पाँच तारा साकोसले आफ्ना सदस्यलाई १८ प्रतिशत लाभांश दिने

पाँच तारा साकोसले आफ्ना सदस्यलाई १८ प्रतिशत लाभांश दिने


पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका ज्येष्ठ सदस्य लक्ष्मणप्रसाद आचार्यले औपचारिक उद्घाटन गरेको सभाको संस्थाका अध्यक्ष भोला नाथ पाठकले अध्यक्षता गरेका थिए ।

सहकारी विभागले जारी गरेको साधारणसभासम्बन्धी मार्गनिर्देशन अन्य निर्देशनहरूको पालना गर्दै सदस्यहरूको उपस्थितिका बीच सभा गरेको पाँच ताराले जनाएको छ । संस्थाले विगतका वर्षहरूमा जस्तो उद्घाटन सत्रमा अतिथि बोलाएर औपचारिक कार्यक्रम नगरी सोझै संस्थाका वार्षिक, आर्थिक तथा लेखापरीक्षण प्रतिवेदनहरूमाथि छलफल गरी अनुमोदन गरेको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पाठकले गत आर्थिक वर्षमा राजनीतिक खिचातानीसँगै आर्थिक मन्दी, तरलता अभाव र मुलुकले विविध समस्या झेल्नु परेको बताए । सहकारी सबै क्षेत्र र वर्गलाई समेटेर उत्पादन, बचत तथा लगानीका लागि प्रोत्साहन गर्ने संस्था भएकाले सहकारीमा सदस्य बन्न पाउनु गर्वको विषय भएको उनले जनाए । संस्थाको ऋण लगानी तथा असुलीलाई प्रभावकारी बनाउन कानुन र व्यवहारिक सबै प्रक्रिया अवलम्बन गर्ने, तरलता व्यवस्थापन गर्न ब्याजदर हेरफेर र निर्धारण गर्ने, सीइओ नियुक्तिको प्रक्रिया अगाडि बढाउने, नियामक निकायले अनुगमनपछि दिएका सुझावहरूलाई कार्यान्वय गर्न संस्थाले तदारुकता दिने उनले जनाए ।

त्यसैगरी संस्थाले हाल साधारण, पाँचतारा, सदस्यसुविधा, ज्येष्ठ नागरिक, बालबचत, खुत्रुके, चाडबाड, नारी जस्ता विभिन्न बचत खाता सञ्चालनमा ल्याएकाले सदस्यहरूले आफूलाई अनुकूल हुने बचत खातामा सहभागी भइ नियमित रूपमा मासिक बचत गर्न उनको आग्रह छ । संस्थाले चालु आर्थिक वर्षबाट समृद्धि बचत खाता सञ्चालनमा ल्याउने र सदस्यको सुविधा र मागअनुसार बचत खाताहरू सञ्चालनमा ल्याउने उनले सभालाई जानकारी दिए ।

पाँच ताराले गत वर्ष २०३ नयाँ सदस्य सदस्य वृद्धि गर्न सफल भएको सो सभामा बताइयो । चालु आ.व.मा संस्थाहरूबीच एकिकरण गर्ने, सेवाकेन्द्र विस्तार गर्ने, पाँचतारा बचत खातामा सहभागी सदस्यहरूको लागि पेन्सन स्किमको कार्यविधि पारित गर्ने जस्ता लक्ष्य लिएको उनले जनाए ।

सभाले संस्थाका कोषाध्यक्ष श्रीकुमार विमलीद्वारा प्रस्तुत आ.व. ०७८/७९ को आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक सुशील प्रसाईंले प्रस्तुत गरेको प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको सेयर पुँजी ७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा सेयर पुँजी ८ करोड १२ लाख ५६ हजार पुर्याउने लक्ष्य संस्थाले लिएको छ । त्यस्तै संस्थाको साधारण जगेडा कोषमा ५ करोड ५० लाख ४४ हजार रुपैयाँ रहेको छ भने अन्य कोषमा ४ करोड ५२ लाख ८४ हजार रहेको छ । त्यस्तै, संस्थागत विकास कोषमा १ करोड ८ लाख ४६ हजार रुपैयाँ रहेको छ । संस्थाले यस गत आ.व.मा ५७ करोड ४१ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७३ करोड ९० लाख ६९ हजार कर्जा लगानी गर्न सफल भएको छ । संस्थाले २ करोड २४ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । सदस्यलाई १० प्रतिशत नगद लाभांश र ८ प्रतिशत संरक्षित पुँजी फिर्ता कोषबाट दामासाहीले रकम दिने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

सभामा ७० वर्षमाथिका ३५ जना ज्येष्ठ सदस्यलाई प्रतिव्यक्ति २,००० का दरले दशैँभत्ता प्रदान गरिएको थियो । समुदायमा आधारित भएर सदस्यकेन्द्रित कारोबार गर्दै आएको पाँच ताराले विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ भने सदस्यहरूलाई प्रविधिमैत्री सेवा प्रदान गर्न मोबाइल बैंकिङ र एटिएम मेशिनको व्यवस्था गरेको छ । सभामा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको व्यवस्थापक राधा कडरियाले जानकारी दिइन् । संस्थाले यस वर्षबाट सदस्य राहत कार्यक्रम समेत शुरुवात गर्ने भएको छ ।