केन्द्रीकृत राज्य-प्रणाली र विकेन्द्रीकृत शासन-प्रणाली

केन्द्रीकृत राज्य-प्रणाली र विकेन्द्रीकृत शासन-प्रणाली


भर्खरै राज्य पुनर्संरचना आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउन सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय प्रवेश गर्न खोजेका आयोगका प्रतिनिधिलाई प्रवेशमा रोक लगाइयो । रोक लगाउनेहरू अरू कोही नभएर संविधान बनाउने जिम्मा पाएकाहरू नै थिए । त्यहाँ नाराबाजी र जुलुस भयो । आखिर प्रधानमन्त्री र आयोगका पदाधिकारी प्रवेशका लागि सुरक्षा बल प्रयोग गर्नुपर्‍यो । यो किन र कसरी भयो ? यसको लेखाजोखा नगरीकन राज्य पुनर्संरचना गरियो भने विश्व संसारमा अहिलेसम्म हुँदै नभएको ठूलो रणसङ्ग्रामरूपी गृहयुद्ध नेपालमा हुनेछ । कथंकदाचित् त्यस्तो भयो भने यहाँ चम्केको गृहयुद्धले विदेशी मल प्राप्त गर्नेछ अनि गृहयुद्धको वृद्धि भएर नेपालमा सल्केको गृहयुद्धको रापले अमेरिका, चीन, भारतजस्ता देशलाई छुनेछ । त्यसरी छुँदा र यताको धक्का उता गर्दा सायद वर्तमान न्युक्लियर पावरयुक्त विश्वमा अक्सिजनरहित विश्वको परिकल्पना नहोला भन्न सकिन्न ।
पुरानो संरचना बदलेर नयाँ संरचना गरौँ, प्रत्येक जातिलाई छुट्टाछुट्टै जातीय राज्य बनाइदिन्छौँ भनी क्षणिक स्वार्थका लागि भाषण गरे, झुक्याए, ठगे, नेपाली जनतालाई ढाँटे । तर, ती नेपाली जनताले ढाँटेका कुरा एक-एक पत्यार गरे । नेपालमा भएका सयौँ जातिलाई अलगअलग जातीय राज्य दिन सम्भव हुने कुरा भएन । यस्ता छोइपासो र गलापासोबीचमा केही जातिका लागि मात्रै हुनेगरी ६ प्रदेश र १४ प्रदेशरूपी जातीय राज्य पाखा परेका जातिका लागि सैह्य हुने कुरा भएन । त्यसै कारणले शेर्पा जातिले बेलैमा आफ्नो जातीय राज्य माग गर्दै शेर्पा सभासद्ले राज्य पुनर्संरचना आयोगको प्रतिवेदन बुझाउन गएका आयोगका प्रतिनिधिहरूलाई प्रधानमन्त्रीको कार्यालय प्रवेशमा रोक लगाएका हुन् । अरूहरूले जातीय राज्य खोजेपछि उनीहरूले किन नखोजुन् ?
कोही धनी असाध्य कोही गरिब माग्ने अनि कोही ठूलो जाति र कोही सानो जाति देख्न नसकी सम्पूर्ण नेपालीलाई बराबर ठान्ने स्व. राजा महेन्द्रको विचारलाई स्वीकार्न नसक्ने वर्तमानका अगुवाहरूले आदिवासी जनजाति र दलित शब्द खोज्दै नेपाली समाजलाई वर्ग विभाजन गरी टोलटोलका समाजमा भाँडभैलो पार्दै मुलुकलाई गृहयुद्धमा धकेल्न खोजेको यथार्थ दृश्य नेपाली जनताको सामु अब लुकिरहन सकेन ।
सशस्त्र जनयुद्ध लडेको एमाओवादीले सबै नेपाली बराबर हुन्, सबैलाई समान अधिकार चाहिन्छ भनेर सबै नेपालीलाई बराबर अधिकार प्राप्त संविधान निर्माण गर्ने बाटोतर्फ लाग्नुपर्नेमा उल्टो बाटो अर्थात् माओवादको विपरीत सङ्घात्मक र जातीय राज्यको अवधारणा ल्याएर समाजमा अन्योलता फैलाउने काम गर्‍यो भने नेपाली जनताले कसरी विश्वास गर्ने ?
कालोबजारी र महँगीलेसीमा नाघ्दासमेत चासो नराख्ने वर्तमान माओवादी नेतृत्वको सरकारले भर्खरै गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अझ दैनिक उपभोग्य वस्तुको मूल्य चरम सीमामा पुग्ने निश्चित छ । यस्तो सरकारबाट जनताले राहत पाउँछन् भनेर सोच्नु भनेको मुसाको सिंग भेटिन्छ भनेर खोज्नुजस्तै हो । ०६२/६३ को जनआन्दोलनदेखि आजका दिनसम्मलाई नियालेर हेरियो भने नेपालको स्थिति दिन दुगुना र रात चौगुनाको रफ्तारले छिन्नभिन्न र चकनाचुर भएको दृश्य सबैसामु छर्लङ्ग छ ।
यस्तो हुुनुको मुख्य कडी एकात्मक राज्यप्रणाली नरुचाई २४० वर्ष पहिले पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्नुभन्दा पूर्वको बाइसे र चौबेसे जातीय राज्यमा मुलुकलाई विभाजन गर्न खोज्नुबाहेक अरू केही हुन सक्दैन । अनि दोस्रो पक्ष भनेको विदेशीको इसारामा नाच्दै तिनैको नुन खाएर तिनैको विरुद्धमा कम्मर कसेर लाग्नु पनि वर्तमान परिस्थिति सिर्जना हुनुको कम महत्त्वपूर्ण पक्ष होइन । तेस्रो पक्ष व्यक्तिवादी र गुटबन्दीको चरमचुली, सिद्धान्तका कुनै भावना नभएका भीडको बोलवालालाई कम आंकलन गर्न मिल्दैन ।
देश लथालिङ्ग र भताभुङ्ग हुँदा पनि चेत नआउने हो भने कहिले आउने चेत ? प्रचण्ड कहिलेकाहीँ भन्नुहुन्छ- मेरो बाध्यतालाई बुझिदिनुपर्‍यो । प्रचण्डले यो पनि बुझ्नुपर्‍यो कि उनको भन्दा देशको बाध्यता ठूलो हो । यदि प्रचण्डले यो मुलुकलाई सही दिशातर्फ डोर्‍याउन चाहेका हुन् भने ०४७ सालको संविधान पुनर्स्थापना गरेर गोलमेच सम्मेलनमार्फत अन्तरिम सरकारको गठन गरी राजासमेत रहने एकात्मक राज्य-प्रणालीलाई अङ्गीकार गरी सङ्घात्मक होइन विकेन्द्रीकृत शासन-प्रणाली सञ्चालन हुनेगरी हालको ७५ जिल्लामा अहिले ल्याउन लागेको सङ्घात्मक राज्यसँग मेल खाने किसिमले सत्ताधिकार प्रत्यायोजन हुने संविधान निर्माण गरिदिए नेपाल यथास्थितिमा रहला, नत्र भने बाबुराम भट्टराईले भनेझैं मर्ज हुन बेर लाग्दैन ।-लालकृष्ण धमला

म त समाजसेवी पो हुँ
सम्पादकज्यू,
लोकप्रिय राष्ट्रिय साप्ताहिक घटना र विचारमा ०६८ माघ १८ गते बुधबार ‘पाठक मञ्च’ स्तम्भअन्तर्गत ‘पूर्वप्रहरीको घरमा क्यासिनो’ शीर्षकमा प्रकाशित समाचारमा म पूर्वप्रहरी नायव उपरीक्षक मीनप्रसाद पौड्यालको नाम उल्लेख गरी सम्प्रेषित समाचारप्रति मेरो गम्भीर ध्यानाअर्कण भएको छ । समाचारमा उल्लेख भएअनुसारका कुनै काम-कारबाही तथा जुवा खेलाउने कार्य मबाट भएको छैन । अवकाशपछि मैले आफ्नै व्यवसायसँग सम्बन्धित ‘कान्तिपुर सेक्युरिटी सरि्भस प्रा.लि.’ सञ्चालन गर्दै आएको छु भने सामाजिक कार्यमासमेत छु । मजस्तो व्यक्तिलाई चरित्र हत्या गर्ने तरिकाले मेरो प्रगति भएको देख्न नचाहने व्यक्तिहरूबाट झुटो विवरण उपलब्ध गराएकोमा कुनै सन्देह छैन । यस्तो निन्दनीय कार्यको भत्र्सना गर्दै मेराबारे लोकप्रिय राष्ट्रिय साप्ताहिक घटना र विचारमा सम्प्रेषित समाचारको खण्डन गरिदिनुहुन अनुरोध गर्दछु ।-पूर्व प्रनाउ मीनप्रसाद पौड्याल
धुम्वाराही-४ काठमाडौं, (सञ्चालक कान्तिपुर सेक्युरिटी सरि्भस प्रा.लि.)

स्तम्भकारबारे जानकारी चाहियो
लोकप्रिय साप्ताहिक घटना र विचारमा हाल प्रकाशित हुँदै आएको ‘सत्य-सन्दर्भ’ स्तम्भ निकै रोचक र उपयोगी लाग्यो । दैनन्दिनीका अनेक झमेला र भागदौडपूर्ण जिन्दगीबाट थकित र वाक्क बन्न पुगेका मानिसलाई रिफ्रेस हुन र जीवनको रहस्य र महत्त्व बुझ्दै तनावरहित समय गुजार्न यस्ता रसदार कुराले पक्कै सघाउँछ भन्ने मेरो ठहर छ । यस्ता सामग्रीले निरन्तरता पाओस् । तथापि, स्तम्भकारको नाम अध्यात्म जगत्मा खासै सुनिएझैँ लागेन, तर लेखनी हेर्दा उनी कुनै साधु-सन्त वा अध्यात्मपथमा लम्केको उच्च व्यक्तित्व नै हुन् भन्ने लाग्छ । उनका बारे जानकारी पाउन सके आभारी हुन्थेँ ।
-केशव अधिकारी, कीर्तिपुर, काठमाडौं
(स्तम्भकारले ‘सत्य-सन्दर्भ’ स्तम्भमा प्रयोग गर्नुभएको नाम उहाँको वास्तविक होइन । स्तम्भकारको आग्रहअनुसार हालका लागि उहाँको वास्तविक परिचय खुलाउन नसकिएकोमा क्षमा चाहन्छौँ ।-सं.)