, विश्वमा पनि अत्यन्त दुर्लभ छन् । तुषानल पुस्तकले तिनै दुर्लभ लेखकहरूको सूचिमा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीलाई उभ्याएको छ भन्दा अतिरञ्जना ठहरिँदैन ।

२०४८ सालयताको तीन दशक नेपालको राजनीतिमा सबैभन्दा धेरै उथलपुथल भयो । यी उथलपुथलमध्ये केही अपवादबाहेक धेरै उथलपुथलहरूमा पात्रहरू दोहोरिएनन् । यो तीन दशकका प्राय उथलपुथलहरूका साक्षी तथा पात्र कि त गिरिजाप्रसाद कोइराला देखिए कि देवप्रकाश त्रिपाठी । गिरिजाप्रसाद कोइरालाले त यी महत्वपूर्ण घटनालाई लिपिवद्ध गर्ने कुरै भएन । उनको क्षमता र कार्य क्षेत्रभित्र त्यो परेन । तर, वरिष्ठ पत्रकार त्रिपाठीको भने कार्यक्षेत्र तथा क्षमता दुवै रह्यो । त्रिपाठीलाई नजिकबाट बुझ्नेहरूले कुनै न कुनै दिन यी घटनाका अन्तर्यहरू बाहिर ल्याउलान् भन्ने अनुमान गरेका थिए । तर यो ढङ्गले ल्याउलान् भन्ने अनुमानचाहिँ सायद कसैले गरेका थिएनन् । अरु लेखकहरूले जस्तै आफूलाई पानीमाथिको ओभानो बनाएर अक्षरको दुरुपयोग गर्लान् भन्ने धेरैको अनुमान थियो, तर आफ्ना कमी-कमजोरीहरू समेत मिहीन रूपमा उजागर गर्न त्रिपाठी हिच्किचाएनन् । बुद्धत्व प्राप्त गरिसकेको दार्शनिक भन्न मिल्ने गरी आफूलाई प्रस्तुत गर्न त्रिपाठी सफल भए । सामान्यतया पत्रकार भनेका घटनाका सर्जक हुँदैनन्, घटनाका टिप्पणीकर्ता मात्रै हुन्छन् । घटनालाई जनमानसमा पु¥याउने भूमिका पत्रकारहरूको हुन्छ, तर नेपाली पत्रकारिता क्षेत्रका एक उज्जवल नक्षत्र त्रिपाठी कतिपय घटनाका आफै सर्जक बनेको देखिन्छ, तर पत्रकारिताको सीमा तथा धर्मलाई समेत मनन गर्दै ती रहस्यपूर्ण एवम् रोचक घटनाहरू लामो समयसम्म गोप्य राख्ने अद्भुत साहस अँगालेको देखिन्छ ।

लेखकले पाठकलाई कतिसम्म न्याय गरे भन्ने कुराको उदाहरण पुस्तकको नाम नै काफी छ । तुषानल भनेको प्राचीनकालमा ऋषिमुनीहरूले प्रयोग गर्ने संस्कृत भाषाको शब्द हो । अहिले चलनचल्तीमा यो शब्द छैन । सुधार गर्न नसकिने गल्ती आफूबाट भएको थाहा पाएपछि प्राचीन कालका ऋषिमुनीहरूले सुकेको कुश जम्मा गरेर आगो बाल्थे । त्यो आगोलाई ‘तुषानल’ भनिन्थ्यो । त्यही तुषानलमा जलेर उनीहरूले देह त्याग गर्थे । सरल भाषामा बुझ्नुपर्दा चाहिँ तुषानलको अर्थ ‘भुसको आगो’ हो । तीन दशकयताको नेपाली राजनीतिमा कुनै आदरणीय पात्र छन् भने ती पात्र कृष्णप्रसाद भट्टराई मात्रै हुन् भन्ने आम जनबुझाइलाई लेखक त्रिपाठीले थप पुष्टि गरेका छन् । तर तिनै कृष्णप्रसाद भट्टराईविरुद्धको षडयन्त्रमा आफ्नोसमेत संलग्नता रहेको कुरा उजागर गर्दै प्रायश्चित गरेका छन् । कलियुगमा प्रायश्चित गर्नु भनेको पनि तुषानलमा होमिनुसरह हो । सायद यही घटनालाई स्मरण गर्दै लेखक त्रिपाठीले यो कीर्तिको नाम ‘तुषानल’ राखेको हुनुपर्छ ।

आफू साक्षीका रूपमा संलग्न भएका घटनाहरूलाई मात्रै समेटिएका कारण पनि हुनसक्छ, कतिपय महत्वपूर्ण प्रकरणहरू छुटेका छन् । जसका कारण घटनाका पृष्ठभूमि ओझेलमा परेका छन् । उदाहरणका लागि २०५१ सालमा काठमाडौं क्षेत्र नं १ को उपनिर्वाचनमा उम्मेद्वार बनेका नेपाली काङ्ग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गराउन भए-गरेका षड्यन्त्र तथा प्रयासहरूलाई प्रत्यक्षदर्शी तथा एक जना पात्रको हिसाबले लेखकले धेरै कुरा उजागर गरेका छन् । त्यो अन्तरघात प्रकरणमा के–के गरियो भन्ने कुराको उत्तर बुलन्द रूपमा आएको छ । तर अन्तरघातको पृष्ठभूमि उल्लेख गर्न लेखकले आवश्यक किन ठानेनन् ? यो प्रश्न भने पाठकहरूको दिमागमा उब्जनु स्वभाविकै हो ।

कम्तिमा पनि जुद्धशम्शेरकी नातिनी आरजु राणाले तत्कालिन गृहमन्त्री शेरबहादुर देउवासँग किन विवाह गरिन् भन्ने विषयमा एक-दुई वटा अनुच्छेद आउनुपर्थ्यो । मदन भण्डारीको हत्यापछि उक्त उपचुनाव भएको थियो । त्यसैले मदन भण्डारीको हत्याकाण्डका सन्दर्भमा पनि केही कुरा उल्लेख भएको भए नयाँ पुस्ताका पाठकहरूलाई सहज हुने थियो । आरजु राणाले शेरबहादुर देउवालाई विवाह गरेपछि एकाएक नेपाली काङ्ग्रेसमा विग्रह सुरु हुनु, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधि जस्ता अग्रज तथा पार्टीभित्र अत्यन्त प्रभावशाली भनिएका नेताहरू राजनीतिमा सक्रिय हुँदाहुँदै देउवा प्रधानमन्त्री बन्नु संयोग मात्रै थिएन । यो पृष्ठभूमि थाहा नपाउनेहरूका लागि कृष्णप्रसाद भट्टराईविरुद्ध गरिएको अन्तरघात प्रकरणका घटनाहरू सामान्य टिप्पणी जस्ता मात्रै लाग्छन् ।

यसैगरी पुस्तकमा तिब्बती खम्पा विद्रोहमा अमेरिकी गुप्तचर संस्था सिआइएको बारेमा धेरै कुरा उजागर गरिएको छ । तर खम्पा विद्रोहीका मुख्य नेता जे वाङ्दीलाई दार्चुलामा सुरक्षित रूपमा सेल्टर बनाएर राख्ने तत्कालिन विद्यार्थी नेताको विषयमा उल्लेख गर्नु लेखकले आवश्यक नठान्नुको विशेष कारण पाठकले खोज्नु स्वभाविकै हो । किनकि पुस्तकमा नेपालमाथि भइरहेको पश्चिमा षडयन्त्र सफल हुँदै गएको विषयमा केही गुदी कुराहरू उल्लेख छन् । तर एकाएक पश्चिमाहरू हाबी कसरी भए ? भन्ने प्रश्न पाठकको मनमा उब्जनु स्वभाविकै हो । तर अन्तरघात प्रकरणमा तत्कालिन गृहमन्त्री शेरबहादुर देउवा संलग्न नभएको कुरा लेखकले उल्लेख गरेका छन् । देउवा आफ्नो निजी मामिलामा कतिसम्म चतुर रहेछन् भन्ने कुरा थप उजागर भएको छ ।

हुन त पत्रकारितालाई हतारको साहित्य भन्ने गरिएको छ । त्यसैले पत्रकारद्वारा लेखिने अरु विषयबस्तु पनि हतारका उपज हुन सक्छन् । केही घटनाहरूमा लेखक त्रिपाठी स्वयम् नै हतारिएको देखिन्छ, जुन कुरा इमान्दारिताका साथ पुस्तकमा लेखिएको पनि छ । त्यसको महसूस लेखक स्वयंले गरेका छन् । पहिलो उदाहरणका रूपमा कृष्णप्रसाद भट्टराईको अन्तरघात प्रकरणका केही घटनालाई लिन सकिन्छ । एमाले नेता प्रदीप नेपाल र काङ्ग्रेस नेता शम्भु पोखरेल एउटै बाजेबज्यैका नातीहरू हुन्, तर आफ्नो पार्टी एमालेको स्वार्थका निम्ति प्रदीप नेपालले गौ प्राणी जस्ता शम्भु पोखरेलको राजनीति समाप्त नै पारिदिएको घटनासमेत उजागर भएको छ ।

त्यसो त डा. बाबुराम भट्टराई र रामचन्द्र पौडेलबीचका कतिपय मामिलामा समेत आफूले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको अपत्यारिलो सत्यता लेखकले उजागर गरेका छन् । डा. भट्टराई र पौडेल एउटै थातथलो भएका नेता मात्रै नभएर तीन तिरबाट नाता पर्ने कुटुम्बसमेत हुन् भन्ने जानकारी भएकाहरूका निम्ति लेखक त्रिपाठीले गरेको मध्यस्थताको प्रयास अपत्यारितो सत्य हो । सायद यो प्रकरणका पात्रहरूले लेखक त्रिपाठीलाई परीक्षण गरेका हुन पनि सक्छन् ।

पंक्तिकारलाई अपत्यारिलो लाग्ने अर्को सत्य घटना पनि पुस्तकमा उल्लेख छ । त्यो घटना हो बैद्धिक सनातन धर्म संस्कृतिका विख्यात दार्शनिक डा. निर्मलमणि अधिकारीको प्रसङ्ग । केही करोड रुपैंयाँका निम्ति डा. अधिकारी माओवादीका सुप्रिमो ‘प्रचण्ड’को हत्या गर्ने असफल षड्यन्त्रमा सामेल भएको घटना पनि लेखकले उल्लेख गरेका छन् । नपत्याउँ त त्रिपाठी जस्ता मुर्धन्य लेखकले केही सवुदसहित उल्लेख गरेका छन्, यी सवुदबारे निर्मलमणि अधिकारी अहिलेसम्म बोलेका छैनन् । पत्याउँ त यस्तो जघन्य षड्यन्त्रमा निर्मलमणि जस्ता विद्वान् संलग्न भए होलान् भन्ने यो मनले स्वीकार गर्दैन ।

माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन भए/गरेका प्रयास अध्ययन गर्ने विद्यार्थीहरूको लागि तुषानल पुस्तक भरपर्दो स्रोत हुने कुरामा शंका छैन । माओवादीभित्र र संसदवादी दलहरूभित्र तत्कालिन राजदरबारको निकै ठूलो पहुँच थियो भन्ने आम राजनीतिकर्मीहरूको अनुमानलाई लेखकले तथ्य घटनासहित उल्लेख गरेका छन् । तै पनि दरबारको यो पकड छिचोल्न नेपाली काङ्ग्रेसका तत्कालिन नेता गिरिजाप्रसाद कोइराला सफल भए । कोइराला आफ्नै चतु¥याइँका कारण सफल भएका हुन् वा संयोग मात्रै हो ? अथवा भारत र पश्चिमाहरू आफ्नो मिसनमा सफल भएका हुन् ? भन्ने प्रश्न अनुत्तरित थियो । तर यो प्रश्नको लेखक त्रिपाठीले आफ्नो प्रश्नमार्फत उत्तर दिएका छन् ।

जसरी मदन भण्डारीको हत्या, काङ्ग्रेसभित्रको अन्तरघात प्रकरणले आरजु राणालाई नेपाली राजनीतिको सर्वाधिक शक्तिशाली पात्र बनाउने मार्ग प्रशस्त गरेको थियो, त्यसरी नै एमालेको विभाजनले माओवादीको सशस्त्र विद्रोहलाई ठूलो त्राण दिएको थियो । एमाले विभाजन नगरिँदासम्म माओवादीको सशस्त्र युद्धले कत्ति पनि गति लिन नसकेको यर्थाथतालाई नजरअन्दाज गर्न मिल्दैन । एमाले विभाजन गरी माले पार्टी निर्माण गर्ने प्रकरणमा भएको आफ्नो संलग्नतालाई लेखक त्रिपाठीले लुकाएका छैनन् । किन र केका लागि यस्तो काम हुँदैछ ? भन्ने भेउ नराखी अघि बढ्ने खुमबहादुर खड्का नेपाली राजनीतिका अत्यन्त बफादार सिपाही थिए । जुन कुरा लेखक त्रिपाठीले खुलेरै उल्लेख गरेका छन् । त्यतिबेला प्रहरीको स्कर्टिङमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हुने गरेको पहेँलो धातु ओसारपसारको प्रकरण मात्रै एमाले विभाजनको कारक थिएन, एमालेका कार्यकर्ताहरू माओवादीमा मिसाउने ठूलो षड्यन्त्र थियो । त्यसैले पनि लेखक त्रिपाठीले प्रस्तुत पुस्तकको नाम तुषानल राखेका हुन सक्छन् । नेपाली सेनाभित्र भएको माओवादीको पकडका सन्दर्भमा लेखक त्रिपाठीले सनसनीपूर्ण तथ्यहरू उजागर गरेका छन् । अमेरिकी प्रभाव मात्रै होइन, नेपाली राजनीतिमा भारतका खेतालाहरूको चलखेल पनि पुस्तकमा सबिस्तार आएको छ ।


1.215k
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल निजामती कर्मचारी संगठनले एमालेले सरकार नबनाए मुलुकमा थप अस्थिरता निम्तिने चेतावनी दिएको छ । संघीय संसदमा दोस्रो ठूलो दल

बुध्द एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । बुध्द एयरले आगामी पुस १७ देखि

समानुपातिक सांसद चयन गर्न कांग्रेस, एमाले र जसपाले शनिबार बैठक बोलाएका छन् । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय

नेपाल स्काउट र खड्का डेलभपमेन्टबीचको विवाद फेरि बल्झिएको छ । यसअघि पटकपटक स्काउटको स्वामित्वमा रहेको तथा हाल भाडामा खड्का डेभलपमेन्टले