कुलमानलाई खडा गरेर माओवादीले ‘तहल्का’ मच्चाउने !

कुलमानलाई खडा गरेर माओवादीले ‘तहल्का’ मच्चाउने !


माओवादीले चुनावी लहर आफ्नो पक्षमा बनाउन नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको लोकप्रियतालाई प्रयोग गर्ने भएको छ । माओवादीसम्वद्ध सूत्रका अनुसार माओवादीले रामेछाप मूल घर भएका कुलमानलाई काठमाडौंको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । त्यसरी कुलमानलाई उम्मेदवार बनाइएपछि माओवादीको प्रभाव देशव्यापी पर्ने र निर्वाचनमा पार्टीको ‘विजय’ सुनिश्चित हुने विश्वास माओवादी नेतृत्वले गरेको छ ।

कुलमान घिसिङ विद्यार्थीकालदेखि नै कम्युनिष्ट आन्दोलनसँग जोडिएका व्यक्ति हुन् । वि.सं. २०४० मा नेकपा चौम र त्यसपछि एकताकेन्द्र हुँदै माओवादी बनेका कुलमान घिसिङ सरकारी संयन्त्रमा रहेर प्रचण्डहरूलाई सघाउने सबैभन्दा उच्च तहका कर्मचारी हुन् । यही तथ्यलाई बुझेर केपी ओली नेतृत्वको सरकारले कुलमानलाई विद्युत प्राधिकरणमा दोहोऱ्याएर नियुक्ति नदिने निर्णय लिएको थियो । त्यसरी नियुक्ति नदिइएपछि कुलमानका पक्षमा सडक सङ्घर्षसमेत भएको थियो । आगामी निर्वाचनमा उम्मेदवार बनाएर माओवादीले घिसिङलाई ऊर्जामन्त्री बनाइने भन्दै प्रचार गर्ने तयारी गरिरहेको बुझिएको छ ।

त्यस्तै काठमाडौंको २ नम्बर क्षेत्रबाट चाहिँ माओवादीले पूर्वसभामुख एवम् वर्षमानपत्नी ओनसरी घर्तीलाई उम्मेदवार बनाउने भएको छ । २०६४ सालको निर्वाचनमा माओवादीका झक्कु सुवेदी विजयी बनेको उक्त निर्वाचन क्षेत्रमा यसअघि एमालेको चुनावचिन्हमा माधवकुमार नेपाल विजयी बनेका थिए । आगामी निर्वाचनमा नेपाल रौतहटबाट चुनाव लड्ने भएपछि उक्त क्षेत्र माओवादीले दाबी गरेको र, त्यसमा देउवाले समेत सहमति जनाएको बताइन्छ । काङ्ग्रेसको क्षेत्रिय समितिबाट उक्त क्षेत्रमा दीपक कुईंकेल, माधवी भट्टको नाम सिफारिश भएको छ ।