चितवनमा ‘नगदको पहाड’सँग प्रतिष्पर्धा गर्नुपर्ने बाध्यता !

चितवनमा ‘नगदको पहाड’सँग प्रतिष्पर्धा गर्नुपर्ने बाध्यता !


शिक्षा क्षेत्रका परिचित ब्यापारी तथा वर्तमान मन्त्रिमण्डलका सदस्य उमेश श्रेष्ठले संसदीय निर्वाचनमा चितवनबाट उम्मेदवार भएरै छोड्ने योजना बनाएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । जानकारीअनुसार चितवनको क्षेत्र नं. २ बाट काङ्ग्रेसको उम्मेदवार बन्न श्रेष्ठले आरजु राणा र शेरबहादुर देउवामाथि दबाब पैदा गरिरहेका छन् । र, उनलाई उक्त क्षेत्रबाट उम्मेदवार बनाउने मानसिकता देउवाले बनाएको निकटवर्तीहरूले जनाएका छन् ।

भोजपुरका उमेश श्रेष्ठले साढे तीन दशकअघि एक सैन्य परिवारले स्थापना गरेको ललितपुरको धोविघाटस्थित लिटिल एन्जेल्स स्कूलमा सामान्य शिक्षकका रूपमा जागिरे जीवन शुरु गरेका थिए । विद्यालयको प्रिन्सिपल रहेकी सैन्य अधिकारीकी पत्नीको विशेष कृपाबाट श्रेष्ठ छोटो समयमा नै उक्त विद्यालयको मालिक बन्न पुगे । तीन दशकअघि रोडपतिबाट अर्बौंको मालिक बन्न पुगेका श्रेष्ठलाई एक दशकअघिसम्म एमालेका मानिसको रूपमा चिनिन्थ्यो । काङ्ग्रेस नेता दीपककुमार उपाध्यायमार्फत ‘डिल’ गरेर समानुपातिक सांसद बन्न सफल श्रेष्ठले नगदकै आडमा देउवापरिवारलाई ‘आफ्नो’ बनाएका छन् । पार्टीका जिम्मेवार नेताहरूको विरोधका बाबजुद आरजु राणाको दबाबमा शेरबहादुर देउवाले मन्त्रिमण्डलमा समावेस गरेका हुन् ।

उमेश श्रेष्ठलाई मन्त्री बनाएको विषयलाई लिएर उपसभापति पूर्णबहादुर खड्का र प्रधानमन्त्री शेरबहादुर देउवाबीच केही कालसम्म मनोमालिन्य भएको थियो । अहिले पनि देउवा दरबारमा उपसभापति खड्काको भन्दा उमेशकै चल्ने बताइन्छ । त्यसैले चितवन–२ बाट उमेशलाई नै टिकट दिइने सम्भावना प्रबल छ । उक्त क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिश गर्दा उमेशले काङ्ग्रेसको क्षेत्रिय समितिका मूख्य नेताहरूलाई प्रभावमा पारी आफ्नो नाम समेत घुसाउन सफल भएका थिए ।

चितवन काङ्ग्रेसका पूर्व सभापति जितनारायण श्रेष्ठको नाम सो क्षेत्रबाट एक नम्बरमा सिफारिश भएको छ भने दोस्रो वरियतामा वर्तमान सभापति राजेश्वर खनालको नाम परेको छ । श्रेष्ठ र खनाल दुवै कोइरालापक्षीय भए पनि खनालको भित्री सम्बन्ध बालकृष्ण खाणसँग मजबूत रहेको बुझिन्छ । देउवा पक्षलाई खाणले सकारात्मक बनाइदिने भएकोले दुवै खेमाको समर्थनप्राप्त उम्मेदवार बन्नेमा खनाल ढुक्क छन् । तर राजेश्वर र जितनारायण भन्दा पनि नगदनारायणको भूमिका निर्णायक रहने हुनाले अन्ततः उक्त क्षेत्रको टिकट उमेश श्रेष्ठले नै हात पार्ने सम्भावना रहेको छ ।

माओवादी नेता जनार्दन शर्मालाई घर उपहार दिएर र जनमैत्री अस्पतालको शेयर खरिद गरिदिएर ‘आफ्नो’ बनाएका उमेश श्रेष्ठ यतिबेला जनार्दन र आरजुबीचको समन्वयकर्ताको भूमिका पनि निर्वाह गरिरहेका छन् । विनाविभागीय मन्त्रीको जिम्मेवारीमा रहेका श्रेष्ठले प्रधानमन्त्री र उनकी पत्नीका निम्ति नगद सङ्ग्रह गरिदिने गरेको भन्ने चर्चा पनि सार्वजनिक रूपमा चल्ने गरेको छ ।

चितवन २ नम्बर क्षेत्रबाट विगतका तीन वटा निर्वाचनमा एमालेले विजय हाशील गरेको थियो । पछिल्ला दुई निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेल विजय बनेका थिए । मङ्सिर ४ गते हुने निर्वाचनमा भने नगदको पहाडसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था छ । त्यसो त यसपटक चितवनमा तीन जना उम्मेदवार ‘नगदको पहाड’ बन्न सक्ने चर्चा छ । उमेशबाहेक प्रचण्ड र विक्रम पाण्डेलाई पनि नगदकै पहाडका रूपमा लिइएको छ ।