प्रधानमन्त्री देउवाज्यूलाई ‘पूर्वशुभेच्छुक’को शुभकामना-पत्र

प्रधानमन्त्री देउवाज्यूलाई ‘पूर्वशुभेच्छुक’को शुभकामना-पत्र


पूर्वजन्ममा तपाईंहरूले धेरैको ऋण खानुभएको रहेछ । ती साहु महाजनहरू यस जन्ममा युरोप अमेरिका जस्ता धनी र शक्तिशाली देशमा जन्मेका रहेछन् आज तिनैलाई पूर्वजन्मको ऋण तिरिरहनु भएको छ । नत्र स्वदेशमा भ्रष्टाचार गरेर कमाएर जनताको रगत पसिना चुसेर रकम जति विदेशी बैंकमा किन पुऱ्याउनुहुन्थ्यो होला र ?
  • आरपी पाठक

प्रिय प्रधानमन्त्री शेरबहादुर देउवा दाजुमा बडादशैँको शुभारम्भमा हार्दिक मंगलमय शुभकामना !

तपाईंका तर्फबाट सार्वजनिक शुभकामना पनि पायौँ । अझै खुशीको कुरा त तपाईंको पुनः प्रधानमन्त्री बन्ने लालसा र कम्युनिस्टहरूसँगको सहकार्य योजनाले सारा कार्यकर्ताहरू, मतदाताहरू लगायत सिङ्गो देशसहित विदेशमा बसेर दिनचर्या चलाइरहेका नेपाली समुदाय पनि रमाएकै होलान् भन्ने आत्माकेन्द्रित भाव तपाईंमा तँछाडमछाड गरेर आइरहेकै होलान् । जे होस् तपाईंबाहेक अरु जनता र सिङ्गो देश रोइरहे पनि तपाईंलगायत तपाईंको परिवार त हाँसिखुशी नै त होला !

हो, यत्तिमै समस्त नेपालीहरूले देशमा प्रजातन्त्र ल्याएको खुशी हुनुपर्ने अवस्थाको मूल प्रतिपादक तपाईं कतिसम्म आात्मकेन्द्रित् सोचलेमग्न हुनुहुन्छ भन्ने कुरा तपाईंकी श्रीमतीले पाँच–पाँच ठाउँबाट प्रत्येक्षमा सिफारिस हुनु र बाँकी समानुपातिक लिष्टमा समेत उनकै नाम आठौँ नम्बरमा दर्ज हुनुले अङ्कित गरिसकेको छ । यता तपाईं देशवासीको नाममा बडादशैँको शुभकामना दिँदै हुनुहुन्छ । तपाईंलाई त सिङ्गो देशको ढुकुटी नै खुल्ला होला । शक्तिशाली हुनुहुन्छ देश विदेश भ्रमण गर्नेहरू लगाए ब्यापारी र तपाईंको चाकडी बजाउनेहरूले जोनीवाकरको ह्वीस्की र ब्राण्डीसमेत सगुन उपहार थुप्र्याइदिइसके होलान् । उता सितन र समारोहको समेत जोहो जमर्काे भइसक्यो होला । तपाईं र तपाईंका पारिवारिक साझेदारहरूको समेत यस्तै ब्यवस्था भइसक्यो होला तर देशका नब्बे प्रतिशत औशत जनताको अवस्थाको बारेमा कहिल्यै सोच्नुभएको छ ? पिंजडाको तोता बनेर वरिपरिको बोहतामा जे–जे राखिदिन्छन् सोही सोही समेटेर पदको अनगिन्ती भोक मेटाउने तपाईंको सौखको अन्त्य नभएसम्म देशको राष्ट्रिय पर्व बडादशैँलाई समेत जनताले दशा ठानिरहनुपर्ने बाध्यता तपाईंजस्तै दिशा र दर्शनहीन राजनितीकर्मीका कारण हुर्किइरहनेछ । तपाईंलगायत तपाईं जस्ता निकम्मा राजनीतिजीवीहरूकै कारण देशमा जतिसुकै ब्यवस्था बदलिएता पनि जनताको अवस्था बदलिन सकेन । तपाईंहरूको जय भयो तर देश र जनताको भने सधैं पराजय मात्रै भयो ।

प्रिय शेरबहादुर दाइ ! तपाईंलगायत तपाईंका सहयात्री सहकर्मी र सहधर्मी नेतागण र तपाईंका आराधना गर्नेहरूलाई त विदेशमा बनेका ठुला अस्पताल र विशेषज्ञहरू नै काफी होलान् तर सर्वसाधारण भुइँ जनतालाई निरंकुश भनिने वीरशम्शेर महाराजले बनाइदिएको अस्पतालको त्यो हालतले गर्दा आज नेपाली जनता रोगको महामारीको कारण घरखेत गुमाउन र प्राण नै गुमाउनसमेत बाध्य भएका छन् । यी त तपाईं जस्तो राजकीय दर्जामा रहेका महामहिमहरूका लागि भेडाबाख्रासरहको मुल्याङ्कन होला । तपाईंलाई जन्माउने माटो, तपाईंको शैसवकाल बितेको र खेलेको धर्ती साथै तपाईंको पहिलो पाइला टेकेको घर-आँगन र गाउँका अवस्था २०५० सालताका लेखक स्वयमले सुदूरपश्चिम भ्रमण जाँदा जे देखेको थिएँ त्यसभन्दा पनि अझै जीर्ण अवस्थामा देख्न पाइयो ।

शेरबहादुर दाइ तपाईंको पाँचपटके सुशासन कालमा किसानले मल बिऊ पाएनन्, गरिबले उपचार पाएनन्, बालबालिकाले सर्वसुलभ शिक्षा पाएनन्, युवाले रोजगार पाएनन्, निमुखाले न्याय पाएनन्, न्यापालिकालाई र ब्यवस्थापिका दुवैलाई हातमा लिनुभयो, न्यायाधीश स्वयम् निमुखा बन्नुप¥यो । सांसदहरू तपाईं र तपाईंका परिवारिक कामदार जस्ता मात्र भए । तपाईंका मन्त्रिमण्डलका मन्त्रीहरू हलीगोठाला भन्दामाथि हुन सकेनन् । उनीहरूलाई समेत निर्णयको बन्दी बनाउनुभयो । एउटै पार्टीका र विचार मिल्नेलाई समेत मोलतोल गरेर आाउने र भित्रिनेलाई भन्दा तल राख्नुभयो । टाउकाको मोल तोक्ने तपाईं र मोल तोकिने माओवादीहरू आज एउटै भान्छामा पकाएर ज्यूनार गर्दै हुनुहुन्छ । तपाईंका लागि ढोके, चौके, बैठके, हुक्केबाहेक अरुलाई स्थान दिनु भनेको मृत्यु स्विकार्नुसरह हो । बरु असर्फी चढाएर माथा टेक्ने विधि तय गरेर लोकतन्त्रलाई अरु धज्जि उडाउनुहोस् । आज तपाईंको शासनकालमा शिक्षा, स्वास्थ्य र रोजगार सबैभन्दा दुर्लभ र महँगो सावित भएको छ । यिनका माफियाहरूसँग तपाईंको र तपाईंको परिवारको निकट र ब्यापारीक सम्बन्ध छ ।

ओठ निचोर्दा दुध आउने छोराको कारोबार रहेको कम्पनीको नाफाका लागि राज्यको ढुकुटी दोहन गरेर नीतिगत भ्रष्टाचार गर्ने गराउने तपाईं जस्तालाई यो देशले लोकतान्त्रिक प्रधानमन्त्री भन्न बाध्य हुनपर्ने यो कस्तो विडम्बना हो ? तपाईं हिजोको आजको आर्थिक हैसियत तुलना गर्ने हो भने भ्रष्टाचारलाई समेत कति लज्जा महसूस हुँदो हो ? विश्वविजेता सिकन्दरले समेत चिहानमा दुवै हात बाहिर देखाए आफ्नो अन्त्येष्टि गर भारदारहरूलाई सुझाएका थिए । तर तपाईंचाहिँ त्यस्तो कदापि नगर्नुहोला । कमाएको सारा सम्पत्ति र त्यो तपाईंको ससुरालीबाट दाइजो आएको प्रधानमन्त्री पदसमेत मृत्युपर्यन्त साथै लिएर जानुहोला । किन कि त्यो पद र सम्पत्ति तपाईको प्राणको हङ्स टाँसिएर बसेको हुन सक्छ । बरु हामी तपाईंहरू जस्ताका कारण गरिब र निमुखा हुन परेका नेपालीहरूले नयाँ संरचनाबाट कमाएर खाउँला । बरु हामीलाई प्रधानमन्त्री पद नभए पनि केही फरक पर्दैन । तर यो सुझाव मानेर यी दुई चिज तपाईंले नै लिएर जानुभयो भने तपाईंको आत्माले ती दुःखी नेपालीहरूलाई थप दुःख दिइरहने छैन ।

पूर्वजन्ममा तपाईंहरूले धेरैको ऋण खानुभएको रहेछ । ती साहु महाजनहरू यस जन्ममा युरोप अमेरिका जस्ता धनी र शक्तिशाली देशमा जन्मेका रहेछन् आज तिनैलाई पूर्वजन्मको ऋण तिरिरहनु भएको छ । नत्र स्वदेशमा भ्रष्टाचार गरेर कमाएर जनताको रगत पसिना चुसेर रकम जति विदेशी बैंकमा किन पुऱ्याउनुहुन्थ्यो होला र ? आउने जन्ममा पनि तपाईंहरूले नेपाल र नेपालीलाई शोषण र राज्य दोहन गरेबापत यसरी नै बुझाउनुपर्ने हुन्छ । तपाईंहरूले कहिल्यै मोक्ष पाउनुहुने छैन । बरु पशुपञ्छी भएर मासु दूध दिएर भए पनि ऋण चुकाउनुपर्नेछ ।

दुःखी र पीडित जनताको आँशुले तपाईंहरूलाई पिरोल्नु पिरोल्ने छ । स्वर्णअक्षरले नाम लेखाउन सक्ने अवसर जनताले दिँदादिँदै आफ्नै कारण कालो अक्षरले लेखाउन मञ्जुर हुनुभयो । तपाईंहरूको नर्क भरिएको दुर्वुद्धिले सिङ्गो देश र जनताले कैयौं पुस्ता दुःख पाएको छ । आज देशको अस्थित्व र अस्मिता बिक्री गर्नेमा समेत आफ्नै नाम दर्ज गर्न सफल हुनुभयो । यस्तो विषयलाई लिएर तीन करोड जनता कसरी तपाईंहरू जस्तालाई बधाई तथा शुभकामना दिन सक्लान् ? बरु त्यस्ता नरपशुहरूको शुभकामना अस्वकार गरेकै बेश भन्नेमा आमजनताको मतैक्यता छ भन्दा फरक परोइन ।

हवस् त… अहिलेलाई यत्ति मात्र !

उही तपाईंको पूर्वशुभेच्छुक आरपी पाठक